तीन मधेशी दलबीच एकता हुने, महन्थ–हृदयेश–वृषेशचन्द्र लाल फेरि एक ठाउँमा

काठमाडौं २४ मंसिर । जब मधेशको राजनीतिमा लामो समयदेखि छरिएका तीन वटा समुहका नेताहरुले बुधबार साँझ ७ बजेतिर काठमाडौँको एक शान्त होटलको सानो हलमा एकआपसमा हात मिलाएका छन्।

महन्थ ठाकुर (लोसपा नेपाल)
हृदयेश त्रिपाठी (जनता प्रगतिशील पार्टी)
वृषेशचन्द्र लाल (तराई–मधेश लोकतान्त्रिक पार्टी)

तीन अध्यक्षले संयुक्त रूपमा हस्ताक्षर गरेको दुई पृष्ठको विज्ञप्तिले मधेशको राजनीतिमा केही हलचल ल्याउने आशा गरिएको छ । जेनजी आन्दोलनले जन्माएको नयाँ परिवेशमा मधेशलाई पनि तरंगित बनाइदिन पुग्यो । यसकै परिणामस्वरुप यी तीन नेताले एक हुने निर्णय गर्न पुगेका छन् ।
जेनजी आन्दोलनले पुराना सबै दललाई एउटै प्रश्न तेर्स्यायोः “तिमीहरू भ्रष्टाचार र सत्ताको लुछाचुँडीमा हराउँदा हामी किन तिमीलाई विश्वास गरौँ ?”
मधेशका मतदाताले पनि यही प्रश्न सोधिरहेका छन्। २०७९ को चुनावमा मधेशमा कुनै पनि दलले स्पष्ट बहुमत पाएनन्। लोसपा, जसपा, तमलोपा, जनता प्रगतिशील – सबैले २ देखि ७ सिटको बीचमा खुम्चिन पुगेका थिए। मतदाताको सन्देश थियोः “या त एकजुट होऊ, या त भाग ।”
त्यही सन्देशलाई तीन नेताले गम्भीरतापूर्वक लिएको जस्तो देखिएको छ । स्रोतका अनुसार यी तीन नेताका बीचमा एकताको कुरा भदौ अन्तिम सातादेखि नै सुरु भएको थियो।

“हामीले अलग–अलग रहँदा मधेशको आवाज कमजोर भयो। अब एकजुट नभए इतिहासले हामीलाई माफ गर्दैन भन्ने बुझाईमा पुगेजस्तो देखिए पनि उनीहरुले राजनीतिक शक्ति कति आर्जजन गर्न सक्छन् भन्ने हेर्न बांकी नै छ। यी तीनै जना नेता कुनै बेला तमलोपामा सँगै थिए ।
स्रोतका अनुसार नयाँ पार्टीको सम्भावित स्वरूपका सन्दर्भमा पार्टीको नाम “संयुक्त मधेशवादी मोर्चा” वा “लोकतान्त्रिक समाजवादी मोर्चा (मधेश)” मध्ये एक राख्ने चर्चा छ।

एकताको मुख्य ५ एजेन्डाका बारेमा विज्ञप्तिको सार यस्तो छ ।
१. भ्रष्टाचारको अन्त्य र विधिको शासन
“आम निर्वाचन एकमात्र विकल्प हो” भन्ने निष्कर्ष।
२। समान अधिकार र समानुपातिक समावेशिता
राज्यका हरेक अङ्गमा मधेशी, थारू, मुस्लिम, दलित, जनजातिको अनुपातिक प्रतिनिधित्व।
३. विविधताको सम्मान
भाषा, संस्कृति, पहिचानको संरक्षण र प्रवर्द्धन।
४. संघीयताको सुदृढीकरण
प्रदेशलाई आर्थिक अधिकारसहित बलियो बनाउने।
५. सिमान्तकृत समुदायको वृहत् गोलबन्दी
मधेश, थरुहट, आदिवासी जनजाति, दलित, मुस्लिम सबैलाई एउटै मञ्चमा ल्याउने आह्वान। यो एकताले उपेन्द्र यादवको जसपामाथि समेत दवाव पर्ने निश्चित छ ।

अबको बाटो
आगामी १५ दिनभित्र नयाँ पार्टीको विधान, घोषणापत्र र साङ्गठनिक संरचना सार्वजनिक गरिने भएको छ। माघ महिनाभित्र प्रदेशस्तरीय एकता अधिवेशन गर्ने र फागुनसम्म जिल्ला–जिल्लामा पुग्ने योजना छ।
मधेशको राजनीतिमा लामो समयदेखिको “छरिएको शक्ति” पुनः ध्वीकरणको दौर शुरु भएको जस्तो देखिन्छ ।
यो एकताले आगामी आम निर्वाचनमा कस्तो तरङ्ग ल्याउँछ ? त्यो हेर्न अब धेरै कुर्नु पर्दैन।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति