फेसबुक र मौन गोटीका खेलाडी स्वतन्त्र मेयरबाट राष्ट्रिय राजनीतिको फड्कोतर्फको दौड

काठमाडौं १० पुस । जेनजी विद्रोहपछि राष्ट्रिय राजनीतिमा ‘किङ मेकर’ को भूमिका निर्वाह गरेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) पछिल्लो ९६ घण्टामा उल्लेखनीय रूपमा परिवर्तित देखिएका छन्। यसअघि मौन, सामाजिक सञ्जालकेन्द्रित र राजनीतिक भेटवार्ताबाट टाढा रहने बालेन अहिले सघन संवाद, दलीय राजनीति र स्पष्ट विचारको पक्षमा उभिएका छन्।
जेनजी विद्रोहको समयमा उनले जे चाहे त्यही भएको थियो – सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने प्रस्तावदेखि संसद् विघटनसम्म। तर पछिल्लो चार दिनका गतिविधिले उनमा आकाश–जमिनको फरक देखाएको छ। उनमा देखिएका विचलन केही दृश्यहरु यस्ता छन् ।

१. अरूलाई प्रधानमन्त्री नबनाएर आफैं प्रधानमन्त्री बन्ने दौडमा
जेनजी विद्रोहपछि बालेनलाई प्रधानमन्त्री बन्न सजिलो अवसर थियो। तर उनले फेसबुक स्टेटसमार्फत पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्वका समर्थन गर्ने प्रस्ताव अघि सारे । उनले लेखेका थिए, “यो अन्तरिम सरकारको काम चुनाव गराउने र नयाँ जनादेश दिने हो। सुशीला कार्कीप्रति पूर्ण समर्थन छ।”


आफ्नो हातमा आएको कार्यकारी प्रमुखको अवसर त्यागेर अरूलाई प्रधानमन्त्री बनाउने क्षमता देखाएका बालेन प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेण्डाबाट पछि हट्दै मौजुदा संसदीय प्रणालीबाटै प्रतिनिधिसभाबाट निर्वाचित भएर प्रधानमन्त्री बन्ने बाटोतर्फ अघि बढेका छन्। रवि लामिछानेसँगको बैठकमा बालेनलाई नै प्रधानमन्त्री बनाउने कुरा उठिसकेको समाचार सार्वजनिक भएको छ ।

२. अस्पष्ट शासकीय स्वरूपबाट स्पष्ट गणतन्त्रको पक्षमा
बालेनको मौनता र सञ्चार माध्यमबाट टाढा रहने शैलीका कारण उनको पछाडि पूर्वराजा ज्ञानेन्द्रको प्रभाव रहेको वा उनी राजावादी भएको भन्ने अफवाह फैलिएको थियो। कतिले उनलाई देशी–विदेशी शक्तिको गोटीसमेत भन्ने गरेका छन् । यी सबै आरोपको उनले खण्डन गरेका छैनन्।
तर बिहीबार जेनजी अगुवाहरूसँगको भेटमा उनले स्पष्ट शब्दमा भनेका छन्, “म संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा छु।” यसले उनको शासकीय स्वरूपबारेको अस्पष्टतालाई पूर्णविराम लगाएको छ।
३. मौनता तोड्दै अर्धभूमिगत शैलीको संवाद
मेयर निर्वाचित भएपछि बालेनले राजनीतिक भाषण गरेका छैनन्, उनले केवल फेसबुक स्टाटसलाई मुख्य सञ्चार माध्यम बनाउँदै आएका छन्। विगतमा उनले प्रधानमन्त्रीहरुलाई भेट्नसमेत रुचि देखाएनन्।
तर पछिल्लो ४ दिनमा उनले करिब एक सय राजनीतिक नेता तथा अगुवासँग वार्ता गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, ऊर्जामन्त्री कुलमान घिसिङ, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, डा. भगवान कोइराला, नागरिक उन्मुक्ति पार्टीका रेशमलाल चौधरी, पूर्वसांसद अमरेश सिंह, कांग्रेस नेता सुनिल शर्मा लगायतलाई उनले भेटेका छन्। यो उनको पुरानो मौन स्वभावभन्दा बिलकूल फरक हो ।
४. स्वतन्त्र हैसियत बाट दलीय नेतृत्वको दौड
२०७९ को स्थानीय निर्वाचनअघि र्‍यापर र इन्जिनियरका रूपमा चिनिएका बालेन तीन वर्षसम्म पूर्ण स्वतन्त्र रहे। कुनै दलतर्फ झुकाव देखाएनन्। तर निर्वाचन आयोगमा उनको संरक्षणमा ‘देश विकास पार्टी’ दर्ता भएको छ।
पछिल्लो गतिविधिले उनी दलीय राजनीतिमा सक्रिय रूपमा प्रवेश गर्दै दलको नेतृत्व लिने तयारीमा रहेको देखिन्छ। रवि लामिछानेसँगको एकता छलफल र अन्य वैकल्पिक शक्तिसँगको संवाद यसैको संकेत हो।
५. फेसबुक–केन्द्रित नेतृत्वबाट जेनजी विद्रोहको उत्तराधिकारीतर्फ
जेनजी विद्रोहको नेतृत्व कसको थियो भन्ने अझै स्पष्ट छैन, तर सबैभन्दा अगाडि देखिएका बालेन नै थिए। उनको फेसबुक अभियानले विद्रोहको दिशा निर्धारण गरेको मान्नेहरुको कमी छैन ।
विद्रोहको तीन महिनापछि बल्ल उनी जेनजीका प्रमुख अगुवाहरूसँग प्रत्यक्ष संवादमा सक्रिय भएका छन्। रक्षा बम, सुदन गुरुङ लगायतका जेनजी नेताहरू उनको नजिक छन्। पुरुषोत्तम यादव पनि नजिकिन खोज्दैछन्। यसले जेनजी विद्रोहको राजनीतिक उत्तराधिकारीका रूपमा बालेन स्थापित हुँदै गएको देखिन थालेको छ ।

सातै प्रदेशका जेनजी प्रतिनिधि सँग छलफल

‘बालेन’ले सातै प्रदेशका जेनजी प्रतिनिधिहरूसँग छलफल गरेका छन् ।

बिहीबार दिनभर विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफलमा व्यस्त बालेनले साँझ जेनजीका प्रतिनिधिसँग भेटेका हुन् । भेटमा हामी नेपालका संयोजक सुदन गुरुङ पनि सहभागी थिए ।

जेनजी प्रतिनिधि खेमराज साउदका अनुसार जेनजीहरूले नयाँ भनिएका राजनीतिक र शक्तिहरू मिलेर जानुपर्ने सुझाव बालेनलाई दिएका छन् । आफू दलीय राजनीतिमा आएको जानकारी दिँदै बालेनले जेनजी रक्षा बमलाई सबै जेनजीलाई एक भएर आउन आग्रह गरेका थिए ।

बालेनले उनीहरूलाई आफ्ना सहयोगी कुमार बेनको घरमा भेटेका हुन् । अहिले बालेन त्यहाँबाट निस्किसकेका छ्न् । बेनको घरमा आज बालेनले करिब १२ घण्टा समय बिताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति