क्यानडामा शक्तिशाली ७ म्याग्निच्युडको भूकम्प

काठमाडौं २१ मंसिर,। उत्तरपश्चिम क्यानडामा शक्तिशाली भूकम्प गएको छ । ७ म्याग्निच्युड मापन गरिएको यो भूकम्पलाई देशकै सबैभन्दा शक्तिशालीमध्ये एक मानिएको छ ।

भूकम्प युकोन टेरिटोरीमा स्थानीय समय अनुसार शनिबार दिउँसो १ः४१ बजे गएको हो, जसको केन्द्रबिन्दु ह्वाइटहर्सबाट करिब २५० किलोमिटर पश्चिममा थियो । अमेरिकी भूगर्भ सर्वेक्षणका विज्ञहरूका अनुसार भूकम्प करिब १० किलोमिटर गहिराइमा गएको थियो ।

मुख्य भूकम्पपछि तीन घण्टाभित्र कम्तीमा ३३ वटा पराकम्पन आएको महसुस गरिएको छ, जसमा सबैभन्दा ठूलो ५।१ म्याग्निच्युड मापन गरिएको थियो ।

क्षतिको तत्काल कुनै रिपोर्ट आइसकेको छैन । यद्यपि ह्वाइटहर्सका धेरै बासिन्दाले सामाजिक सञ्जालमा भूकम्पले हल्लिएको अनुभूति भएको बताएका छन् ।

शनिबारको यो भूकम्प पछिल्ला ७९ वर्षयता क्यानडाको भूमिमा गएको सबैभन्दा ठूलो भूकम्प हो । यसअघि क्यानडामा ७ वा सोभन्दा ठूला म्याग्निच्युडको भूकम्प १९४६ मा भ्यान्कुभर आइल्याण्डमा मापन गरिएको थियो ।

क्यानडामा हालसम्मकै सबैभन्दा ठूलो भूकम्प सन् १७०० को जनवरीमा मापन भएको थियो । त्यतिबेला ९ म्याग्निच्युड मापन भएको भूकम्पको केन्द्रविन्दु ब्रिटिस कोलम्बियाको समुद्रतट बाहिर थियो ।

शनिबारको भूकम्प उच्च भूकम्पीय जोखिम भएको क्षेत्रमा गएको हो, जसलाई अर्थक्वेक्स क्यानडाले २०१५ मा गरेको विश्लेषणले पनि पुष्टि गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति