काठमाडौं १५ पुस। नेकपा का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक सञ्जालमा होहल्ला गर्नेहरूलाई जनताको मुक्तिदाता बनाउन खोजिएको भन्दै कडा टिप्पणी गरेका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले सोसल मिडियाको प्रभावलाई विदेशी प्रतिक्रियावादी शक्तिसँग जोडेका छन् ।
प्रचण्डले भने, ‘सोसल मिडिया हेर्यो भने सहर–बजारका मान्छेका होहल्ला हेर्यो भने त विचारविहीन, इतिहासविहीन, त्याग तपस्या बलिदान र निष्ठाविहीनहरूले नेपाल पूरै कब्जा गरिसके जस्तो छ । सोसल मिडियाबाट होहल्ला गर्नेहरू नै मुक्तिदाता हुन् भनेर भ्रम पार्न खोजिएको छ ।’
उनले दशकौँ लडाइँ र तपस्या गरेका दलहरूलाई सिद्धिएको जस्तो प्रचार गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे । प्रचण्डले विदेशी शक्तिहरूले फेसबुक, एक्सजस्ता प्लेटफर्ममार्फत होहल्ला गरिरहेको र त्यसमा रमाउनेहरूले नेपाल कब्जा भइसकेको जस्तो प्रचार गरेको आरोप लगाए ।
कार्यक्रममा प्रचण्डले ऊर्जामन्त्री कुलमान घिसिङप्रति लक्षित गर्दै ‘पार्टी र जनताले लगाएको गुन बिर्सिएर बैगुनी भएर हिँडेका’ भन्दै आलोचना गरे । प्रचण्डको सरकारमा दुई पटक विद्युत प्राधिकरण प्रमुख बनेका घिसिङ पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सँग नजिकिएका छन् । आगामी निर्वाचनमा नेकपासँग तालमेलको अपेक्षा गरेका प्रचण्डले घिसिङको कार्यशैलीप्रति यसअघि पनि असन्तुष्टि जनाएका थिए ।
प्रचण्डले आउने दिनमा पार्टीलाई बलियो बनाएर राष्ट्रिय एकता, शान्ति, समृद्धि र समाजवादको यात्रालाई सशक्त बनाउन संकल्प गर्नुपर्ने बताए । रुकुमपूर्वदेखि काठमाडौंसम्म पदयात्रा गरेका केशव रावलको सम्मान कार्यक्रममा बोल्दै उनले पार्टी एकताको सन्देश प्रवाह भएको प्रशंसा गरे ।
सोसल मिडियाको हल्ला त देशै कव्जा गरेजस्तो छः प्रचण्ड
प्रतिक्रिया