पोखरा/चितवन, १६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन चितवनबाटै लड्ने स्पष्ट घोषणा गरेका छन्। पोखरामा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले चितवनवासीले आफूप्रति देखाएको माया र विश्वासका कारण सोही क्षेत्र छोड्न नसक्ने बताए।

“चितवन छोड्ने कुरा सोच्न मिल्छ ? त्यो कसरी मिल्छ होला ? त्यस्तो सोच्न मिल्छ र ? जान्न त्यहाँ भन्न मिल्छ र ?,” लामिछानेले प्रश्न गर्दै भने, “मलाई चितवनले जुन माया देखाएको छ, चितवनले जुन गुण लगाएको छ, यो परिवर्तनको, यो निलो क्रान्तिको चैँ नि एउटा उद्गम स्थल र एउटा परीक्षण केन्द्र मानेका छौँ।”
लामिछानेले २०७९ को निर्वाचनमा चितवन क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी दिएर विजय प्राप्त गरेका थिए। पछि रास्वपा गठन गरेर पनि सोही क्षेत्रबाट लगातार दुई पटक सांसद निर्वाचित भएका छन्। जेनजी आन्दोलनपछि देशमा नयाँ राजनीतिक परिवेश बनेको र निर्वाचन घोषणा भएसँगै उनको उम्मेदवारीको क्षेत्रबारे चर्चा चलेको थियो। तर, उनले चितवनलाई नै प्राथमिकता दिँदै ‘निलो क्रान्ति’ को आधार क्षेत्रका रूपमा उल्लेख गरे।



उनले पार्टीले देशको आवश्यकता अनुसार बहुमत प्राप्त गर्ने दाबी गरे। “सबैलाई एक ठाउँमा उभ्याएपछि परिवर्तन गर्न सक्ने तहको मत ल्याउँछ भन्ने लागेको छ। सङ्ख्या त म भन्न सक्दिनँ,” उनले भने, “अधिकांश कुराहरू सम्बोधन गर्न सक्ने हिम्मत प्राप्त गर्छौँ। अरू त नागरिकको हातमा छोडौँ।”
लामिछानेले शासकीय स्वरूपबारे पनि देशव्यापी बहस सुरु भएको उल्लेख गर्दै सङ्घीयता र लोकतान्त्रिक व्यवस्था कायम रहने सङ्केत दिए। रास्वपाले युवा पुस्ताको आकांक्षा बोकेर निर्वाचनमा होमिने तयारी गरिरहेको छ। पार्टीले समानुपातिक सूची बुझाइसकेको र प्रत्यक्षतर्फका उम्मेदवारहरूको टुंगो लाग्दै गरेको जनाइएको छ।
चितवनमा लामिछानेको लोकप्रियता उच्च रहेको छ। यसअघिका निर्वाचनमा ठूलो मतान्तरले विजयी भएका उनी यसपटक पनि सोही क्षेत्रबाट उठ्ने घोषणाले स्थानीय कार्यकर्ताहरू उत्साहित भएका छन्।

यो घोषणाले रास्वपाको निर्वाचन रणनीतिमा स्पष्टता आएको छ। अन्य दलहरूले पनि उम्मेदवार छनोट तीव्र पारेका बेला लामिछानेको यो कदमले चितवनको राजनीतिक माहोललाई थप तताउने देखिन्छ।
प्रतिक्रिया