सांस्कृतिक पर्वहरुले नेपालीबीचको एकतालाई बलियो बनाउने काम गरेको छ: अष्टलक्ष्मी शाक्य

(नेपालीहरुको महान् पर्व दशैं विदा भएको छ । तर अन्य प्रमुख चाडपर्वहरु सँघारमै छन् । कोरोना महामारीका कारण अधिकांश नेपालीले दशैं प्रतीकात्मक र घरपरिवारभित्रै सिमित भएर मनाए । यस बर्षका अन्य चाडपर्वहरुमा पनि यही शैली अपनाउनु उचित हुनेछ । यद्यपि यस्ता चाडपर्वहरुले नेपालका विभिन्न जात जातीहरुबीच एकता र सद्भावलाई बलियो बनाउने बनाउने काम गरेको छ । यसैकारणले पनि अप्ठ्यारो बेलामा पनि यस्ता चाडपर्वहरुलाई निरन्तरता दिनुपर्नेमा सबैको एकमत छ । नेपाल पेजले हाम्रो धर्म/संस्कृति केन्द्रित रहेर यसबारेमा श्रृङ्खलावद्ध वहस गरेको छ । यो वहसको तेस्रो श्रृङ्खलामा प्रस्तुत छ, नेकपा नेतृ अष्टलक्ष्मी शाक्यसँग सपना थामी र ध्रब अधिकारीले गरेको संवादको मूल अंश)

हाम्रो देश नेपाल विविधताले भरिएको देश । जातिय विविधतायुक्त भएको देश, सांस्कृतिक विविधता रहेको देश, सबै हिसाबले विविधतायुक्त देश भएकाले पनि हाम्रो परिचय संसारभरी हामीलाई ठूलो, फराकिलो परिचय दिइरहेको छ । यो अत्यन्तै महत्वपूर्ण कुरा हो कि अन्य देशमा यस्ताखाले विविधता पाइँदैन । यो हाम्रो सौभाग्य र गर्वको पनि कुरा हो । दोस्रो कुरा, जति पनि जातीय, सांस्कृतिक विविधता छन्, त्यो विविधताभित्र एकता छ । यसकारण जस्तै, तिहारमा नेवारहरुले म्हः पूजा गरिरहँदाखेरी अरुले पनि त्यसलाई स्वीकारिरहेको अवस्था छ । दशैंमा टिका लगाइरहँदा तामाङहरु लगायत अन्य समुदायहरुले पनि स्वीकार गरिरहेकै छन् । पछिल्लो समय छठ पनि के हिमाल, के पहाड, के तराई, सबै ठाउँमा मनाउन शुरु गरिएको छ ।

हाम्रो संस्कृति, परम्परा र आस्था हाम्रो साझा नेपालीहरुको साझा संस्कृति र परम्पराबाट विकास हुँदैआएको छ र हामीले गर्दै आएका छौं भन्ने मलाई लाग्छ । हामीले कुनै पनि पर्वहरु अलग–अलग्गै मनाइरहेका छैनौं । सबै जाति, भाषा, धर्म, संस्कृति एक ठाउँमा हुनेगरी घुलमिल हुँदै पनि गएको छ । एकले अर्काबाट हामीले सिक्दै पनि प्रेरित हुँदै पनि गएका छौं । यसैले हामीले एक्ला–एक्लै हाम्रो संस्कृति, परिचय, हाम्रा संस्कारहरु कुनै एउटा जातिको मात्रै विशेषता हुन सक्दैन । यो हाम्रो सांस्कृतिक, सामाजिक बनोट जुन छ, यी सबैका साझा बन्दै र स्थापित हुँदैजान्छन् भन्ने मलाई लाग्छ । यसले हाम्रो राष्ट्रियताको भावनाको पनि विकास गर्छ ।

