उपत्यकामा निषेधाज्ञाः ‘गृहले अनुमोदन गरेपछि हामी निर्णय गर्छौं’

काठमाडौं, १६ भदौ । कोरोना संक्रमितको संख्या अत्यधिक बढेपछि काठमाडौं उपत्यकामा भदौ ४ गतेदेखि निषेधाज्ञा जारी छ। काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको विषयमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले साझा धारणा तयार पारेका छन्।

हालकै मोडलमा लैजाने वा परिवर्तन गर्ने विषयमा मंगलबार १२ बजेदेखि तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी भर्चुअल छलफलमा थिए । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए अनुसार स्थानीय निकाय, उद्योग वाणिज्य संघ, स्वास्थ्य क्षेत्रलगायत सबै सरोकारवालासँगको परामर्शपछि आफूहरूले साझा धारणा तयार गरेको बताए ।

उनले दुई विकल्पमा छलफल भएको बताए । पहिलो, हालकै निषेधाज्ञाको स्वरूपलाई जस्ताको तस्तै अघि बढाउने। दोस्रो, निषेधाज्ञाको स्वरूपलाई परिवर्तन गर्ने भन्ने बारे छलफल भएको हो ।

दुवै विकल्पमा धारणा बनेको अब गृह मन्त्रालयमा यो धारणा भोलि लैजाने तयारी भएको बताए । गृहले अनुमोदन गरेपछि निषेधाज्ञाबारे तीन जिल्लाकै प्रमुख जिल्ला अधिकारी बसेर निर्णय लिनेछन् । अहिले परिस्थितिअनुसारको विकल्पको उपयुक्तता हेरेर गृहले अनुमोदन गरेपछि तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले निर्णय गर्नेछन् ।

निषेधाज्ञाको स्वरुपबारे छलफल, साझा धारणा बनाउने प्रयास
विभिन्न क्षेत्रका प्रतिनिधिको सुझावका आधारमा तीनै जिल्लाका प्रशासन कार्यालयले निषेधाज्ञाको स्वरुपबारे साझा धारणा बनाउने र उक्त विषयमा बुधबार गृहमन्त्रालयसँग छलफल गरी परामर्शका आधारमा आवश्यक निर्णय लिइनेछ । प्रशासन कार्यालयका अनुसार कतिपय विज्ञबाट केही खुकुलो बनाउनुपर्छ भन्ने सुझाव आएको र कतिपयबाट अझै कडाइ गर्नुपर्ने सुझाव प्राप्त भएको छ । केही संस्थाले भने मध्यमार्गी निर्णय जरुरी रहेको सुझाव दिएको छ ।

उपत्यका नगरपालिका फोरमले भने अझै कडा गर्नुपर्ने आवश्यकता औँल्याउँदै सुझाव पठाएको छ । फोरममा उपत्यकाका १८ वटै पालिकाका प्रमुख र उपप्रमुख आबद्ध छन् । फोरमका सचिव मदनसुन्दर श्रेष्ठले भने, “अहिलेसम्मको नतिजा हेर्दा सङ्क्रमण बढ्दै गएको देखिन्छ, त्यसैले हामीले अर्को एक हप्ता थप कडाइ गर्न सुझाव दिएका छौँ ।” उनका अनुसार सर्वसाधारणले निषेधाज्ञाको पूर्ण पालना गरिरहेका छैनन् । त्यसैले नियन्त्रण हुन सकेको छैन ।

निषेधाज्ञाको समयमा जानाजान घुमफिरमा निस्कने जमात बढिरहेको छ । तरकारी तथा फलफूल बजारमा सामाजिक दूरी कायम हुन सकिरहेको छैन । प्रहरीले समेत प्रभावकारी भूमिका निर्वाह गर्न सकिरहेको छैन । आफैँ सङ्क्रमित भएकाले न्यून सङ्ख्याका प्रहरीले सुरक्षा दिइरहनुपरेको छ । जबर्जस्ती गाडी चलाउने क्रम रोकिएको छैन । दुई हप्ताको अन्तरालमा उपत्यकाका यसरी आदेश उल्लङ्घन गर्ने झण्डै १० हजार गाडी कारवाहीमा परिसकेको छ ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले निषेधाज्ञा पूर्ण पालना गर्ने हो भने योभन्दा उपयुक्त कदम केही पनि होइन भने । उनले मानिसले स्वास्थ्य मापदण्ड पालना नगरे जस्तोसुकै कडा गरे पनि केही नहुने बताए ।

काठमाडौँ उपत्यकामा दैनिक १०० देखि ५०० सम्म कोभिड–१९ का बिरामी भेटिँदै आएको छ । साउनपछि भने द्रुत गतिमा सङ्क्रमण फैलिएको छ । दैनिक मृत्युदरसमेत बढ्दो छ । यस्तो अवस्थामा अहिले नै निशेषाज्ञा प्रभावकारी नभएको भनेर विश्लेषण गर्नु हतार हुने विज्ञको भनाइ छ । चौध दिन पछि मात्रै एउटा तथ्याङ्क आउने भएकाले अबको हप्ता भने त्यसका लागि महत्वपूर्ण हुनेछ ।

“अहिलेसम्म पुरानै सङ्क्रमणको असर देखिँदै, अब बल्ल नयाँ बिरामी फेला पर्ने हुन्, अबका दिनमा घट्छ भन्ने आशा छ”, महर्जनले रासससँग भने, बल्ल अब नतिजा कस्तो आउँछ हेर्नुपर्छ ।” उनले स्वास्थ्य मापदण्ड प्रयोग गर्ने र नाका नियन्त्रण गरे निषेधाज्ञा खुकुलो गर्दा पनि हुने नत्र कडा गर्नुको विकल्प नभएको बताए ।

गृहमन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेका अनुसार अहिले मुलुकका ४३ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । सत्चालिस मध्ये केही हिमाली जिल्लामा सुधार आएकाले निषेधाज्ञा हटाइएको लामिछानेले बताए । गृहको अनुगमनमा आदेशको कार्यान्वयन सन्तोषजनक नै छ । आदेश जारी नगरिएको भए अवस्था भयावह हुनेतर्फ उनले सबैमा ध्यानाकर्षण गराउनुभयो । अझै आवश्यकता देखिएमा स्थानीय प्रशासनलाई आवश्यक निर्णय लिन अधिकार रहेको उनको भनाइ छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भने अझै कडाइ गर्न अनुरोध गरेको जनाइएको छ ।

यो पनि

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board