काठमाडौं १४ पुस – आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक बन्दसूची बुझाउने आज अन्तिम दिन हो। सोमबार साँझसम्म प्रमुख दलहरूले सूची बुझाउने क्रम तीव्र बनेको छ। निर्वाचन आयोगका अनुसार साँझ ५ बजेसम्म ९ दल ले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाइसकेका छन्।
नेपाली कांग्रेसको सूची : पुरानालाई नदोहोर्याउने नीति, पदाधिकारी भीष्मराज समेटिए

नेपाली कांग्रेसले समानुपातिकतर्फ ११० जना उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। यसपटक पार्टीले २०६४ यताका समानुपातिक सांसदहरूलाई दोहोर्याउने छैन भन्ने नीति कडाइका साथ लागू गरेको छ।
सूचीमा पार्टी पदाधिकारीमध्ये सहमहामन्त्री भीष्मराज आङ्देम्बे को नाम समेटिएको छ। कोशी प्रदेशबाट सिफारिस भएका भीष्मराज २०७४ र २०७९ मा एमालेका वसन्त नेम्वाङसँग पराजित भएका थिए। जिल्लामा पार्टी आधार कमजोर बन्दै गएपछि आदिवासी जनजाति क्लस्टरबाट समानुपातिकमा अवसर खोजेका उनी यसपटक सूचीमा परेका छन्।
पार्टी प्रवक्ता प्रकाशशरण महत ले भने : “नयाँ र पुराना सबैलाई समेटेका छौं। अनुभवी र युवाको टिम छ।”
नेकपा (नेपाली कम्युनिस्ट पार्टी) : युवालाई प्राथमिकता, एमालेसँग सहकार्यको संकेत
नेकपा नेता राजेन्द्रप्रसाद पाण्डे ले सूची बुझाउँदै युवा पुस्तालाई विशेष प्राथमिकता दिएको बताए। पार्टीले समावेशी सिद्धान्तका आधारमा सबै क्लस्टर समेटेको र विगतमा समानुपातिक/प्रत्यक्ष सांसद वा मन्त्री भइसकेकालाई यसपटक सूचीमा नराखेको उनको भनाइ छ।
पाण्डेले एमालेसँग चुनावी सहकार्यको सम्भावना खुला रहेको संकेत दिए : “एमालेसँग एकता वा सहकार्यबारे केही कुरा भएको भए विस्तारै बाहिर आइहाल्छ। कम्युनिस्ट आन्दोलन र देशको हितका लागि जो–जो सहकार्य गर्न आउँछन्, उनीहरूसँग मिलेर जान तयार छौं। देश, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जुनसुकै दलसँग हात मिलाउन सकिन्छ।”
९ दलले बुझाए सूची
निर्वाचन आयोगका अनुसार :
- आइतबार : नेपाल मजदूर किसान पार्टी (नेमकिपा, ११० नाम), राष्ट्रिय जनमोर्चा (११० नाम), नेपाल लोकतान्त्रिक पार्टी (१२ नाम)।
- सोमबार : जनप्रिय लोकतान्त्रिक पार्टी (१२ नाम), नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) (११ नाम), गतिशील लोकतान्त्रिक पार्टी (११ नाम), जनता समाजवादी पार्टी (१०१ नाम), समावेशी समाजवादी पार्टी (३१ नाम), समावेशी समाजवादी पार्टी नेपाल (१२ नाम)।
कांग्रेस, एमाले, नेकपा, रास्वपा, राप्रपा लगायत ठूला दलहरूले आजै सूची बुझाउने तयारी गरेका छन्। म्याद साँझसम्म भएकाले धेरै दलहरू अन्तिम समयमा सूची बुझाउने अपेक्षा छ। युवा र समावेशितालाई प्राथमिकता दिइएको दाबी अधिकांश दलहरूको छ।
प्रतिक्रिया