काठमाडौं ३ पुष । एमालेको निर्वाचनले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीमा थप वर्चस्वशाली बनाएको छ । अध्यक्षको प्रतिस्पर्धामा उनले आफ्नो प्रतिस्पर्धी ईश्वर पोखरेललाई निकै पछाडि छोडे ।
ओलीले १६६३ मत ल्याएर विजयी हुँदा पोखरेल ५६४ मतमै रोकिए । ओलीले पाएको मत दुई तिहाइभन्दा बढी हो । यद्यपि, एमालेको चुनावमा ओलीले सर्वाधिक मत ल्याएका भने होइनन् । दुईजना नेताले उनीभन्दा बढी प्रतिनिधिको मन जितेका छन् ।
उपाध्यक्षका उम्मेदवारहरू पृथ्वीसुब्बा गुरुङ र विष्णु पौडेलले ओलीभन्दा ज्यादा मत ल्याएका हुन् । एमाले पदाधिकारी सर्वाधिक लोकप्रिय मत गुरुङलाई मिलेको छ । उनले १७३७ मत प्राप्त गरे । यस्तै पौडेललाई १६७५ मत खसेको छ ।
अध्यक्ष ओली १६६३ मतसहित लोकप्रिय मतमा तेस्रो स्थानमा रहे । उनीपछि महेश बस्नेत छन् । सचिवका उम्मेदवार बस्नेतले १५३४ मत प्राप्त गरे ।
त्यसपछि टप टेनमा क्रमशः पद्मकुमारी अर्याल (१५३०), रामबहादुर थापा बादल (१५१६), छविलाल विश्वकर्मा (१५०६), शेरधन राई (१५०३) लेखराज भट्ट (१४५२) र गोकर्ण विष्ट (१३६८) रहेका छन् ।
प्रतिक्रिया