काठमाडौं, २५ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारको कुनै कानुनी हैसियत नभएको बताएका छन्। प्रेस चौतारी नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको सम्पादकहरूसँगको संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिलेको सरकार कसैले टपक्क टिपेर टाँसिदिएको सरकार भएको बताए। ‘यो फेद न टुप्पोको सरकार हो,’ उनले भने।
कसैले ल्याएर टाँसिदिएको सरकारको ताउर(माउर देख्दा आफू आश्चर्यमा परेको ओलीले बताए। उनले व्यङ्ग्य गर्दै भने, ‘नागपञ्चमीतिर गोबर लगाएर नाग टाँसे जसरी कसले ल्याएर टाँसिदिएको सरकार हो, यहाँ नागको फोटो कसले टाँस्यो ? खोज्दै छु म।’
कसैले भोट नहालेको सरकारले व्यवस्थाको बारेमा सहमति गर्ने कुनै हैसियत नराख्ने उनले बताए। रिहर्सलमा सिकाएको पाठ केटाकेटीले गर्दै जाँदा बिगारेको उनले भनाइ छ। ‘त्यहाँ गरिएको सहमति त्यहीँ च्यातेर हिँडे त,’ उनले भने।
हैसियत बिनाको व्यक्तिले विना प्रक्रिया अनधिकृत रूपमा सिफारिस गरी विघटन गरिएको प्रतिनिधि सभा पुनर्स्थापित हुनुपर्ने उनको धारणा छ। उनले अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना हुने ठोकुवा गरे। अदालतलाई संविधानले अन्यथा फैसला गर्ने बाटो नै नदिएको उनले स्पष्ट पारे।
ओलीले नेकपा एमाले र कांग्रेस जनधार भएका ऐतिहासिक पार्टी भएको बताए। अहिले केही क्षण सूर्यमा बादल लागेकाले एमाले र कांग्रेस बाहिर रहेका उनले स्पष्ट पारे। उनले फेरि पनि देश चलाउन कांग्रेस र एमाले नै चाहिने दाबी गरे।
अहिले अपराध छल्न र महत्त्वाकाङ्क्षा पुरा गर्न राजनीतिमा लाग्ने लहर देखिएको बताउँदै नेपाल जस्तो देशमा १४३ वटा पार्टी हुनु भद्दा मजाक भएको ओलीको भनाइ छ। एमालेको विरोध गरे पार्टी चल्छ भन्ने धारणा अहिले बनेको उनले बताए।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटमा देशको राजनीतिक अवस्थाबारे छलफल भएको ओलीले सुनाए। देउवासँग भएको छलफलको परिणाम केही समयमा देखिने उनले दाबी गरे। ‘बकाइदा छलफल भयो, अर्थपूर्ण छलफल भयो, त्यसको परिणाम भोलि आउँछ,’ उनले भने।
प्रतिक्रिया