काठमाडौं १४ पुस– वैकल्पिक राजनीतिक शक्तिको लामो छलफल र अवरोधपछि ठूलो सफलता मिलेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) र ऊर्जामन्त्री कुलमान घिसिङ (उज्यालो नेपाल पार्टीका संरक्षक) बीच अन्ततः एकीकरण भएको छ। यो एकताले जेनजी आन्दोलनको मर्मलाई राजनीतिक रूप दिने र पुराना दलहरूको कुशासनविरुद्ध बलियो वैकल्पिक शक्ति निर्माण गर्ने अपेक्षा गरिएको छ।

सोमबार साँझसम्म सहमतिपत्रमा हस्ताक्षर हुने अपेक्षा छ। रास्वपा सभापति रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङबीचको यो त्रिपक्षीय सहमतिले आगामी फागुन २१ को निर्वाचनमा ठूलो प्रभाव पार्ने निश्चित छ।

एकताको मुख्य बुँदाहरू (सातबुँदे सहमति)
१. पार्टी नेतृत्व :
- सभापति : रवि लामिछाने।
- उपसभापति : कुलमान घिसिङ (पहिलो दर्जाको)।
- निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्री उम्मेदवार : बालेन्द्र शाह (बालेन)।
२. पार्टी नाम र चिह्न :
- नाम : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)।
- चुनाव चिह्न : घण्टी (साविककै)।
३. हिस्सेदारी :
- समानुपातिक सूचीमा उज्यालो नेपाल पक्षबाट १८ जना र बालेन पक्षबाट ४० जना को भद्र सहमति।
- प्रत्यक्ष उम्मेदवारीमा पनि सम्मानजनक हिस्सा।
४. मुख्य लक्ष्य :
- जेनजी आन्दोलनको अपनत्व लिई भ्रष्टाचार, कुशासन र बेरोजगारीविरुद्ध संघर्ष।
- लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउने।
- योग्यता प्रणाली स्थापित गर्दै “हाँसेको नेपाल” बनाउने।
५. आह्वान :
- अन्य सुसंस्कृत तथा परिवर्तनकामी वैकल्पिक शक्ति, समूह र व्यक्तिहरूलाई घण्टी चिह्नमा गोलबन्द हुन आह्वान।
संगठनात्मक संरचना :
- पार्टीमा युवा अभियन्ता र विज्ञहरूलाई समायोजन।
जेनजी अभियन्ताहरूको निर्णायक सहजीकरण
- यसअघि भागबन्डा र नेतृत्वमा कुरा नमिलेपछि वार्ता अवरुद्ध बनेको थियो।
- कुलमानले सुरुमा ३० प्रतिशत हिस्सा र सह-सभापति पद मागेका थिए, रास्वपाले १५ प्रतिशत र उपसभापति मात्र प्रस्ताव गरेको थियो।
- जेनजी अगुवा सुदन गुरुङ, जेम्स कार्की र ओजस्वी थापा ले कुलमानलाई बौद्धको अन्तरा होटलबाट आफ्नै गाडीमा वार्तास्थल पुर्याएर अन्तिम समझदारी जुटाए।
- सुदन गुरुङले रास्वपा कार्यालयमै पुगेर दबाब दिएका थिए। जेनजीहरूले “तपाईंहरू मिल्नुको विकल्प छैन, नत्र जेनजीलाई डिभाइड गर्नुहुन्छ” भनेर तीनै नेतालाई मनाएका थिए।
कुलमाननिकट एक नेताले भने : “रविज्यूको फोन उठाउनुभएको थिएन। खाली कुरा गर्छन्, मिल्दैनन् भनेर निराश थियौं। तर सुदन गुरुङहरू आएर लिएर गए।”
कुलमानको आगमनले रास्वपा थप मजबुत
- आइतबार रवि–बालेनबीच सहमति भएपछि कुलमान छुटेका थिए।
- कुलमानले पोखरामा कार्यकर्ता भेलामा “सके एकता, नसके कार्यगत एकता” भनेका थिए।
- तर, जेनजीहरूको मध्यस्थतापछि कुलमान उपसभापति पद स्वीकारेर रास्वपामा मिसिए।
- यसले रास्वपालाई कुलमानको ऊर्जा क्षेत्रको जस, बालेनको युवा लोकप्रियता र रविको संगठनात्मक शक्तिसँग जोडेर सबैभन्दा ठूलो वैकल्पिक शक्ति बनाएको छ।
अन्य वैकल्पिक शक्तिलाई आह्वान
सहमतिपत्रको सातौं बुँदामा स्पष्ट उल्लेख छ : “लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दामा अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक शक्ति, समूह र व्यक्तिहरूलाई घण्टीमा गोलबन्द हुन आह्वान।”
यो एकताले जेनजी आन्दोलनपछि उदाएका वैकल्पिक शक्तिहरूको ध्रुवीकरणलाई बल दिएको छ। विवेकशील साझा यसअघि नै रास्वपामा मिसिसकेको छ। अब अन्य शक्ति (हर्क साम्पाङ, बाबुराम भट्टराई, रेशम चौधरी, सीके राउत लगायत) लाई पनि आह्वान गरिएको छ।
यो त्रिपक्षीय एकताले फागुन २१ को निर्वाचनमा परम्परागत दलहरूलाई ठूलो चुनौती दिने निश्चित छ।



प्रतिक्रिया