काठमाडौं १४ पुस । वैकल्पिक शक्तिको बहुप्रचारित बृहत् एकतामा ठूलो झट्का लाग्ने कारण रास्वपाको हेपाहा प्रवृत्ति देखिएको बताइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र ऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ बीच आइतबार सात घण्टा चलेको वार्ता निष्कर्षविहीन बनेको छ। सोमबार दिउँसोसम्म पनि पुनः छलफल हुन सकेको छैन।
स्रोतहरूका अनुसार मुख्य विवाद भागबन्डा मा केन्द्रित रहेको छ ।
उज्यालो नेपालको माग : उपसभापतिसहित पार्टीमा समग्र ३० प्रतिशत सम्मानजनक हिस्सा।
रास्वपाको प्रस्तावः बढीमा १५ प्रतिशत मात्र दिन सकिने ।
रास्वपाले १५ प्रतिशतभन्दा बढी दिन नसक्ने अडान राखेपछि कुलमान पक्षले “पार्टीको अस्तित्व र सम्मानजनक सहभागिता बिना कुनै पनि एकता सम्भव नभएको” जवाफ फर्काएको स्रोतको भनाइ छ।
उज्यालो नेपालका एक नेताको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो “हामीले उपसभापतिसहितको सम्मानजनक स्थान माग गरेका थियौं, तर उनीहरूले १५ प्रतिशतमा सीमित गर्न खोजे। यसले एकताको वातावरण बन्न सकेन। अब सम्भावना टर्यो भन्दा पनि हुन्छ। हामी आफ्नै ढंगले अगाडि बढ्छौं। तर, कार्यगत एकताको बाटो भने खुला छ।”
उज्यालो नेपालको वैकल्पिक तयारी
रास्वपासँग पार्टी एकता नहुने अवस्था देखिएपछि उज्यालो नेपालले समानुपातिक बन्दसूची को तयारी अन्तिम चरणमा पुर्याएको छ। साँझ ६ बजेसम्मको समयसीमाभित्र सबै प्रक्रिया टुंग्याएर निर्वाचन आयोगमा सूची बुझाउने तयारी भएको पार्टी स्रोतले जनाएको छ। यसले उज्यालो नेपाल छुट्टै चुनावी मैदानमा उत्रिने पक्कापक्की भएको नेता रिमा विश्वकर्माले बताइन् ।
यो घटनाक्रमले आइतबार रवि–बालेनबीच भएको सातबुँदे सहमति लाई थप बलियो बनाउने प्रयास भए पनि कुलमानको अनुपस्थितिले वैकल्पिक शक्तिको पूर्ण ध्रुवीकरण अधुरो रहेको देखाएको छ। फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा यी विभाजनले युवा तथा वैकल्पिक मतहरू बाँडिने अवस्था देखिएको छ।
प्रतिक्रिया