काठमाडौं, २९ पुस। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र विभिन्न तहमा बनाइएका किल्ला तोडेर कांग्रेसलाई अझ फराकिलो, उज्यालो, व्यापक र गहिरो बनाउने बताएका छन्।विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उनले पार्टीभित्र केन्द्रदेखि जिल्ला र क्षेत्रसम्म बनेका संरचनागत र मानसिक किल्लाहरूले कार्यकर्तालाई उकुसमुकुस बनाएको भन्दै ती किल्ला तोड्नु आजको आवश्यकता भएको बताए।उनले कठिन परिस्थितिलाई चिर्दै विशेष महाधिवेशनमा सहभागी भएकोमा प्रतिनिधिहरूप्रति आभार व्यक्त गरे। ‘जिल्ला–जिल्लामा जमेर बसेका किल्ला तोडेर यहाँ आइपुग्नु सजिलो थिएन,’ उनले भने, ‘तर यहाँबाट फर्किंदा ती किल्ला तोडेर हामी जानेछौँ।’महामन्त्री थापाले पार्टीभित्र गुट र गिरोह हाबी हुँदै गएको बताए। उनले स्व। प्रदीप गिरिको भनाइ उद्धृत गर्दै भने, ‘कांग्रेसमा गुट बन्दै बनेन, गुट बन्दाबन्दै गिरोह बन्यो, र गिरोहले पार्टी कब्जा गर्यो।’सम्बोधनका क्रममा उनले अर्का महामन्त्री विश्वप्रकाश शर्माको भूमिका र निर्णयको खुलेर प्रशंसा गरे। ‘व्यक्तिगत लाभ केही नहुने, तर सिङ्गो पार्टी र समाजका लागि जोखिम मोलेर गरिएको निर्णय प्रशंसनीय छ,’ थापाले भने, ‘यसले मलाई मात्र होइन, हामी सबैलाई बल र तागत दिएको छ।’
महाधिवेशनका क्रममा बाहिर फैलाइएका टिकट, भागबन्डा र पदकेन्द्रित हल्लाप्रति असन्तुष्टि जनाउँदै थापाले विशेष महाधिवेशनको गरिमा नघटाउन आग्रह गरे। ‘हजारौँ प्रतिनिधिहरू जोखिम मोलेर यहाँ आएका छन्, दुई–तीन दिनदेखि मन्थन गरिरहेका छन्,’ उनले भने, ‘यसलाई केवल टिकट वा भागबन्डाको चश्माबाट हेर्नु यो अभियानको अपमान हो।’
थापाले आफू र विश्वप्रकाश शर्मालाई सभापति बन्ने कुनै लालसा नरहेको स्पष्ट पार्दै पार्टीलाई सही दिशामा उभ्याउन नेतृत्व र नीतिमा परिवर्तन आवश्यक रहेको बताए। ‘हामी परे चुनाव लड्न पनि तयार छौँ, नलड्न पनि तयार छौँ,’ उनले भने, ‘मुख्य कुरा पार्टीलाई ठीक ठाउँमा उभ्याउनु हो।’
निर्वाचन प्रक्रिया अगाडि बढिसकेको उल्लेख गर्दै थापाले विशेष महाधिवेशनको हलबाट हुने निर्णयलाई शिरोधार्य गर्नुपर्नेमा जोड दिए। ‘यो हलले जे निर्णय गर्छ, त्यो निर्णयलाई दुई महामन्त्रीले मान्नुपर्छ,’ उनले स्पष्ट पारे।
आगामी कार्यदिशाबारे बोल्दै थापाले यो नेतृत्व अस्थायी भएको र निर्वाचनपछि नियमित महाधिवेशन गराउनुपर्ने बताए। त्यसअघि विधान संशोधन गरी पार्टीलाई समयानुकूल बनाउनु पर्ने उनको भनाइ थियो। उनले करिब ६–८ महिनाको सीमित अवधिमा पार्टीलाई सम्हाल्ने जिम्मेवारी रहेको उल्लेख गरे।
प्रतिक्रिया