ओलीको दुर्गा प्रेमः प्रधानमन्त्रीलाई सोधे प्रसाईंले निकालेको क्यासेट के हो ?

‘कस्ता–कस्ता मान्छे यस देशमा प्रधानन्यायाधीश भएछन्’ ?

काठमाडौं ६ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीलाई लक्षित गर्दै दुर्गा प्रसाईंले सार्वजनिक गरेको अडियो क्यासेटको छिनोफानो गर्न सरकारसँग माग गरेका छन्।

शनिबार काठमाडौँमा आयोजित जनप्रदर्शनलाई सम्बोधन गर्दै ओलीले भने, ‘दुर्गा प्रसाईं अरु के हुन्, म जान्दिनँ। तर उनले निकालेको क्यासेटबारे सरकारले नेपाली जनतालाई बताउनुपर्छ। प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्छ( त्यो क्यासेट के हो ?’

ओलीले अडियोमार्फत सुनिएको आवाज प्रधानमन्त्री सुशीला कार्कीकै भएको दाबी गर्दै त्यसले गम्भीर प्रश्न उठाएको बताए। उनका अनुसार अडियोमा, ‘हेलिकप्टर उडेपछि सेनाले नेताहरूलाई बचायो, किन बचाउनेरु’ भन्ने आवाज पूर्वप्रधानन्यायाधीश तथा हालकी प्रधानमन्त्री कार्कीको हो।

ओलीले भने, ‘देशको प्रधानमन्त्रीको कुर्सीमा बसेर यस्ता कुरा किन बाहिर आयो भनेर मान्छे गिरफ्तार गर्ने होइन, त्यो क्यासेटको छिनोफानो हुनुपर्‍यो। देश जलेको बेला कहाँ बस्दै हुनुहुन्थ्यो ? तपाईं नेताहरू किन बचाउने भन्दै हुनुहुन्थ्यो– त्यो त मान्छे मराउन दिनुपर्ने जस्तो अभिव्यक्ति हो।’

ओलीले कार्कीलाई कठोर शब्दमा आलोचना गर्दै भने, ‘कस्ता–कस्ता मान्छे यस देशमा प्रधानन्यायाधीश भएछन्। ‘किन बचाउने ?’ भन्ने नेतामाथि प्रधानमन्त्रीको जिम्मेवारी आएको छ– कठै देशको हालत।’

उनले प्रधानमन्त्री कार्कीलाई क्यासेटबारे सार्वजनिक रूपमा जवाफ दिन माग गर्दै भने, ‘त्यही मान्छे आज प्रधानमन्त्री बन्नुभएको छ। यसको जवाफ दिनुपर्छ, त्यो क्यासेट के हो– जनतालाई बताइदिनुपर्छ।’
तत्कालीन समयमा कार्कीलाई प्रधानन्यायधिश बनाउनु पर्ने पक्षमा उभिएका नेता यिनै ओली हुन् ।

एमालेलाई नजिस्क्याउनुस्, तपाईंहरूका लागि हितकर हुँदैन

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई नजिस्क्याउन चेतावनी दिएका छन्। 

शनिबार एमालेको बागमती प्रदेश कमिटीले भृकुटीमण्डपमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई उत्तेजित पार्न र नजिस्क्याउन चेतावनी दिएका हुन्। 

‘एमालेलाई उत्तेजित बनाउने जिस्क्याउने काम नगर्नुस्। लोकतन्त्रलाई यो भन्दा बढी आक्रमण गर्न सकिन्छ भनेर भ्रम नपाल्नुस्। योभन्दा बढी अगाढि बढ्छु भन्ने ठान्नुहुन्छ भने तपाईंहरूका लागि पनि हितकर हुने छैन,’ उनले भने। 

अध्यक्ष ओलीले अहिलेको सरकारको उत्पत्ति नै असंवैधानिक बाटोबाट भएकाले एमाले पुनः संवैधानिक तवरले सरकार गठन गर्नतिर लागेको बताए।

उनले लोकतान्त्रिक बाटोमा फर्कन सरकारलाई आग्रह गर्दै त्यसको पहलका लागि सम्पूर्ण दलहरूलाई पनि अपिल गरे।

अहिलेको सरकार गठन प्रक्रियालाई अदालतले पनि उचित ठहर गर्न नसक्ने उनको भनाइ थियो।

संसद पुनर्स्थापनापछि सर्वपक्षीय सरकार बनाउने पनि उनले बताए। 

सरकार र दल तयार नभए जनता अगाडि बढ्ने बताउँदै ओलीले  एमाले लोकतन्त्रप्रति प्रतिबद्ध रहेको बताए। 

‘लोकतन्त्र फर्काउने बाटोमा आउनुस्। नभए जनताले गर्नेछन्। त्यसको अगुवाइ एमालेले गर्छ। अहिले देखा परेका बाघ कागजको बाघ। कागजको बाघले तर्साउन नखोजे हुन्छ,’ उनले भने।

उनले सरकाले भदौ २४ गतेको घटनालाई महिमामण्डन गरेको पनि ओलीले बताए। 

‘तपाईं प्रधानमन्त्री बनेको हुनाले देशभरिको आगजनी सहि हुन्छ? क्रान्ति हुन्छ? सहि हुन्छ? यस्तो विध्‍वंशको महिमामण्डन गर्दै हुनुहुन्छ, आफू सरकारमा छु भन्दैमा,’ प्रधानमन्त्री सुशीला कार्कीलाई लक्ष्य गर्दै ओलीले भने, ‘तपाई प्रधानमन्त्री हुनुभयो भन्दैमा आगजनी, तोडफोड, आतंकलाई महिमामण्डन गर्न सकिँदैन।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति