लुम्बिनी प्रदेशमा पार्टी विभाजनको असर न्यून (कुन प्रदेशका कति सूचिसहित)

काठमाडौं, २३ भदौ । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीको उपस्थिति प्रदेश २ सँगै कर्णाली र सुदूरपश्चिम प्रदेशमा बलियो देखिएको छ ।

माधवकुमार नेपाल नेतृत्वको नयाँ दलको उपस्थिति प्रदेश १ र बाग्मतीमा ठीकै देखिएको छ । तर गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश जनप्रतिनिधि मूल पार्टीमै बसेका छन् ।

एमाले विभाजित भएर एकीकृत समाजवादी बनेपछि निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन अनुसार नयाँ दल रोज्न प्रदेश र स्थानीय जनप्रतिनिधिलाई २२ भदौ (मंगलबार) साँझ ५ बजेसम्मको समय दिएको थियो ।

प्राप्त विवरणअनुसार ५४ प्रदेशसभा सदस्यले नयाँ दल रोजेका छन् । सुदूरपश्चिममा प्रदेशसभाकै ठूलो दल एकीकृत समाजवादी बनेको छ भने प्रदेश २ मा एमालेभन्दा नयाँ दल ठूलो बनेको छ ।गण्डकी प्रदेशसभामा एकीकृत समाजवादीका सांसद संख्या शून्य भएको छ । अन्य प्रदेशमा भने यो दलको उपस्थिति हुने भएको छ ।

लुम्बिनी प्रदेशमा एमालेलाई विभाजनको असर न्यून देखिएको छ । प्रदेशका केन्द्रीय नेताहरु मूल पार्टीमै रहेकाले लुम्बिनीमा न्यून संख्यामा मात्र जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

लुम्बिनी प्रदेशमा एमाले अध्यक्ष केपी ओलीका निकट प्रभावशाली नेताहरू रुपन्देहीका विष्णु पौडेल, दाङका शंकर पोखरेल, गुल्मीका प्रदीप ज्ञवाली र पाल्पाका दलबहादुर राना हुन् । माधव नेपाल समूहमा रहेका रुपन्देहीका घनश्याम भुसाल, दाङका युवराज ज्ञवाली, गुल्मीका गोकर्ण विष्टलगायतका नेताहरु पनि एमालेमै छन् ।

यही कारण जनप्रतिनिधिहरु पनि एमालेमै रहे । लुम्बिनी प्रदेशसभामा एमालेका ३७ सांसद थिए, जसमध्ये पाल्पाकी समानुपातिक सांसद रमा घर्तीले मात्रै एकीकृत समाजवादी रोजेकी छन् ।

निर्वाचन कार्यालय रुपन्देहीका अनुसार उपप्रमुखसहित ७ जनाले एकीकृत समाजवादी रोजेका छन् । एकीकृत समाजवादी रोज्नेमा सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्ले, बुटवल उपमहानगरपालिका वडा नं २, ३ र ८ तथा तिलोत्तमा नगरपालिका वडा नं ११ र देवदह ७ का वडा सदस्य रहेका छन् ।

दाङका गढवा गाउँपालिकाकी उपाध्यक्ष शान्ति चौधरीसहित २१ जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टी रोजेका छन् । उपाध्यक्ष चौधरी दाङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीकी दिदी हुन् ।

प्रदेश निर्वाचन कार्यालय दाङका निर्वाचन अधिकारी निमराज भट्टराईका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं। १६ का अध्यक्ष भुपबहादुर केसी, घोराही ४ का वडाध्यक्ष भीमबहादुर सार्कीलगायतले पनि एमाले छाडेर एकीकृत समाजवादी रोजेका छन् ।

बाँकेमा उपमेयरसहित ११ जनाले एकीकृत समाजवादी रोजेको जिल्ला निर्वाचन कार्यालय प्रमुख खुमप्रसाद सुवेदीले जानकारी दिए ।

प्यूठानमा प्यूठान नगरपालिकाकी उपप्रमुख शान्ता आचार्यसहित ७ जनाले नयाँ पार्टी रोजेका छन् ।

अर्घाखाँचीमा पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमसहित ४ जनाले नेकपा एकीकृत समाजवादी रोजेका छन् भने बर्दियामा ६ जना, रुकुम पूर्वमा वडाध्यक्षसहित ५ जना, कपिलवस्तुमा वडाध्यक्षसहित २ जना, पाल्पामा रम्भा गाउँपालिका ६ का एकजना वडा सदस्यले मात्र नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् । संघीय सांसद सोमप्रसाद पाण्डे र प्रदेश सांसद रमा घर्ती नेकपा एकीकृत समाजवादीमा खुलेपनि स्थानीय तहका जनप्रतिनिधिहरु एमालेमै बसेका छन् ।

रोल्पामा ५ जना वडा सदस्य, नवलपरासी पश्चिममा एकजना वडा सदस्यले एकीकृत मसाजवादी रोज्दा गुल्मी कोही पनि एमाले छाडेर नयाँ पार्टीमा गएका छैनन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति