एमाले ‘व्यवस्थित भिजन’ सार्वजनिक : राष्ट्रियता, सुशासन र स्थायित्वमार्फत समृद्ध नेपाल बनाउने अध्यक्ष ओलीको प्रतिबद्धता

काठमाडौं । बदलिँदो वैश्विक परिवेश र तीव्र प्रतिस्पर्धाको यो समयमा नेपालले दीर्घकालीन दिशा–निर्देश पाउनुपर्ने आवश्यकतामा जोड दिँदै नेकपा (एमाले) ले आफ्नो ‘व्यवस्थित भिजन’ सार्वजनिक गरेको छ। पार्टीले राष्ट्रको विकास, स्वाभिमान र स्थायित्वलाई केन्द्रमा राख्दै आगामी दशकका लागि मुलुक निर्माणको स्पष्ट खाका प्रस्तुत गरेको हो।

एबीसी टेलिभिजनका प्रधानसम्पादक शुभशंकर कंडले संग आउटलुक कार्यक्रममा एमालेको यो भिजन प्रस्तुत गर्दै अध्यक्ष केपी शर्मा ओली ले नेपाल अब पुरानै शैली र धैर्यतामा अडिएर अघि बढ्न नसक्ने बताए। विश्वको राजनीतिक–आर्थिक संरचना बदलिँदै गएको र प्रविधिक क्रान्तिले अवसर तथा चुनौती दुवै सिर्जना गरेको उल्लेख गर्दै उनले भने, “विश्व जहाँ पुगेको छ, त्यहीअनुसार नेपाललाई पनि अगाडि बढाउनु हाम्रो कर्तव्य हो। हामी पछाडि बस्ने राष्ट्र होइन, प्रतिस्पर्धा गर्दै अघि बढ्ने देश बनिनुपर्छ।”

राष्ट्रियता : एमाले भिजनको पहिलो आधार

ओलीका अनुसार एमालेलाई सबैभन्दा पहिला नेपालको राष्ट्रहित र स्वाभिमान सर्वोच्च लाग्छ। भिजनमा राष्ट्रियताको पहरेदारी, राष्ट्रिय निर्णयमा स्वाधीनता र बाह्य हस्तक्षेपविरुद्ध दृढता मुख्य आधारका रूपमा प्रस्तुत गरिएको छ। ओलीले स्पष्ट शब्दमा भने, “हामी कुनै दबाबको राजनीति गर्दैनौँ, न कसैको इसारामा देश चलाउँछौँ। नेपाललाई बलियो, आत्मविश्वासी र स्वाभिमानी राष्ट्र बनाउनु नै हाम्रो लक्ष्य हो।”

उनका अनुसार राष्ट्रिय स्वाधीनता सुनिश्चित नगरेसम्म आर्थिक समृद्धि सम्भव हुँदैन। त्यसैले सिमाना, कूटनीति, राष्ट्रिय स्रोत–साधन तथा रणनीतिक क्षेत्रको संरक्षण एमाले नीति–निर्देशनको मूल तत्व हुने जनाइएको छ।

सुशासन र पारदर्शितामार्फत विकासको गति

एमालेले प्रस्तुत गरेको अर्को प्रमुख स्तम्भ सुशासन हो। भ्रष्टाचारमुक्त, दण्डहीनतामुक्त र पारदर्शी शासन व्यवस्थामार्फत समाजमा विश्वास पुनःस्थापित गर्न आवश्यक रहेको ओलीले बताए।
उनले जोड दिए, “सुशासन बिना विकास सम्भव छैन। कसैले गलत गरे सजाय हुन्छ भन्ने अवस्था नआएसम्म देशलाई छिटो अघि बढाउन सम्भव हुँदैन।”

भिजनले सेवा प्रवाहलाई डिजिटल बनाउने, आर्थिक कारोबारलाई पारदर्शी राख्ने, कानून कार्यान्वयनमा कठोरता अपनाउने तथा नागरिकलाई राज्यसँग सीधा पहुँच दिने कार्यक्रम समेटेको छ।

स्थायित्व : समृद्धिको पूर्वशर्त

ओलीले नेपालको राजनीतिक अस्थिरताले विकासका सम्भावनालाई बारम्बार थिचेको उल्लेख गर्दै राजनीतिक स्थिरता स्थापित गर्नु अहिलेको सबैभन्दा ठूलो राष्ट्रिय कार्यसूची भएको बताए।
उनका शब्दमा, “स्थायित्व बिना देशले गति लिन सक्दैन। सरकार बारम्बार बदलिने अवस्था अन्त्य गरेर दीर्घकालीन रूपले काम गर्ने वातावरण बनाउनैपर्छ।”

उनले एमालेलाई स्थिर सरकार, स्पष्ट नीति र दीर्घकालीन योजनाका लागि सक्षम पार्टीका रूपमा अघि सारे।

समृद्धिशील नेपालको चित्र

एमालेले आफ्नो व्यवस्थित भिजनमा आधुनिक आर्थिक मोडेल, उद्योग–व्यापार विस्तार, रोजगार सिर्जना, पूर्वाधारमा तीव्र लगानी, ऊर्जा उत्पादनमा क्रान्तिकारी वृद्धि, कृषि आधुनिकीकरण, पर्यटनको पुनर्जागरण, तथा प्रविधिमा आधारित विकासलाई मूल लक्ष्यका रूपमा राखेको छ।
ओलीले भने, “‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई जनताले बोल्ने मात्र होइन, महसुस गर्न पाउने समय अब टाढा छैन। यो सपना पूरा गर्न हामीसँग स्पष्ट योजना र दृढ इच्छाशक्ति दुवै छ।” एमालेले प्रस्तुत गरेको यो ‘व्यवस्थित भिजन’ ले राष्ट्रियता, सुशासन र राजनीतिक स्थायित्वलाई समेटेर आगामी वर्षहरूमा नेपालको विकास दिशालाई स्पष्ट बनाउने दाबी गरेको छ। अध्यक्ष ओलीले पार्टीको यो प्रतिवद्धता कार्यान्वयन भएमा नेपाल छिट्टै स्थिर, सम्पन्न र प्रतिष्ठित राष्ट्रका रूपमा उभिन सक्ने विश्वास व्यक्त गरे।

अन्र्तवार्ता भोली बुधवार साझ ९ बजे एबीसी टेलिभिजन र टेलिभिजनको यूटुव र फेसबुकबाट प्रशारण गरिने छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति