देउवा, ओली र प्रचण्डलाई चुनावी निम्तो दिँदै प्रधानमन्त्रीले भनिन्– यो घर तपाईंहरूकै हो

काठमाडौं, १२ पुस । काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चुनावको सबै वातावरण बनिसकेको र दलहरु पनि तयार भएको भन्दै प्रमुख तीन दलका शीर्ष नेतासँग सहयोगको याचना गरेकी छन् । बालुवाटार बैठकमा तीन दलका शीर्ष नेता एवं पूर्वप्रधानमन्त्रीत्रय केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाललाई प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन जसरी पनि सफल पार्नुपर्ने बताइन् ।

यस्तो छ प्रधानमन्त्रीको भनाइ जस्ताको तस्तै,

‘मेरो निमन्त्रणलाई स्वीकार गरी यहाँहरू आइदिनुभयो, धेरै धन्यवाद र स्वागत छ। यो घर तपाईँहरूकै हो। म त न्याय क्षेत्रको मान्छे। राष्ट्रपतिज्यूबाट चुनाव गराउने कार्यादेश पाएबमोजिम हामी चुनावको तयारी गरिरहेका छौँ। प्रशासनिक काम–कारबाहीबाट अलग भएर पूरै निर्वाचनमा होमिनकै लागि रक्षाबाहेक मसँग रहेका सबै मन्त्रालय अन्य मन्त्रीलाई जिम्मा लगाइसकेको छु। मैले यहाँहरूलाई बोलाएर बिन्ती गर्न खोजेको के भने यो निर्वाचन जसरी पनि सफल पारौँ। सबै यसमा सहभागी हुनुपर्छ। तपाईँहरू निर्वाचनका लागि तयारै हुनुहुन्छ भन्ने नै मैले देखेकी छु। त्यस्तो वातावरण बनिरहेको देख्छु। यो स्वागतयोग्य छ। हामीले निर्वाचन आयोग र प्रहरी प्रशासनलाई आवश्यक स्रोतसाधन उपलब्ध गराएका छौँ। भनेजति नै स्रोतसाधनको व्यवस्था गरेका छौँ। सुरक्षाकर्मीको मनोबल बढेको कुरा त यहाँहरुले पनि महसुस गर्नुभएकै होला। हामी त्यसरी काम गरिरहेका छौँ। अब कुनै अलमल नरी यो राष्ट्रको भविष्य सम्झेर, स्थिर र दिगो लोकतन्त्रको सुनिश्चितताका लागि चुनाव सफल पारौँ। यो हामी सबैको जिम्मेवारी हो। यत्ति अनुरोध गर्न मैले यहाँहरूलाई आज निम्ता गरेकी हुँ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति