कांग्रेसमा आन्तरिक तनाव तीव्र : संस्थापन पक्षको केन्द्रीय सदस्य भेला भोलि, विशेष महाधिवेशनको तयारी पनि अघि बढ्दै

काठमाडौं २४ पुस, नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर विवाद चुलिँदै जाँदा संस्थापन पक्षले भोलि (शुक्रबार) केन्द्रीय सदस्यहरूको भेला बोलाएको छ। सभापति शेरबहादुर देउवासँग बिहीबार भएको छलफलपछि संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूले छुट्टै भेला आयोजना गर्ने निर्णय गरेका हुन्।

सभापति देउवासँगको छलफलमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार भेला शुक्रबार बिहान साढे १० बजे नयाँ बानेश्वरमा आयोजना हुनेछ। उक्त भेलामा शीर्ष नेताहरूलाई भने नबोलाइने जनाइएको छ।
‘भोलि साढे १० बजे केन्द्रीय सदस्यहरू मात्र बस्छौं। शीर्ष नेताहरू कसैलाई पनि बोलाउँदैनौं,’ ती नेताले भने, ‘संस्थापन पक्षबाट निर्वाचित २५ केन्द्रीय सदस्यहरूको समूहलाई पनि बोलाइएको छ।’

यसअघि संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूले शीर्ष नेताहरूको सहभागितामा पटक–पटक छलफल गर्दै आएका थिए। उनीहरू निर्वाचनअघि विशेष महाधिवेशन हुन नहुने अडानमा छन्।

यसैबीच, संस्थापन पक्षले विशेष महाधिवेशनको काउन्टर रणनीतिका रूपमा युवा भेला आयोजना गर्ने तयारी पनि गरेको छ। उक्त भेला पुस २७ गते बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुने जनाइएको छ।

उता, कांग्रेसभित्र देखिएको विवाद अन्त्यका लागि नेता डा. शेखर कोइरालाले सभापति देउवालाई लचक बन्न आग्रह गरेका छन्। बिहीबार बिहान देउवा निवास महाराजगञ्ज पुगेर कोइरालाले पार्टी विभाजनको जोखिम औंल्याउँदै निकासका लागि पहल लिन आग्रह गरेका हुन्।

पार्टी स्रोतका अनुसार कोइरालाले पार्टीमा को नेता बन्ने भन्नेभन्दा पनि एकता नै प्रमुख आवश्यकता भएको धारणा देउवासमक्ष राखेका थिए।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आह्वान गरिसकेका छन्। तर पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले विधानअनुसार विशेष महाधिवेशन आह्वान नभएकाले त्यसमा सहभागी नहुन नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।

यसै क्रममा कांग्रेसको विशेष महाधिवेशन पुस २७ गते काठमाडौंको भृकुटीमण्डपमा गर्ने तयारी तीव्र बनेको छ। विशेष महाधिवेशन सचिवालयको समन्वयमा तयारी अघि बढाइएको छ। स्वयंसेवक व्यवस्थापन समितिका संयोजक मनिष कोइरालाका अनुसार करिब एक हजार स्वयंसेवक परिचालन गरिनेछ भने भृकुटीमण्डपमा आजदेखि मञ्च निर्माणको काम सुरु हुँदैछ।

विशेष महाधिवेशन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रत्यक्ष संलग्नतामा आह्वान गरिएको हो। उता संस्थापन समूहले भने विशेष महाधिवेशनको विरोधस्वरूप केन्द्रीय सदस्यहरूको भेला र युवा भेला डाकेर शक्ति सन्तुलन कायम गर्ने प्रयास गरिरहेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति