सेती प्रादेशिक अस्पतालमा तीन दिनदेखि सुत्केरीको शव उठेन

धनगढी पुस, २५
सेती प्रादेशिक अस्पतालमा शल्यक्रियामार्फत शिशु जन्माएपछि मृत्यु भएकी एक महिलाको शव तीन दिनदेखि उठेको छैन।

गोदावरी नगरपालिका–८ की ३३ वर्षीया राधिका नेपालीको बुधबार साँझ करिब ५ बजे उपचारका क्रममा मृत्यु भएको थियो। तर मृत्युपछि पीडित परिवार र अस्पताल प्रशासनबीच सहमति नजुट्दा शव अझै अस्पतालको शवगृहमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार राधिकाको मृत्युबारे पीडित पक्ष र अस्पताल प्रशासनबीच छलफल भइरहे पनि निष्कर्षमा नपुग्दा शव नउठाइएको हो।

२३ पुस दिउँसो शल्यक्रियामार्फत छोरी जन्माएकी नेपालीको सुत्केरीपछि स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो। उपचारकै क्रममा साँझ उनको मृत्यु भएको हो। आमाको मृत्यु भए पनि नवजात शिशु भने जीवितै रहेको प्रहरीले जनाएको छ।

पीडित परिवारले चिकित्सकको लापरबाहीका कारण राधिकाको मृत्यु भएको दाबी गर्दै कानुनबमोजिम दोषीमाथि कारबाही र उचित क्षतिपूर्तिको माग गरेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति