काठमाडौं, १२ मंसिर। राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं सिंहदरबार पुगेका छन् ।गृहमन्त्री ओमप्रकाश अर्यालसँग वार्ता गर्न प्रसाईं सिंहदरबारस्थित गृहमन्त्रालय पुगेका हुन् । उनको समूहले यसअघि सरकारसँग दुई चरणमा वार्ता गरिसकेको छ ।प्रसाईं नेतृत्वको अभियानले विभिन्न २७ बुँदे माग राखी ७ मंसिरबाट अनिश्चितकालीन आन्दोलन घोषणा गरेको थियो । ६ मंसिरमा सरकारले अभियानसँग वार्ता गरेको थियो । सो वार्तापछि अभियानले १५ दिनका लागि आन्दोलन स्थगित गरेको थियो ।१५ दिनभित्र सरकारले माग सम्बोधन गर्ने बताएपछि आफूहरूले आन्दोलन स्थगित गरेको आन्दोलनका नेताहरूको भनाइ थियो । अभियानले त्यसबेला सरकारसँग वार्ता गर्दा संयोजक प्रसाईं भने थुनामा थिए ।सार्वजनिक शान्तिमा खलल पुर्याएको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । पछि, अदालतको आदेशमा उनी धरौटीमा रिहा भए ।त्यसपछि सरकारसँगको वार्ताका लागि प्रसाईं आफ्नो अभियानको नेतृत्व गदैृ सिंहदरबार पुगेका हुन् । सरकार र प्रसाईंबीच वार्ताका लागि अधिवक्ताद्वय विनोदमणि भट्टराई र लबन न्यौपानेले सहजीकरण गरिरहेका छन् ।
गृहमन्त्रीसँग वार्ता गर्न दुर्गा प्रसाईं सिंहदरबारमा
प्रतिक्रिया