काठमाडौं, २३ पुस । राष्ट्रिय सभामा माओवादीसँग सिट संख्यामा सहमति जुट्न नसकेपछि एमाले, कांग्रेस र मधेशी दलबीच मात्रै नयाँ समिकरण बनेको छ ।
मंगलबार कांग्रेसलाई ७, एमालेलाई ७, माओवादीलाई ३ र लोसपारजसपालाई १ सिट दिने विषयमा मोटामोटी सहमति भएको थियो । तर माओवादीभित्रको आन्तरिक समिकरण मिलाउन न्यूनतम ४ सिट आवश्यक पर्ने माग आएपछि सहमति हुन सकेन ।त्यसपछि बुधबार बिहान कांग्रेसले ९, एमालेले ८ र जसपारलोसपाले १ सिट पाउने गरी नयाँ सहमति भएको हो । लोसपाबाट महन्थ ठाकुरको नाम सिफारिस भएको छ ।यसैबीच, आज बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय सभाका उम्मेदवारसमेत टुंगो लगाएको छ ।
कहाँबाट को सिफारिसमा परे ?
कोशी प्रदेशबाट सुनिलबहादुर थापा
मधेश प्रदेशबाट धर्मेन्द्र पासवान र कर्ण रञ्जित
वाग्मती प्रदेशबाट गीता देवकोटा
गण्डकी प्रदेशबाट जगत तिमिल्सेना
लुम्बिनी प्रदेशबाट चन्द्र केसी र बासुदेव जंगली
कर्णाली प्रदेशबाट ललितजंग शाही
सुदूरपश्चिम प्रदेशबाट खम्बबहादुर खाती
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरुको मनोनयन हुँदैछ । निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ ।
राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो । आयोगले यसअघि यही पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ । यस्तै, मङ्गलबार मतदाता नामावलीमा कुनै दावी विरोध भए नभएको यकिन गरी अन्तिम मतदाता नामावली पनि सार्वजनिक गरिसकेको छ । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।
प्रतिक्रिया