धादिङ धुनीवेशी दुर्घटनाका २ जनाको मृत्यु

काठमाडौं २१ मंसिर । धादिङको चालिसेमा शनिबार अपराह्न सवा ४ बजे भयानक सवारी दुर्घटना परेका दुई जनाको निधन भएको छ । पृथ्वी राजमार्गको धुनीवेशी–६ मा एकैपटक सातवटा सवारी साधन एकअर्कामाथि चढेर थुप्रिएपछि दुई जनाको ज्यान गएको छ भने ३५ जना गम्भीर घाइते भएका छन्।
दुर्घटनाको मुख्य कारण काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको एनएल ०१ एबी ४६५४ नम्बरको डिब्बा कन्टेनरको ब्रेक फेल हुनु रहेको प्रहरीले जनाएको छ। ब्रेक फेल भएपछि कन्टेनरले पहिला बा.प्र.००१ क ००११ नम्बरको स्कुल बसलाई जोडदार ठक्कर दियो। त्यसपछि सोही दिशामा गुडिरहेको लु ९५ प ३०७ नम्बरको मोटरसाइकल, ना ४ ख ७१५ नम्बरको ट्रक र जिजे ०३ एके ३२३१ नम्बरको बसलाई पनि हान्यो।
विपरीत दिशाबाट आउँदै गरेको ग १ ख ८५५१ नम्बरको यात्रुवाहक बस र बा १ प ९१७ नम्बरको पर्यटकीय बस पनि ठोक्किँदा सातवटै सवारी एकै ठाउँमा थुप्रिएका थिए।
यही दुर्घटनामा मोटरसाइकल चालक धादिङकै ५९ वर्षीय सेख अली मियाँ र अर्का एक अज्ञात पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी प्रकाश दाहालले पुष्टि गरे। घाइते ३५ जनाको अवस्था अझै गम्भीर छ भने बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। केहीलाई सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ।
दुर्घटनापछि पृथ्वी राजमार्ग केही घण्टा पूरै ठप्प भएको थियो। अहिले एकतर्फी मात्र सवारी सञ्चालनमा आएको छ। प्रहरीले दुर्घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति