नेतृत्व परिवर्तन कि नीतिगत छलफल ? कांग्रेसभित्र बहस

‘महाधिवेशन प्रतिनिधिको बहुमत आएपछि पार्टी टेकओभर हुन्छ, फुट हुँदैन’

काठमाडौं, २४ पुस।नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद गहिरिँदै जाँदा विशेष महाधिवेशन पक्षभित्रै पनि दुई फरक धार देखिएका छन्। ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधि र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माको आह्वानमा पुस २७–२८ गतेका लागि विशेष महाधिवेशन घोषणा भइसकेको छ। तर यसबाट तत्कालै नेतृत्व परिवर्तन गर्ने कि नीतिगत दस्तावेज पारित गरेर वैशाखमा हुने १५औँ महाधिवेशनमार्फत नेतृत्व चयन गर्ने भन्ने विषयमा विशेष महाधिवेशन पक्षधरभित्रै मत विभाजित देखिएको हो।

काठमाडौं आइपुगेका केही महाधिवेशन प्रतिनिधिहरू नेतृत्व परिवर्तनकै लागि विशेष महाधिवेशन अपरिहार्य भएको बताउँछन्।
‘५४ प्रतिशतभन्दा बढी प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गरेका छन्। पार्टी नेतृत्वले आफ्नै प्रतिनिधिलाई हेप्ने काम गर्‍यो। अब विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गरेर देखाउँछौं,’ एक प्रतिनिधिले बताए।

तर अर्का समूह भने विशेष महाधिवेशनबाट नेतृत्व चयन गर्दा पार्टी कानुनी झमेलामा फस्ने र चुनावको मुखमा विवाद झन् चुलिने चेतावनी दिन्छ।
‘सभापति वा कार्यवाहक सभापति उद्घाटन सत्रमै नआए विशेष महाधिवेशनबाट नेतृत्व चयन गर्नु हुँदैन,’ एक प्रतिनिधिले भने, ‘यसले पार्टीलाई प्राविधिक रूपमा फुटतर्फ लैजान सक्छ। दस्तावेज पारित गरेर वैशाखको महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्नु उपयुक्त हुन्छ।’

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि विशेष महाधिवेशनबाट पार्टी नफुट्ने प्रतिबद्धता जनाउँदै आएका छन्। थापाले आफूलाई सभापति बन्नुभन्दा पार्टी रूपान्तरण मुख्य भएको बताएका छन् भने शर्माले पार्टी विभाजनतर्फ जाने अवस्था आए आफू सबैभन्दा पहिले विशेष महाधिवेशन हलबाट बाहिरिने बताएका छन्। यसले उनीहरू तत्काल नेतृत्व परिवर्तनभन्दा पार्टी एकतालाई प्राथमिकतामा राखिरहेको संकेत गर्छ।

संस्थापन पक्षभित्रका केही नेताहरू भने सभापति शेरबहादुर देउवा वा कार्यवाहक सभापति पूर्णबहादुर खड्का विशेष महाधिवेशनको उद्घाटन सत्रमै सहभागी भए विवाद समाधानको बाटो खुल्ने बताउँछन्।
‘२०५१ सालमा किसुनजीले निर्वाह गरेकै भूमिकाजस्तै अहिले सभापतिले उपस्थिति जनाए एकताको सन्देश जान्थ्यो,’ एक केन्द्रीय सदस्यले बताए।

यसैबीच विशेष महाधिवेशन माग गर्ने समूहका अगुवा नेता गुरूराज घिमिरे भने विशेष महाधिवेशनको मुख्य उद्देश्य नै कांग्रेसको नेतृत्व परिवर्तन भएको स्पष्ट पार्छन्। उनले भने, ‘नेतृत्व परिवर्तन विशेष महाधिवेशनको प्रमुख सर्त हो। नेतृत्व नबदली विशेष महाधिवेशनको कुनै औचित्य छैन।’

उनका अनुसार जेनजी विद्रोहपछिको असामान्य परिस्थितिमा वर्तमान नेतृत्व असफल भएको निष्कर्षमा विशेष महाधिवेशन पक्ष पुगेको छ। ‘नयाँ नेतृत्वसहित ताजा म्यान्डेट लिएर चुनावमा जानुपर्छ,’ घिमिरेको भनाइ छ।

संस्थापन पक्षले विशेष महाधिवेशनलाई पार्टी विभाजनको जोखिम भन्दै विरोध गरिरहँदा घिमिरेले त्यसलाई ‘तर्कहीन र जिम्मेवारीबाट भाग्ने बहाना’ भनेका छन्।
‘महाधिवेशन प्रतिनिधिको बहुमत आएपछि पार्टी टेकओभर हुन्छ, फुट हुँदैन,’ उनले दाबी गरे।

विशेष महाधिवेशनमा कति सहभागिता हुन्छ भन्ने प्रश्नमा उनले न्यूनतम दुई तिहाइ प्रतिनिधि सहभागी हुने विश्वास व्यक्त गरे। शेखर कोइरालालाई पनि विशेष महाधिवेशनमा सहभागी हुन आग्रह गरिएको उनले बताए।

कांग्रेस विधानको धारा १७ अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरे विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ। १४औँ महाधिवेशनका ५४ प्रतिशत प्रतिनिधिले असोज २९ गते नै विशेष महाधिवेशनको माग गरे पनि कार्यवाहक सभापतिले प्रक्रिया अघि नबढाएको आरोप विशेष महाधिवेशन पक्षको छ।

उता, मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने केन्द्रीय समितिले नबोलाएको विशेष महाधिवेशन विधानविपरीत हुने भन्दै सहभागी नहुन अपिल गरेका छन्।

यसरी विधान, नेतृत्व, नीति र पार्टी एकताको प्रश्नमा कांग्रेस अहिले निर्णायक मोडमा पुगेको छ। पुस २७ गतेको बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरूले गर्ने बहस र निष्कर्षले कांग्रेसको भावी दिशा तय गर्ने देखिन्छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति