रवि–बालेन्द्र–कुलमानको त्रिपक्षीय एकता : यसरी जुट्यो सहमति

काठमाडौं १५ पुस । वैकल्पिक राजनीतिका तीन प्रमुख अनुहार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) र ऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ एकै पार्टी र चुनाव चिह्नबाट आगामी प्रतिनिधिसभा निर्वाचनमा होमिने भएका छन्।

रवि र बालेनबीच पुष १३ गते ७ बुँदे एकता सहमति भएको भोलिपल्टै (पुष १४ गते) कुलमान संरक्षक रहेको उज्यालो नेपाल पार्टी पनि रास्वपामा समाहित भएको छ। रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपालका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेको सहमतिपत्रमा मेयर बालेन साक्षी बनेका छन्। हस्ताक्षर कार्यक्रममा कुलमान घिसिङ पनि उपस्थित थिए।

एकताका मुख्य बुँदाहरू:

  • पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै कायम रहने।
  • झन्डा र चुनाव चिह्न पनि रास्वपाकै रहने।
  • सभापति रवि लामिछाने नै रहने।
  • उपसभापति पदमा कुलमान घिसिङ, डीपी अर्याल र स्वर्णिम वाग्ले रहने।
  • उज्यालो नेपालका युवा अभियन्ता र विज्ञहरूलाई योग्यता, समावेशिता र सार्वजनिक छविका आधारमा पार्टी संरचना र जिम्मेवारीमा समायोजन गरिने।
  • लिखित सहमतिमा उल्लेख नभए पनि कुलमान पक्षलाई करिब १७ प्रतिशत हिस्सा दिने समझदारी भएको छ। सोही अनुसार समानुपातिकतर्फ कुलमान पक्षबाट १८ जना उम्मेदवारको सूची तयार गरिएको छ। प्रत्यक्षतर्फ टिकट बाँडफाँट पनि लगभग त्यही अनुपातमा हुने नेताहरूले बताएका छन्।

सहमति कसरी जुट्यो?

यसअघि रवि, बालेन र कुलमानबीच पटक–पटक छलफल भए पनि शक्ति बाँडफाँटमा कुरा मिलेको थिएन। रवि–बालेन सहमति भइसकेपछि पनि पुष १३ गते मध्यरातसम्म काठमाडौं महानगर कार्यालयमा छलफल भएको थियो, तर निष्कर्ष निस्किएको थिएन।

रास्वपाबाट कुलमानलाई पार्टी संरचना र टिकटमा १० प्रतिशत हिस्सा दिने प्रस्ताव थियो भने कुलमानले ३० प्रतिशत को अडान लिएका थिए। कुलमानले आफ्नो पार्टी संरचना बलियो रहेको र सम्मानजनक उपस्थिति आवश्यक रहेको तर्क गरेका थिए। एक समय कुलमानले कार्यकारी भूमिका (पछि अध्यक्षमण्डल) को दाबीसमेत गरेका थिए।

सहमति नजिकिएर पनि टुट्ने अवस्था आएपछि कुलमान पुष १४ बिहान उज्यालो नेपालको समानुपातिक सूची तयार पार्न व्यस्त भए। रवि–बालेनले फेरि संवाद गर्न खोज्दा कुलमानले सुरुमा इच्छा देखाएनन्।

त्यसबेला निर्णायक भूमिका खेलेको थियो जेन–जी आन्दोलनका अगुवाहरूले। ‘द काउन्सिल अफ जेन–जी’ का सुधन गुरुङ, जेम्स कार्की र ओजस्वी थापा कुलमान भएठाउँमा पुगेर “तीन जना मिल्नैपर्छ” भन्दै आग्रह गरे। आइतबार राति साढे २ बजेसम्म उनीहरू कुलमानकै घरमा बसेर मिल्नुपर्ने अडान राखेका थिए।

पुष १४ दिउँसो २ बजे सुधन गुरुङ आफैं कुलमानलाई गाडीमा लिएर कमलपोखरीस्थित रास्वपा नेता असिम शाहको कार्यालय पुगे। त्यहाँ रवि र बालेनसँग छलफल भएपछि अन्तिम सहमति जुट्यो। उज्यालो नेपालका केन्द्रीय सदस्य सञ्जीव भट्टराईले भने, “सुधनसहित जेन–जी साथीहरूले एकतामा अत्यन्त राम्रो भूमिका निर्वाह गर्नुभयो।”

जेन–जीसँग छुट्टै समझदारीको तयारी

एकतापछि मेयर बालेनले जेन–जी अगुवा रिजन राना मगरसँग कुराकानी गर्दै आन्दोलनको भावनाअनुसार समाधान खोज्ने प्रयास गरेको बताए।

जेन–जी पक्ष खुसी हुँदै रास्वपा नेतृत्वसँग आन्दोलनको ‘म्यान्डेट’ पालना गर्ने गरी लिखित समझदारीको तयारीमा जुटेको छ। नेपाल जेन–जी फ्रन्टकी संयोजक रक्षा बमका अनुसार:

  • जेन–जी आन्दोलनलाई अपनत्व लिने लिखित प्रतिबद्धता।
  • जेन–जी प्रतिनिधिलाई उम्मेदवारी र पार्टी संरचनामा स्थान।
  • दुवै पक्षबाट वार्ता टोली गठन गरी पुष १५ (मंगलबार) छलफल हुने सल्लाह भएको छ।

रास्वपा सभापति रविले जेन–जी आन्दोलनमा घाइते र सहिदहरूको बलिदान खेर नजाने बताउँदै आन्दोलनको स्पिरिटमा शंका नगर्न आग्रह गरेका छन्। उनले केही जेन–जीलाई प्रतिपक्षी भूमिकामा बसिदिनसमेत सुझाएका छन्।

यो त्रिपक्षीय एकताले वैकल्पिक शक्तिहरूको बलियो ध्रुव निर्माण गरेको छ र आगामी निर्वाचनमा पुराना दलहरूसँग कडा टक्कर हुने अनुमान गरिएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति