काठमाडौं, २७, पुस – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब पार्टी र देशलाई नयाँ ढंगले अगाडि बढाउने तयारीमा आफूहरू रहेको बताएका छन्।
भृकुटीमण्डपमा आज सुरु भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने, “हामी नयाँ ढंगले जाने मनोविज्ञान र मुडमा छौँ। नयाँ आशा जगाएर जान्छौँ।”
महामन्त्री शर्माले विशेष महाधिवेशनबाट नवीन सोचको खोजी गर्दै अघि बढ्ने बताए। उनले कांग्रेसबाट देशलाई शासन मात्र होइन, सुशासन पनि दिने प्रतिबद्धता व्यक्त गरे।
“जेनजी आन्दोलनपछि ध्वस्त भएका संरचनासँगै समाजको मनलाई पनि जोड्नुपर्छ,” उनले भने, “ध्वंस भएका भवन मात्र होइन, मनलाई पनि जोड्न हामी विशेष महाधिवेशनमा उभिएका छौँ।”

उनले अहिलेसम्म कांग्रेसबाट भएका कमजोरीहरूमा आफूहरूको पनि केही हिस्सा रहेको स्वीकार गरे। “अहिलेसम्म जेजस्ता कमजोरी भएका छन्, ड्राइभिङ सिटको छेउमा बसेकाले त्यसको केही हिस्सा हामी पनि लिन्छौँ,” शर्माले भने, “त्यसलाई स्वीकारेर हामीले भनेका हौँ—पुरानै ढंगले नयाँ यात्रा गर्न सकिँदैन, नयाँ ढंगले जानुपर्छ।”
उनले समयअनुसार कांग्रेसलाई बदल्नुपर्नेमा जोड दिँदै थपे, “देशको समयलाई कुनैबेला कांग्रेसले आफू अनुकूल बदलेको थियो। आज बदलिएको समयअनुकूल कांग्रेसले आफूलाई बदल्नु छ। त्यसका लागि हामी विशेष महाधिवेशनको मैदानमा खडा भएका छौँ।”
महामन्त्री शर्माले कांग्रेसले आफूलाई बदल्न सक्ने र देशलाई समृद्धिको उचाइमा पुर्याउन सक्ने अठोट पनि व्यक्त गरे।

यो विशेष महाधिवेशनले पार्टीमा आन्तरिक लोकतन्त्र, विधानसम्मत सञ्चालन र नयाँ ऊर्जासहितको पुनर्गठनको सन्देश दिने अपेक्षा गरिएको छ।
प्रतिक्रिया