रातको १ बजेर ११ मिनेट भएको यो बेला! बिहान र दिउँसोको योजना बनाउँदैछु! परदेशमा रातिको ड्युटी गर्नेहरूले यो आलेख सबैभन्दा पहिला पढ्नुहुन्छ होला!
दुई छाक टार्न दुई दिनको जीवन काट्दै अनेकन दुःख भोगिरहेका परदेशी नेपालीहरूलाई स्वदेशबाट माया र सम्झना!
मैले इराक र अफगानिस्तानमा बिताएका ती दिन र रातहरूको सम्झना अझै ताजै छ मेरो मनमा! परदेशमा बस्दा घरदेशको याद कति तीव्र हुन्छ भन्ने कुरा मैले राम्ररी बुझेको छु।
शुरु-शुरुमा नेपाली गीतका म्युजिक भिडियोमा बजेको बाँसुरीको धुन सुन्दा मेरो मुटु छियाछिया भएको जस्तो हुन्थ्यो! देशको माया र यादमा छट्पटिएर बितेका मेरा ती दिनहरू सम्झँदा अहिले पनि भावुक बनिहाल्छु।
परिवार, आफन्त, साथी-सङ्गीको यादले झस्किँदै ब्यूँझने त्यो पल… यो कस्तो नियति हो नेपालीको – देशमै गरिखाने वातावरण नबन्दा युवाले आफ्नो भाग्य खोज्न बालुवाघारी र तुषारोमा भौतारिनुपर्ने!
आफ्नो जीवनसाथी र नानीहरूलाई सम्झँदै उनीहरूको फोटो सिरानीमुनि राखेर महिनौँ-वर्षौँ बिताउने त्यो प्रतीक्षा नेपालीले गर्नुपरेको कठोर तपस्या नै हो!
यही तिनै नेपालीहरूको पीडामा राहत दिन म राजनीतिमा आएको छु!
देशमा श्रम र श्रमिकलाई गरिने अपमान, हेला र होच्याइले गर्दा देशमै काम गर्ने वातावरण नबनेको कारण देश पछाडि परेको मेरो निष्कर्ष छ।
म सबैलाई श्रमशील बनाएर, देशको माटो सिँचित गरेर भविष्य फलाउने अभियानमा डटिरहेको छु – अनेक अपमान, पीडा र झमेला मुद्दा सहँदै!
आफूले भोगेको दुःख आफ्ना सन्तान र आउने पुस्ताले भोग्नु नपरोस् भन्नु नै विकासको वास्तविक प्रतिबद्धता हो!
मलाई हाँसोमा उडाउनेहरूलाई के थाहा परदेशीको आँसुको कथा! अरूलाई दुख्दा हाँस्नेहरूले मलाई जति गाली गरे पनि म एकोहोरो अगाडि बढिरहन्छु!
दुई छाक टार्न विदेशिनुपर्दा घरको यादमा एक्लै बाँच्नुपर्दाको त्यो पीडा भोग्नेलाई मात्र थाहा हुन्छ!
यही देशमा सुशासन र विकास नहुँदासम्म परदेशीलाई स्वदेश फर्काउन सकिँदैन! युवालाई विदेश पठाएर देशको विकास गर्न सकिँदैन भन्ने कुरा नबुझेका नेतृत्वलाई एउटा ठूलो पाठ पढाउन निस्केको सानो मान्छे म आज यो देशका ठूला-ठूला पुराना दलहरू र नयाँ भनाउँदा दलहरूलाई आँखाको कसिङ्गर बनेको छु!
कसरी मलाई हराउन सकिन्छ भनेर अनेक तानाबाना र षड्यन्त्र सुरु गरेको सूचना पाइरहेको छु! तर जति नै जे गरे पनि, दुःख भोगेर बुझेको मान्छे भएको कारण म परिवर्तन गराइछाड्छु!
मेरा नेपाली दाजुभाइ-दिदीबहिनीहरू! स्वदेशको सम्झनामा रुँदै आँसु बगाउँदै परदेशमा पसिना बगाउने यो परम्परा तोड्न मलाई के गर्नुपर्छ? कस्ता प्रयास र योजनाहरू बनाउनुपर्छ? म पूर्ण रूपमा तयार छु!
कुनै दिन विदेशीहरू पनि नेपालमा रोजगारी खोज्दै आउने अर्थतन्त्र बनाउने मेरो लक्ष्य हो!
मेरै जस्तो सोच भएका वा मेरो सोचलाई समर्थन गर्ने सम्पूर्ण नेपालीहरूले मलाई सम्झनेछन् भन्ने कुरामा म पूर्ण विश्वस्त छु!
प्रतिक्रिया