अष्टलक्ष्मी शाक्य, नेकपा नेतृ

तिहारमा नेवारहरुले म्हः पूजा गरिरहँदाखेरी अरुले पनि त्यसलाई स्वीकारिरहेको अवस्था छ । दशैंमा टिका लगाइरहँदा तामाङहरु लगायत अन्य समुदायहरुले पनि स्वीकार गरिरहेकै छन् । पछिल्लो समय छठ पनि के हिमाल, के पहाड, के तराई, सबै ठाउँमा मनाउन शुरु गरिएको छ ।

अर्को, सिंगो नेपालीको भावनाको एकताको विकास गर्छ र यसले हाम्रो संस्कार र परम्पराहरु संकुचित होइन, बृहत् र फराकिलो बनाउँदै लैजान्छ । सबैले सबैलाई आदर गर्ने, माया गर्ने, सम्मान गर्ने, स्वीकार गर्ने, आत्मीयता बढाउने, एकले अर्कालाई सहयोग गर्ने यस्तो खालको भावनाबाट अगाडि बढ्छ भन्ने लाग्छ । यसैले सांस्कृतिक पर्वले सामाजिक मूल्य, मान्यतालाई पनि स्थापित गर्छ । सु–संस्कृत समाज निर्माण गर्नको निमित्त पनि सांस्कृतिक पर्वहरुले मद्दत गर्छ भन्नेमा मेरो पूर्ण विश्वास छ ।

सु-संस्कृत समाज निर्माणका लागि सांस्कृतिक पर्वहरु
हामीले संविधान जारी गरिहँदाखेरी त्यहाँभित्र एउटा प्रावधान छ, त्यो संस्कृतिलाई हामीले कायम गर्नुपर्छ, स्थापित गर्नुपर्छ, परम्परा र संस्कारलाई जीवित राख्नुपर्छ । संस्कृतिभित्र विभेद हुनुहुन्न, परम्परा र संस्कारहरु विभेदकारी हुनुहुँदैन ।

धनी र गरीबबीचमा विभेदकारी हुनुहुँदैन भन्ने खालको प्रावधान भएको हुनाले अबदेखि हामीले के सुरुवात गर्नुपर्छ भने यदि हाम्रा कुनै परम्पराहरुमा, हाम्रो धर्ममा, संस्कृतिमा, हाम्रो संस्कारभित्र कुनै पनि खालको विभेद छ भन्ने खालको लाग्छ भने त्यसलाई सुधार गरेर जानुपर्छ, जान सकिन्छ । त्यो संविधानले पनि दिएको कानुनी मान्यता पनि हो भन्ने पनि मलाई लाग्छ ।

त्यसैले हामीले संस्कृतिलाई जोगाइरहँदा, परम्पराहरु स्थापित गर्दैगर्दा, संस्कारहरुको विकास गरिरहँदा सु–संस्कृत समाज र मूल्य–मान्यतासहितको समाज निर्माण स्थापना गरिरहदाखेरी हामीले विभेदकारी संस्कृति हटाउनुपर्छ । विभेदकारी सम्पूर्ण संस्कारहरुलाई क्रमशः हटाउदै लानुपर्छ । समानतायुक्त सु–संस्कृत समाज, समानतायुक्त संस्कृति, समानतायुक्त परम्परालाई स्थापित गर्दै जानसक्नुपर्दछ भन्ने मलाई लाग्छ ।

यसमा हामीले नै परिवर्तन गर्ने हो । हामी यो देशका नागरिक भएको हुनाले सार्वभौम नेपाली नागरिक भएको हुनाले हाम्रो समाज कस्तो बनाउने ? हाम्रो परम्परा कस्तो बनाउने ? अझ यसलाइ थप बलियो बनाउन सक्छौं, अझै एकताबद्ध ढंगले स्थापित गर्न सक्छौं भन्ने कुराहरु चाही हामीले नै यसलाई स्थापित गरेर, स्वीकार गरेर यसलाई फराकिलो बनाउदै जान सक्छौं भन्ने मलाई लाग्छ ।

