ओली-पोखरेलबीच वाकयुद्ध : विद्या भण्डारीदेखि आन्तरिक एकतासम्म

काठमाडौं २८ मंसिर : नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र शुरु भएलगत्तै अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच वाक युद्ध शुरु भएको छ। यो बन्दसत्र पार्टीको वर्तमान कार्यकालको अन्तिम केन्द्रीय कमिटी बैठकपछि सुरु भएको हो, जसमा विधान संशोधन, समसामयिक राजनीति र बन्दसत्र कार्यसूची मुख्य एजेन्डा थिए।

पोखरेलले ओलीको निरन्तर नेतृत्वले पार्टी, आन्दोलन र मुलुकलाई थप क्षति पुग्ने चिन्ता व्यक्त गर्दै नेतृत्वबाट बिदा लिएर संरक्षक बनेर राजनीतिक नेतृत्व दिन आग्रह गरे। उनले भने, “११ वर्ष अध्यक्ष, १० वर्षमध्ये ६ वर्ष प्रधानमन्त्री हुनुभयो। अब उधौली सुरु हुँदैछ, निरन्तरताले थप क्षति हुन्छ भन्ने चिउचिउ भइरहेको छ।”

पोखरेलले पार्टीमा आफूमाथि तेजोबध र अवरोध भएको गुनासो पनि गरे।

जवाफमा ओलीले कडा कटाक्ष गरे। पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यताबारे पोखरेलले उठाएको विषयमा ओलीले भने, “राष्ट्रपति कार्यकालको सदस्यता जोड्नु कानुनसँग खेलबाड हो। फर्किन मन छ भने नयाँ निवेदन दिनुपर्छ। सेरेमोनियल पदमा रहेको व्यक्ति विवादको चक्रव्यूहमा नफस्दा राम्रो।” उनले मदन भण्डारी फाउण्डेसनलाई एकपक्षीय बनाएको आरोप पनि लगाए।

ओलीले पोखरेलप्रति व्यंग्य गर्दै भने, “विरोधीले लखेटेका बेला पार्टीका साथीबाट माया पाउनुपर्नेमा डोको खोज्ने ? कुसमयमा मलाई फाल्न डोको खोज्नेहरूले ईश्वर कमरेडलाई पनि फाल्न डोको फिर्ता लैजाऊँ भन्छन्। मेरो तर्फबाट घच्चमच्च भए सरी।”

ओलीले आफू अझै १८ घण्टा काम गर्ने अवस्थामा रहेको र सर्वसम्मत नेतृत्वको प्रस्ताव राखे।

Oli breathes fire as UML opens its general convention

UML will ensure nation does not veer off course: Chairman Oli

केन्द्रीय कमिटी ३०१ सदस्यीय, युवाका लागि विशेष कोटा

बन्दसत्रले केन्द्रीय कमिटीको संरचना पारित गरेको छ। कमिटी ३०१ सदस्यीय हुनेछ, पदाधिकारी १९ जना (अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९)। जेनजी आन्दोलनको प्रभावस्वरूप युवाका लागि विशेष कोटा तोकिएको छ – कुल १५ जना युवा अनिवार्य।

क्लस्टर- वितरण :

  • उपत्यकासहित ८ प्रदेशबाट : ७२ जना (प्रदेशबाट ९ का दरले – खुला ५, महिला ३, युवा १)
  • खुला कोटा : १२५ जना (खुला ७१, महिला ५२, युवा २)
  • जनजाति आदिवासी : २५ जना (खुला १५, महिला ८, युवा २)
  • मधेसी : २० जना (खुला ११, महिला ६, युवा २)
  • दलित : १२ जना (खुला ७, महिला ४, युवा १)
  • अन्य : प्रवास २,
  • श्रमिक ३,
  • अपाङ्ग १,
  • थारू ८,
  • मुस्लिम ५,
  • पिछडिएको क्षेत्र २।

यो संरचनाले विधान महाधिवेशनको निर्णय उल्ट्याएर दसौं महाधिवेशनकै जस्तै बनाएको छ।

महाधिवेशनको अवस्था

बन्दसत्रमा २,२६२ प्रतिनिधि सहभागी छन्। इलेक्ट्रोनिक भोटिङबाट नेतृत्व चयन हुने तयारी छ। अध्यक्षमा ओली र पोखरेलबीच मुख्य प्रतिस्पर्धा छ।

यो घटनाक्रमले एमालेमा पुरानो र नयाँ पुस्ताबीच हस्तान्तरणको संकेत दिएको छ, तर ओली-पोखरेल द्वन्द्वले पार्टी एकतामा चुनौती देखिएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति