एमालेमा वैचारिक संघर्षको नयाँ अध्यायः पोखरेल पक्षले निरन्तर बहस गरिरहने

काठमाडौं, ५ पुस । नेकपा एमालेको ११औँ महाधिवेशनको धुलो अझै बसेको छैन, तर पार्टीभित्र वैचारिक र पद्धतिगत बहस भने नयाँ मोडमा पुगेको छ। शनिबार काठमाडौंमा बसेको वरिष्ठ नेता ईश्वर पोखरेल पक्षको छुट्टै भेलाले महाधिवेशनमा पराजित भए पनि आफ्ना मुद्दाहरू नछोड्ने र पार्टीभित्र कुनै पनि प्रकारको पक्षपात वा गुटबन्दीको प्रयास भए कडा प्रतिवाद गर्ने स्पष्ट सन्देश दिएको छ।


महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको प्यानलले दुई तिहाई बढी बहुमत हासिल गरेपछि पोखरेल पक्षका अधिकांश उम्मेदवार पराजित भएका थिए। तर यो इतरपक्षको पहलो भेलाले देखाएको छ– पराजयले उनीहरूलाई विचलित बनाएको छैन, बरु थप संगठित र दृढ बनाएको छ।
“विधि–विधानभित्र बसेर निरन्तर संघर्ष”


नवनिर्वाचित उपमहासचिव योगेश भट्टराईले भेलापछि सञ्चारकर्मीसँग भने, “हामीले उठाएका विचारहरू– पार्टी पुनर्गठन, नेतृत्व हस्तान्तरण, जनताको बहुदलीय जनवाद (जबज) को आधारमा पार्टी निर्माण र आन्तरिक लोकतान्त्रिकरण– यी मुद्दाहरूलाई विधि र विधानभित्र बसेर निरन्तर उठाइरहनेछौं।”
भेलाले पार्टी एकता र सुदृढीकरणका लागि आफ्नोतर्फबाट रचनात्मक भूमिका खेल्ने अठोट पनि गरेको छ। तर यो अठोटसँगै एउटा कडा चेतावनी पनि जोडिएको छ– पार्टीभित्र गुटबन्दी, काखापाखा वा विभाजनकारी प्रस्ताव आएमा त्यसको पार्टी संगठनभित्रै बसेर कडा प्रतिवाद गरिने। भट्टराईले थपे, “अराजनीतिक बार्गेनिङ हामी गर्दैनौं, वैचारिक र पद्धतिगत संघर्षलाई नै प्राथमिकता दिन्छौं।”

महाधिवेशनको अभ्यासमाथि गम्भीर प्रश्न

पोखरेल पक्षले महाधिवेशन प्रक्रियाप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेको छ। प्रतिनिधि छनोटदेखि बन्दसत्र सञ्चालन र निर्वाचनसम्म पार्टी संरचनाको दुरुपयोग भएको आरोप लगाउँदै भट्टराईले भने, “लोकतान्त्रिक प्रतिस्पर्धा कति स्वस्थ र मर्यादित भयो भन्ने कुरा सबैले देखेकै छ। संगठन विभाग लगायतका निकायहरूको दुरुपयोगबाट पार्टीको आन्तरिक लोकतन्त्रलाई अस्वस्थ बनाउने कोसिस भएकोप्रति हामीले गम्भीर चिन्ता व्यक्त गरेका छौं।”
यो असन्तुष्टि आगामी दिनमा पनि जारी रहने स्पष्ट भएको छ । भट्टराईका अनुसार पुस २६, २७ र २८ गते बस्ने केन्द्रीय कमिटी बैठकमा पनि महाधिवेशनको समीक्षा गरिने छ।

पार्टी एकताको नाममा मुद्दा नछोड्ने
महाधिवेशनपछि एमालेमा देखिएको यो गतिविधिलाई धेरैले पार्टीभित्रको शक्ति सन्तुलन र वैचारिक बहसको निरन्तरताका रूपमा हेरेका छन्। ओली पक्षको स्पष्ट बहुमतका बाबजुद पोखरेल पक्षले पार्टी एकताको आवरणमा आफ्ना मूलभूत मुद्दाहरू त्याग नगर्ने सन्देश दिएको छ।
एमालेको इतिहासमा यस्ता वैचारिक मतभेद र समूहगत भेलाहरू नौला होइनन्। तर यो पटकको भेलाले देखाएको दृढताले पार्टीभित्र आगामी दिनमा स्वस्थ बहस र प्रतिस्पर्धा कायम रहने सम्भावना पनि देखाएको छ– तर त्यो बहस कहाँसम्म पुग्छ र पार्टी नेतृत्वले कसरी व्यवस्थापन गर्छ, त्यसले नै एमालेको आन्तरिक लोकतन्त्रको वास्तविक परीक्षा गर्नेछ।
अहिलेलाई पोखरेल पक्षको सन्देश स्पष्ट छः हामी पराजित भएका छैनौं, केवल एउटा चरण पूरा भएको हो। संघर्ष जारी छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति