ओलीको कटाक्षप्रति सुरेन्द्र पाण्डेको काउन्टर जबाफ

काठमाडौं,२८, मंसिर । नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनअघि आइतबार बिहान भृकुटीमण्डपमा बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रैका केही नेताहरूप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्। विशेषगरी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलप्रति लक्षित गर्दै ओलीले आत्मआलोचनाको नाममा अरूका एजेन्डा बोकेर हिँडेको आरोप लगाएका हुन्।

बैठकमा बोल्दै ओलीले भने, “आत्मआलोचनाका नाममा अरूका एजेन्डा बोकेर हिँडेका छन्। भदौ २३ र २४ गतेको आन्दोलनपछि कतिपय हाम्रै साथीहरूले तत्कालीन प्रधानमन्त्रीले अध्यक्षबाट पनि राजीनामा दिनुपर्छ भने। यो कुरा विपक्षी दलहरूले भन्न सकेका थिएनन्, मिडियाले पनि भनेको थिएन। अरूका एजेन्डा बोकेर हाम्रै साथीहरू हिँडे।”

उनले थप कटाक्ष गर्दै भने, “तत्कालीन प्रधानमन्त्रीलाई कारबाही गर्नुपर्छ भनेर माग गर्ने रु यो कुरा विपक्षी पार्टी र मिडियाले पनि भन्न सकेका थिएनन्, तर आफ्नै नेताहरूले दस्तावेजमा समेटे।”

ओलीको यो भनाइ पोखरेलप्रति स्पष्ट लक्षित थियो। पोखरेलले सार्वजनिक रूपमै ओलीले जेनजी आन्दोलनबारे गठन भएको छानबिन समितिमा बयान दिनुपर्ने र दोषी भए कारबाहीको भागीदार हुनुपर्ने बताउँदै आएका छन्।

यद्यपि, आन्तरिक असन्तुष्टिका बीच पनि ओलीले आफूलाई भाग्यमानी नेता दाबी गरे। उनले भने, “म भाग्यमानी लिडर हुँ। मैले नेतृत्व र कार्यकर्ताबाट असाधारण सहयोग पाएको छु।”

ओलीले महाधिवेशनको प्रक्रियाबारे पनि प्रस्ट पारे। नयाँ नेतृत्व चयन भई शपथग्रहण नभएसम्म सबै केन्द्रीय कमिटी सदस्यकै हैसियतमा रहने र बन्दसत्र सञ्चालनका लागि बन्ने अध्यक्षमण्डलको अध्यक्षता आफैंले गर्ने जानकारी गराए।

पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाउने प्रस्तावमा विवाद

बैठकको अर्को मुख्य एजेन्डा विधान संशोधन थियो। अध्यक्ष ओलीले पदाधिकारी संख्या १९ र केन्द्रीय कमिटीलाई ३०१ सदस्यीय बनाउने गरी विधान संशोधन प्रस्ताव ल्याउने तयारी गरेका छन्। गत भदौमा सम्पन्न विधान महाधिवेशनले पदाधिकारी र केन्द्रीय कमिटीको आकार सानो बनाएको थियो। तर नेताहरूको व्यवस्थापनका लागि ओलीले आकार बढाउन खोजेका हुन्।

उपाध्यक्ष सुरेन्द्र पाण्डेले काउन्टर प्रस्ताव राख्दै भने, “विधान संशोधन गर्नैपर्ने हो भने नेतृत्वमा ७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा पनि ब्यूँताएर जानुपर्छ।”

बैठकमा नेताहरूले क्रमशः आफ्नो धारणा राखिरहेका छन्। ओलीको प्रस्ताव पास भएमा पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढ्ने निश्चितजस्तै छ, तर पोखरेल पक्षको असहमतिले महाधिवेशनको बन्दसत्रमा थप रस्साकसी हुने देखिएको छ।

यो बैठक महाधिवेशनको बन्दसत्र सुरु हुनुअघिको अन्तिम केन्द्रीय कमिटी बैठक हो। बन्दसत्रमा नेतृत्व चयन र विधान संशोधन मुख्य एजेन्डा रहनेछन्। पार्टीभित्रको यो आन्तरिक तनावले एघारौं महाधिवेशनलाई थप रोचक बनाएको छ।

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले चुनाव नलड्ने घोषणा गरेका छन्।

७० वर्ष पुगिसकेका ज्ञवालीले चुनाव नलड्ने तर पार्टीमा सक्रिय भने रहने बताए ।

भृकुटीमण्डपमा जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै ज्ञवालीले चुनाव नलड्ने घोषणा गरेको एक केन्द्रीय सदस्यले बताए ।

एमालेले गत भदौमा विधान सम्मेलनबाट ७० वर्षे उमेर हद भने हटाइसकेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति