पर्यटकीय क्षेत्रमा संसारलाई आकर्षित गर्नसक्ने क्षमता भए पनि राज्यले ध्यान नजाँदा हीरा पनि किरामा परिणत : कर्णालीवासी

जाजरकोट, १० कात्तिक । नेपालकै सबैभन्दा गहिरो ताल हो शे-फोक्सुण्डो ताल, वरिपरि पहाडले घेरिएको बीचमा रहेको अंग्रेजी ‘वाई’ आकारको यो ताल समुन्द्री सतहबाट तीन हजार ६११ मिटर उचाइमा अवस्थित रहेकाे छ । तालको लम्बाइ ४.८ किलोमिटर र चौडाइ १.६ किलोमिटर छ । नेपालको सबैभन्दा गहिरो यो तालको गहिराइ ६५० मिटर रहेकाे छ । कान्जिरोवा हिमालको काखमा सजिएर बसेको यो तालले बेलाबेलामा रङ बदल्छ भनिन्छ । हिमालको काखमा रहेको यो ताल सफा र कञ्चन हिमाल पग्लिएर बनेको छ ।

शे–फोक्सुण्डो नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज पनि हो । यो डोल्पा र मुगु जिल्लामा फैलिएको छ । नेपालको पश्चिमी दुर्गम हिमालपार क्षेत्रमा रहेको यस निकुञ्जमा तिब्बती वातावरणमा पाइने प्राकृतिक सम्पदा पाइन्छ । यहाँ तल्लो हिमाली क्षेत्रदेखि लिएर उच्च हिमाली र हिमालपारि क्षेत्रको तिब्बती भूमिसम्मको भू–धरातल भएकाले हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउरलगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइन्छन् ।

यस निकुञ्जलाई डाँफे, मोनाल, चिरलगायत २०० प्रजातिका पक्षी, ६ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा अझ धनी बनाएको छ । यहाँ पाइने हिउँ चितुवाको आहार–विहारबारे वैज्ञानिक अनुसन्धानको नतिजाले यो निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त बासस्थान प्रमाणित भएको छ । काञ्जिरोवा दक्षिण (६,८६६ मि.), सिकाल्पो खाङ (६,५५६ मि.), वेज चुचुरो (७,१३९ मिटर) जस्ता हिमशिखरहरू र कतिपय हिमनदीहरूले यस निकुञ्जलाई अनुपम प्राकृतिक सुन्दरता प्रदान गरेका छन् ।

निकुञ्जको लगभग मध्य भागमा रहेको नेपालको सबैभन्दा गहिरो शे-फोक्सुण्डो ताललाई सन् २००७ मा रामसारमा सूचीकृत गरिएको छ । ११ औँ शताब्दीमा निर्मित शे गुम्बा पनि यहीँ रहेकाे छ । गुम्बामा तिब्बती बौद्ध धर्मको शिक्षा दिइन्छ । यो राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा राख्न सिफारिस गरिएको छ । निकुञ्जको आम्दानी नगण्य भएकाले मध्यवर्ती क्षेत्रका बासिन्दाको चाहना अनुसारका एकीकृत संरक्षण र सामुदायिक विकासका कार्यक्रमहरू सञ्चालन गर्न सकिएको छैन । डोल्पा सडक सञ्जालसँग जोडिएपछि अहिले यो ताल आन्तरिक पर्यटकको प्रमुख रोजाइमा पर्न थालेको छ । सडक सञ्जालले छोए पनि यहाँसम्म पुग्न भरपर्दो विकल्प भनेको हवाईजहाज नै हो ।

तालको मनोरम दृश्यले जसलाई पनि मोहित बनाउँछ । पछिल्लो समय फोक्सुण्डो ताल आकर्षणको केन्द्र बन्ने गरेको छ । सडकमार्ग हुँदै यहाँ पुगेमा यात्रा निकै रमाइलो हुने र त्यस्तै हवाई मार्गमार्फत गएमा झनै मन लोभ्याउने दृश्य देख्न सकिने पर्यटकहरु बताउँछन् । बास बस्नका लागि ठाउँठाउँमा होटेलहरु निर्माण गर्ने क्रम जारी रहेका छन् । बाटोमा जतिसुकै दुःख पाए पनि तालसम्म पुग्दा पर्यटकलाई लोभ्याउने प्राकृतिक क्षमता भएकाे याे क्षेत्र डोल्पा मात्र होइन, छिमेकी जिल्लाको समृद्धिको ठूलो आधार बन्न सक्ने देखिन्छ ।

कर्णालीमा रहेका पर्यटकीय क्षेत्रहरुको विकास, समृद्धि र संसारलाई आकर्षित गर्नसक्ने क्षमता भए पनि राज्यले ध्यान नदिँदा यहाँको हीरा पनि किराका रुपमा परिणत हुनु परेको कर्णालीवासीको गुनासो रहेकाे छ । राज्यको लगानी तथा भरपर्दो रुट निर्माणमा ध्यान नदिँदा माल पाएर चाल नपाएझैँ भएको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का कार्यसमिति सदस्य जितेन्द्र झाँक्री बताउँन्छन् । निजी क्षेत्रबाट स्थानीयवासीले निर्माण गरेका होटेल, घरबास मात्र फोक्सुण्डोमा रहेका छन् । सिजनमा मात्र यहाँका गतिविधिहरु चल्ने भएकाले स्थानीयवासीलाई समेत मारमा परेका झाँक्रीकाे भनाइ छ ।

छिञ्चु जाजरकोट हुँदै डोल्पासम्म जाने सडकको ट्र्याक खोलेसँगै फोक्सुण्डो ताल आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइमा पर्न थालेको छ । अहिले जाजरकोट खण्डमा पुल निर्माणको काम करिब ८० प्रतिशत सकिएको छ भने डोल्पा खण्डमा निर्माण जारी रहेकाे छ । जाजरकोट सदरमुकामदेखि १७ किलोमिटरमा रहेको ठूलीभेरी र सानीभेरीका सङ्गमस्थल रिम्‍नासम्म पिचको काम जारी रहेको छ । त्यो भन्दा माथि जाजरकोटको अन्तिम विन्दु तल्लु बगरसम्म पिचका लागि केही दिनमै बोलपत्र आह्वान गर्न लागिएको सडक डिभिजन चौरजहारीका प्रमुख ध्रुव झाले बताए ।

जाजरकोटदेखि दुनै सडक ११७ किलोमिटरमा १४ वटा पुल निर्माण गर्ने काम जारी छ । शे–फोक्सुण्डो मात्र नभएर उपल्लो डोल्पामा आन्तरिक पर्यटक बढाउनका लागि भौतिक संरचना निर्माणमा भारी जोड दिनु जरुरी छ । संसारमै लोपोन्मुख हिउँ चितुवासमेत यही निकुञ्ज क्षेत्रमा पाइन्छ । अहिले सो ठाउँमा रहेका चारवटा हिउँ चितुवालाई रेडियो कलर जडान गरी अध्ययन थालिएको निकुञ्जले जनाएको छ ।

प्राकृतिक सुन्दरतामा मात्र नभएर सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक दृष्टिले पनि निकै धनी डोल्पाको सुन्दर पक्षले जति ख्याति पाएको छ, त्यसअनुसार पर्यटक जान नसक्दा नीति निर्माण तहमा बस्नेलाई सधैँ यस क्षेत्रका जनसाधारणले आक्रोश रहदैँ आएकाे छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board