पार्टी विभाजन नहोस् भन्ने चाहेको छु–देउवा

काठमाडौं, १८ पुस। नेपाली कांग्रेसमा निर्वाचनअगावै महाधिवेशन हुनुपर्ने ‘लबिङ’ गरेको संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूको समूहले सभापति शेरबहादुर देउवालाई भेटेर अहिलेको विवाद समाधानका लागि ध्यानाकर्षण गराएको छ । सो भेटमा सभापति देउवाले पनि पार्टी विभाजन नहोस् भन्ने आफूले चाहेको बताएका छन् ।केन्द्रीय कार्यसमिति चलिरहँदा निर्वाचनअगावै नियमित महाधिवेशन हुनुपर्ने भन्दै दबाब दिएको समूह शुक्रबार बिहान सभापति देउवासँग महाराजगञ्जस्थित निवास पुगेको थियो । उक्त समूहमा रहेकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले पार्टीमा चुलिएको पछिल्लो विवाद समाधानबारे सभापति देउवासँग आफूहरूले छलफल गरेको जानकारी दिइन् । उनकाअनुसार समूहले आजै (शुक्रबार) महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि छलफल गर्दैछ ।‘

पहिला पनि हामीले चुनाव पछि महाधिवेशन हुनुपर्ने र चुनाव अघि विशेष महाधिवशेन हुनुपर्छ भन्ने मतहरू मिलाउने भूमिका निर्वाह गरेका थियौं,’ नेतृ संग्रौलाले भनिन्, ‘पछि चुनाव अघि नियमित महाधिवेशन गर्ने भनेर सर्वसम्मत निर्णय भएको थियो । अहिले पनि त्यही भूमिका निभाइरहेका छौं ।’उनले सभापति देउवासँग आफूहरूले पार्टीलाई निकास दिन र विभाजनमा जान नदिनका लागि भूमिका निर्वाह गर्न आग्रह गरेको पनि बताइन् । ‘पार्टीलाई निकास दिनुपर्‍यो । विभाजनतर्फ जान दिनुभएन भन्ने कुरा राख्यौं,’ संग्रौलाले भनिन्, ‘सभापतिज्यूले विभाजन नहोस्, मिलेर अगाडि जाऔं भन्ने म त चाहिनै रहेको छु भन्नुभयो ।’ १६ पुस (बुधबार) का लागि तय भएको वडा अधिवेशन प्रभावित बनेपछि महामन्त्रीद्वय थापा र शर्माले बिहीबार विज्ञप्ति जारी गरेर नियमित अधिवेशन स्थगन गरेका छन् ।उनीहरूले केही दिनभित्रै २७ पुसका लागि विशेष महाधिवेशन घोषणाको तयारीसमेत गरेका छन् । विशेष महाधिवेशनका लागि पक्षधर समूहले बिहीबार भृकुटीमण्डप पनि बुक गरिसकेको छ ।महामन्त्रीद्वयले नियमित महाधिवेशन अस्थगित गरेपछि कांग्रेसले शुक्रबार दिउँसो ३ बजेका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति