राष्ट्रपति ट्रम्प एक आर्थिक लोकप्रियतावादी जस्तै कुरा गर्छन्, जो सधैं उपभोक्ताहरू, साना व्यवसायका मालिकहरू र विशेष गरी मजदुरहरूलाई मद्दत गर्ने वाचा गरिरहन्छन्। उनले आफ्नो प्रशासनलाई उपराष्ट्रपति र श्रम मन्त्री सहित लोकप्रियतावादी रिपब्लिकनहरूले भरेका छन्। यस वर्षको ‘लेबर डे'(मजदुर दिवस) मनाउन उनले आफूलाई ‘अमेरिकी कामदारको च्याम्पियन’ घोषणा गरे।
तर आफ्नो दोस्रो कार्यकालमा, पहिलो कार्यकालमा जस्तै, ट्रम्प ती सबै वाचाहरू पूरा गर्न असफल भइरहेका छन्।
ट्रम्प प्रशासनले कर्पोरेसनहरूलाई निगरानी गर्ने र कामदार तथा उपभोक्ताहरूको सुरक्षा गर्ने संघीय निकायहरूलाई ध्वस्त पारिरहेको छ। कर्पोरेसनहरूलाई ठूलो कर छुट दिए पनि, यसले युनियनहरू (मजदुर संगठन) लाई कमजोर बनाउन र कामदारहरूलाई कानुनी सुरक्षाबाट बञ्चित गर्न खोजिरहेको छ। र ट्रम्पको नेतृत्वमा, यो प्रमाण बढ्दै छ कि सरकारले आफ्नो ‘एकाधिकार विरोधी’ अधिकार—जो कर्पोरेट शक्तिको ज्यादती जाँच गर्ने सबैभन्दा महत्त्वपूर्ण अस्त्र हो—त्यसलाई निन्दनीय रूपमा आफ्ना शत्रुहरूलाई दण्ड दिन, आफन्तहरुलाई पुरस्कृत गर्न र ट्रम्पको राजनीतिक अधिकारलाई सुदृढ पार्ने माध्यमको रूपमा प्रयोग गरिरहेको छ।
एकाधिकार विरोधी अधिकारको यो दुरुपयोग विशेष गरी निराशाजनक र चिन्ताजनक छ। उपराष्ट्रपति जेडी भान्स लगायत ट्रम्पका नजिकका मानिसहरूले संकेत गरेका थिए कि उनीहरू फरक खालका रिपब्लिकन हुन्—जसले अत्यधिक शक्तिशाली कर्पोरेसनहरूको खतरा पहिचान गरेका थिए। उनीहरूले कामदार र उपभोक्ताहरूको सुरक्षाको नाममा मर्जर (विलय) र कर्पोरेट दिग्गजहरू माथि बाइडेन प्रशासनको बेलाई बढाइएको निगरानीलाई निरन्तरता दिन सक्ने सुझाव दिएका थिए। यसको सट्टा, ट्रम्प प्रशासनले आफ्नो एकाधिकार विरोधी शक्तिहरू मुख्यतया ट्रम्पको रक्षा गर्न प्रयोग गरिरहेको छ।
भर्खरै सम्पन्न भएको र अझै प्रक्रियामा रहेको दुई मिडिया मर्जर (गाभिने प्रक्रिया) लाई विचार गर्नुहोस्।
मिडिया समूह प्यारामाउन्ट र चलचित्र स्टुडियो स्काईडान्स बीचको विवाह (विलय) सरकारले सामान्यतया रोक्न खोज्ने खालको सम्झौता होइन। नयाँ बन्ने कम्पनी ठूलो माछा त हो, तर यस्तो पोखरीमा जहाँ यसले अमेजन र डिज्नी जस्ता अन्य धेरै ठूला माछाहरूसँग प्रतिस्पर्धा गर्नेछ। तैपनि, ट्रम्पका एफ.सी.सी अध्यक्ष ब्रेन्डन कारले यो सम्झौतालाई विशेष छानबिन आवश्यक रहेको निर्णय गरे।
एजेन्सीले स्वीकृति दिनु अघि, कम्पनीलाई यसको सीबीएस न्युज डिभिजनको लागि ‘पूर्वाग्रह निरिक्षक’ नियुक्त गर्न र विविधता, समानता र समावेशिता कार्यक्रमहरू त्याग्न बाध्य पार्यो। प्यारामाउन्टले ट्रम्पलाई व्यक्तिगत रूपमा झण्डै दुई करोड भन्दा बढी डलर (१६ मिलियन) तिर्यो, जुन उनले २०२४ को उम्मेदवारीको कभरेजमा सीबीएस न्युज पूर्वाग्रही भएको आरोप लगाउँदै दायर गरेको मुद्दा मिलाउनका लागि थियो। साथै, कम्पनीले हाँस्य कलाकार स्टिफन कोलबर्ट—जो ट्रम्पमाथि मानिसहरूलाई हँसाउन सक्ने क्षमताका लागि परिचित छन्—को शो अन्त्य गर्ने घोषणा गर्यो। नेटवर्कले शोमा आर्थिक चुनौतीहरू रहेको बतायो।
यी मध्ये कुनै पनि सार्वजनिक हितको नियमन थिएन। यो विविधता पहलहरू विरुद्धको रिपब्लिकन अभियान र मिडिया कम्पनीहरूलाई आफ्नो पक्षमा कभरेज गर्न दबाब दिने ट्रम्पको अभियानको मिश्रण थियो। हामी एफसीसी बोर्डकी एकमात्र डेमोक्र्याट अन्ना एम. गोमेजसँग सहमत छौं, जसले एजेन्सीको आलोचना गर्दै भनिन् – यसले ‘समाचार कक्षका निर्णयहरू र सम्पादकीय निर्णयहरूमा पहिले कहिल्यै नदेखिएका नियन्त्रणहरू थोपरिरहेको छ, जुन पहिलो संशोधन र कानूनको प्रत्यक्ष उल्लङ्घन हो।’
यता प्यारामाउन्टलाई दबाब दिइरहँदा, एफ.सी.सी अर्को यस्तो मिडिया मर्जरको बाटो खाली गर्न काम गरिरहेको छ जसले कर्पोरेट शक्तिको केन्द्रीकरणको बारेमा चिन्ता बढाउनुपर्ने थियो। स्थानीय टेलिभिजन स्टेशनहरूको ठूलो मालिक नेक्सस्टार ले धेरै स्टेशनहरूको अर्को मालिक टेग्ना लाई प्राप्त गर्न स्वीकृति खोजिरहेको छ। एजेन्सीको नियम अनुसार, कम्पनीहरूलाई संयुक्त रूपमा ३९ प्रतिशतभन्दा बढी अमेरिकी घरपरिवारमा पहुँच पुग्ने स्टेशनहरू स्वामित्व राख्न अनुमति छैन। नेक्सस्टार र टेग्नाको संयोजनले त्यो सीमालाई तोड्दै ८० प्रतिशत घरधुरीमा पुग्नेछ। तर मिस्टर कार ती प्रतिबन्धहरू हटाउन अघि बढिरहेका छन्, जसलाई उनले ‘रहस्यमय, कृत्रिम सीमाहरू’ भनेर वर्णन गरेका छन्। जून महिनामा, एजेन्सीले यो सीमा बढाउन वा हटाउन सार्वजनिक टिप्पणी माग गर्यो, जुन नियम पुनर्लेखन गर्ने पहिलो कदम हो।
धेरै टिभी स्टेशनहरू भएको कम्पनीले विज्ञापनका लागि सजिलै उच्च मूल्य लिन सक्छ, र उदाहरणका लागि, मौसमविद्हरूको तलब बढाउन लिलामी बढाबढ गर्ने प्रतिस्पर्धीहरू कम हुन्छन्। सरकारले लामो समयदेखि टेलिभिजन स्टेशनहरूको स्वामित्वमा विशेष सीमाहरू लगाएको छ ताकि कुनै पनि कम्पनीले अमेरिकीहरूले आफ्नो टिभीमा के देख्छन् भन्ने कुरामा अत्यधिक शक्ति प्रयोग गर्न नसकोस्। यद्यपि, नेक्सस्टार एक रूढिवादी कम्पनी हो जसले आफूलाई प्रशासनको राजनीतिक लक्ष्यहरूसँग जोडेको छ। सेप्टेम्बरमा, मिस्टर कारले डिज्नीलाई जिम्मी किमेल—एबीसीमा ‘लेट–नाइट शो’ चलाउने अर्का हास्य कलाकार जसले राष्ट्रपति ट्रम्प र उनका सहयोगीहरूको आलोचना गरेका थिए—उनलाई निलम्बन गर्न दबाब दिन कम्पनीले खेलेको भूमिकामा खुशी मनाए ।
यस्तो प्रकारको मिडिया केन्द्रीकरणको विरोध गर्न अमेरिकीहरूका लागि अर्को मिहिन कारण पनि छ। विगतको शताब्दीको तीतो पाठहरूमध्ये एउटा के हो भने अधिनायकवादी शासनहरूले प्रायः राजनीतिक शक्ति सुदृढ गर्न कर्पोरेट शक्तिको केन्द्रीकरणमा भर परेका छन्। मिडिया स्वामित्वको केन्द्रीकरणले सरकारलाई अझ शक्तिशाली बनाउँछ, किनकि स्वतन्त्र रूपमा स्वामित्व भएका धेरै स्टेशनहरूको खण्डित समूहभन्दा केही ठूला कम्पनीहरूलाई दबाब दिन सजिलो हुन्छ। जब राष्ट्रपतिले मिडियालाई विभिन्न तरिकामा तर्साउन खोजिरहेका हुन्छन्, यो सम्भावना केवल सैद्धान्तिक मात्र रहँदैन।
मिडिया बाहेक, ट्रम्प प्रशासनले कर्पोरेट शक्तिलाई नियन्त्रण गर्न खासै चासो देखाएको छैन। प्रशासन सुरुमा यस्तो देखिन्थ्यो कि यसले बाइडेन प्रशासनको एकाधिकार विरोधी प्रवर्तनलाई पुनर्जीवित गर्ने प्रयासहरू जारी राख्न सक्छ। राष्ट्रपति ट्रम्पले न्याय मन्त्रालयको ‘एन्टिट्रस्ट डिभिजन’को नेतृत्व गर्न रोजेकी गेल स्लेटरले विगतका रिपब्लिकन प्रशासनहरूको ‘लेसेज–फेयर’ (हस्तक्षेपमुक्त) नीतिहरूलाई सार्वजनिक रूपमा अस्वीकार गरेकी थिइन्। उनले सरकारले प्रतिस्पर्धी बजारहरू कायम राख्न एकाधिकार विरोधी कानूनहरू लागू गर्नुपर्छ भनी सही तर्क गरिन्। ‘कसैले पनि एकाधिकार र कार्टेलहरूलाई स्व–सुधारको गलत आर्थिक सिद्धान्तहरूद्वारा हटाउन सक्दैन,’ उनले अप्रिलमा भनेकी थिइन्।
केही मामिलाहरूमा, ट्रम्प प्रशासनले ती सिद्धान्तहरूमा काम गरेको छ। यसले २०२३ मा बाइडेन प्रशासनले जारी गरेको प्रस्तावित मर्जरहरूको मूल्याङ्कनका लागि कडा दिशानिर्देशहरू कायम राखेको छ। न्याय मन्त्रालयले रियलपेज विरुद्ध एकाधिकार विरोधी मुद्दालाई निरन्तरता दियो । यो टेक्सासको कम्पनीमाथि घर मालिकहरूलाई देशभरका लाखौं अपार्टमेन्टहरूको मूल्य तय गर्न आफ्नो सफ्टवेयर प्रयोग गर्न लगाएर ‘ल्यान्डलोर्ड कार्टेल’ (घरबेटीहरूको सिन्डिकेट) चलाएको आरोप थियो। सोमबार, स्लेटरले एक सम्झौता घोषणा गरिन् जसले रियलपेजलाई आफ्नो व्यापार मोडेल परिवर्तन गर्न बाध्य पार्छ। विभागले गुगल विरुद्धको एकाधिकार विरोधी मुद्दालाई पनि अगाडि बढायो, कम्पनीलाई आफ्नो वेब ब्राउजर बेच्न बाध्य पारिनुपर्छ भन्ने तर्क गर्दै। (सेप्टेम्बरमा संघीय न्यायाधीशले अधिक सामान्य उपचारहरू लागू गर्ने निर्णय गर्नुले यो सम्झायो कि ह्वाइट हाउसमा जो भए पनि अदालतहरू एकाधिकार विरोधी प्रवर्तनमा बाधक नै रहन्छन्।)
तर ट्रम्पको रेकर्ड धेरैजसो निराशाजनक छ। जुलाईमा, न्याय मन्त्रालयले टेक्नोलोजी कम्पनी ह्युलेट प्याकार्ड इन्टरप्राइज लाई यसको मुख्य प्रतिद्वन्द्वी जुनिपर नेटवर्क्स लाई प्राप्त गर्न अनुमति दिने विभागको निर्णयमा आपत्ति जनाएपछि स्लेटरका दुई शीर्ष सहायकहरूलाई बर्खास्त गर्यो। ह्युलेट प्याकार्डले राष्ट्रपति ट्रम्पसँग नजिकको सम्बन्ध भएका धेरै लबिस्टहरूलाई काममा राखेको थियो, जसले विभागका एकाधिकार विरोधी वकिलहरूलाई बाइपास गर्दै महान्यायाधिवक्ता पाम बोन्डीका सहयोगीहरूसँग वार्ता गरे।