विभेदकारी सम्पूर्ण संस्कारहरुलाई क्रमशः हटाउदै लानुपर्छ । समानतायुक्त सु–संस्कृत समाज, समानतायुक्त संस्कृति, समानतायुक्त परम्परालाई स्थापित गर्दै जानसक्नुपर्दछ भन्ने मलाई लाग्छ । यसमा हामीले नै परिवर्तन गर्ने हो ।

अष्टलक्ष्मी शाक्य, नेकपा नेतृ

हामीकहाँ पार्टी विशेषमा, व्यक्ति विशेषका फरक–फरक राजनीतिक आस्था, विचार छ । म नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीको सदस्य । कम्युनिष्ट पार्टीमा लागेको दशकौं बितिसक्यो । आजको परिवेशमा एउटा कम्युनिष्ट पार्टीले भौतिकवादी दृष्टिकोण पो बोक्छ त, परम्परागत, अन्धविश्वासी खालको किन बोक्नुप¥यो ? भन्ने कुराहरु पनि विभिन्न कोणहरुबाट आउने गरेका छन् । तर मलाई के लाग्छ भने, सिद्धान्त फरक कुरा हो । हामी पार्टीमा लागेका हौं, बहुदलीय व्यवस्थामा पार्टीहरु हुन्छन् ।

पार्टीहरुबीचमा आ–आफ्नो मूल्य, विधि र पद्धति हुन्छ त्यहीअनुरुप हामी सबै लागिरहेका छौं तर यो समाजको संस्कार र संस्कृति हो, हामी सामाजिक प्राणी हौं । मैले अघि पनि भनें, नेपाललाई नेपालको परिचय दिइरहँदा हाम्रो विभिन्न जातिको संस्कृतिक विविधता छ ।

यसले जुन परिचय दिइरहेको छ, नेपाललाई एकीकृत गरिरहने, नेपालीहरुको भावनालाई जोडिरहँदा हाम्रो संस्कृति, परम्परा र संस्कारहरुले नै यसलाई बल पुर्याएको छ । त्यसो भएको हुनाले हामीले हाम्रो परम्परा र संस्कारहरुलाई जीवित राख्नसक्नुपर्छ । यसले हाम्रो मानवीय भावनाको पनि विकास गर्छ, नैतिक धरातल पनि बलियो हुन्छ, समुन्नत समाजको निर्माण गर्छ । नेपाली समाजको एउटा छुट्टै परिचय र पहिचानलाई फराकिलो बनाउँछ ।

धर्म, संस्कृति मनाउनै हुँदैन, संस्कारहरु मान्नै हुँदैन, हामीले यस्तो किन मनाउने भन्ने खालको चाहिं गर्न हुुन्न । यो हाम्रो समाजलाई हेर्ने ऐना पनि हो । संस्कृति भनेको, परम्पराहरु भनेको एकअर्काको संस्कारहरुलाई सम्मान गर्दै, स्वीकार गर्दै, हार्दिकता कायम गर्दै, एकअर्कामा सहयोग गर्दै अघि बढ्न जरुरी छ । यो एउटा नेपालको, नेपालीको राष्ट्रिय परिचय मात्रै होइन ।

सामाजिक, सांस्कृतिक परिचय हामी भन्छौँ नि, सबै हिसाबले नेपालको संस्कृति उन्नत छ, प्रगतिशील छ, अत्यन्तै सद्भावशाली छ, सु–संस्कृत छ भन्ने देखाउनकै लागि भएपनि हामीसँग रहेका ऐतिहासिक, धार्मिक तमाम कुराहरुलाई समयानुकूल परिमार्जन गर्दै लानुपर्छ । समाजमा बसिसकेपछि समाजमा हुने क्रियाकलापलाई नकार्न सकिँदैन भन्छु म ।

अष्टलक्ष्मी शाक्य, नेकपा नेतृ

दशैं चाही हिन्दुहरुको मात्रै, तिहार चाही विशेष गरेर नेवारहरुको मात्रै भन्ने जुन चलन छ यो विल्कूलै होईन । अहिलेसम्म हामी आइपुग्दा दशैं होस्, तिहार होस्, नेपाल संवत् होस् एकले अर्कालाई स्वीकार गर्दै, सम्मान गर्दै सांस्कृतिक हिसाबले, धार्मिक हिसाबले सम्मान गर्दै मिलेर नै यस्ता पर्वहरु मनाउँदै आएका छौं, रमाइलो गर्दै आएका छौं यसलाई स्थापित गर्दै आएका छौं ।

अप्ठ्यारो स्थितिमा पनि धार्मिक र ऐतिहासिक पर्वलाई निरन्तरता दियौं
यो वर्ष कोरोना महामारीका कारण विगतमा जस्तो व्यापक रुपमा दशैं मनाउन सकिएन । तर आफ्नो परम्परा हो, संस्कृति हो, यसलाई कायम राख्नुपर्छ भनेर यस्तो अप्ठ्यारो स्थितिमा पनि हामीले धार्मिक र ऐतिहासिक पर्वलाई निरन्तरता दिन सक्यौं भन्ने लाग्छ ।

यो हामी सबेको लागि खुसीको कुरा हो । दशैं, तिहारको धार्मिक रुपमा आफ्नै खालको विशेष महत्व छ, यसलाई अहिले म थप व्याख्या गर्न चाहन्न तर, हामी सामाजिक हिसाबले सांस्कृतिक हिसाबले नेपालको लागि धेरै महत्वपूर्ण छ । दशैं तिहारले विश्वमा पनि नेपालीहरुको छुट्टै पहिचान भएको हुनाले पनि सबै ठाउँमा यसको चर्चा पनि हुने गर्दछ र यसको परिचय र पहिचान पनि स्थापित हुदै आएको छ । हामीले दशैं, तिहार जस्ता चाडपर्वहरुले हाम्रो सद्भाव बढाउँछ ।

दशैं चाही हिन्दुहरुको मात्रै, तिहार चाही विशेष गरेर नेवारहरुको मात्रै भन्ने जुन चलन छ यो विल्कूलै होईन । अहिलेसम्म हामी आइपुग्दा दशैं होस्, तिहार होस्, नेपाल संवत् होस् एकले अर्कालाई स्वीकार गर्दै, सम्मान गर्दै सांस्कृतिक हिसाबले, धार्मिक हिसाबले सम्मान गर्दै मिलेर नै यस्ता पर्वहरु मनाउँदै आएका छौं, रमाइलो गर्दै आएका छौं यसलाई स्थापित गर्दै आएका छौं । यसले हाम्रो एकता, सद्भावलाई बलियो बनाउने बनाउने काम गरेको छ ।

हामीहरुबीचको वर्षदिनभरी भएको मनमुटावहरु पनि टिका लगाइदिएर, तिहारको बेला भाईटिका लगाइदिएर अनेकौं हिसाबले पनि खुसी हुने र सुखी रहने यस्ता कामहरु हामी गरिरहेका छौं । हाम्रा सांस्कृतिक पर्वहरुले हाम्रो नेपालीहरुको एकतालाई बलियो बनाउने काम गरेको छ, सद्भावको विकास गर्ने काम गरेको छ र हामीले हाम्रो संस्कारहरु, परम्पराहरु, संस्कृतिहरुलाई जोगाउदै नेपाल र नेपालीको परिचय दिदै अगाडी बढिरहेका छौं भन्ने मलाई लाग्छ । त्यसैले यसको सांस्कृतिक हिसाबले, सामाजिक हिसाबले अत्यन्तै महत्वपूर्ण छ भन्ने मैले महसुस गरेको छु ।

यो पनि पढ्नुहोस्…

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board