नियामकहरूले कामदार र साना व्यवसायहरूलाई जोगाउने प्रयासहरूलाई पनि पन्छाएका छन्।
राष्ट्रपति जो बाइडेनको नेतृत्वमा, एफ.टीसी. ले ‘नन् –कम्पिट क्लज'(गैर–प्रतिस्पर्धा सम्झौता) लाई प्रतिबन्ध लगाउने नियम जारी गरेको थियो, जसलाई रोजगारदाताहरूले कामदारहरूलाई राम्रो तलब दिने जागिरमा जानबाट रोक्न प्रयोग गर्छन्। यसले ज्याला दबाउने असर गर्छ। पहिले केवल कार्यकारीहरू वा विशेष गरी बहुमूल्य कामदारहरूको सम्झौतामा मात्र पाइने यी बुँदाहरू अब कपाल काट्ने वा फास्ट फूड जस्ता उद्योगहरूमा कम ज्यालाका कामदारहरूमा पनि नियमित रूपमा थोपरिने गरिन्छ। व्यवसायहरूले अदालतमा एजेन्सीलाई चुनौती दिएका थिए, र सेप्टेम्बरमा, एफटीसी ले बताए अनुसार यसले गैर–प्रतिस्पर्धा प्रतिबन्धको रक्षा गर्ने प्रयासहरू छोड्नेछ।
जनवरी २०२५ मा, बाइडेन प्रशासनको एकाधिकार विरोधी प्रवर्तनको अन्तिम कार्यहरू मध्ये एकमा, एफटीसी ले पेप्सी विरुद्ध मुद्दा दायर गर्यो। वालमार्टलाई साना किराना पसलहरू भन्दा राम्रो सम्झौताहरू प्रस्ताव गरेर पेप्सीले साना फर्महरूलाई प्रतिस्पर्धी बेफाइदामा पारेको तर्क गरियो। यो मुद्दा, र केही हप्ता अघि रक्सी वितरक विरुद्धको अर्को कारबाही, रबिन्सन–प्याटम्यान ऐन लाई पुनर्जीवित गर्ने प्रयासको हिस्सा थिए। १९३० को दशकमा ठूला फर्महरू द्वारा हुने अनुचित प्रतिस्पर्धाबाट साना व्यवसायहरूलाई जोगाउन लेखिएको यो कानून लगभग एक चौथाई शताब्दीदेखि प्रयोग गरिएको थिएन।
यस वसन्तमा, एफ.टीसी ले पेप्सी मुद्दा खारेज गर्यो।
कंग्रेसले निजी शक्ति यति केन्द्रित नहोस् कि यसले सार्वजनिक हितलाई खतरामा पारोस् भनेर सुनिश्चित गर्न राष्ट्रको एकाधिकार विरोधी कानूनहरू बनाएको थियो। सरकारले शक्तिशालीहरूका विरुद्ध जनताको पक्ष लियो। राष्ट्रको पहिलो प्रमुख एकाधिकार विरोधी कानूनका लेखक र नामदाता सिनेटर जोन शर्मनका शब्दहरूमा, ‘यदि हामी राजनीतिक शक्तिको रूपमा राजालाई सहने छैनौं भने, हामीले जीवनका आवश्यकताहरूको उत्पादन, ढुवानी र बिक्रीमा पनि राजा सहनु हुँदैन।’
पपुलिस्ट बयानबाजीको आवरणमा, राष्ट्रपति ट्रम्प राष्ट्रका ती सिद्धान्तहरूप्रति लामो समयदेखिको प्रतिबद्धतालाई अवमूल्यन गर्दैछन्। उनको हातमा, आर्थिक र राजनीतिक शक्तिको केन्द्रीकरणलाई सीमित गर्न बनाइएका कानूनहरू यसको केन्द्रीकरणलाई अझ बढावा दिन प्रयोग भइरहेका छन्। यो प्रशासन जनताको हितमा शासन गरिरहेको छैन। यो राष्ट्रपति ट्रम्पको हितमा काम गरिरहेको छ।
न्यूयोर्क टाइम्सको सम्पादकीय, २५ नोभेम्बर, २०२५
(सम्पादकीय बोर्ड विचार पत्रकारहरूको एक समूह हो जसका दृष्टिकोणहरू विशेषज्ञता, अनुसन्धान, बहस र निश्चित दीर्घकालीन मूल्य मान्यताहरूद्वारा सूचित हुन्छन्। यो समाचार कक्ष भन्दा फरक हुन्छ।)
प्रतिक्रिया