ओली–पोखरेल प्रतिस्पर्धा शुरुः ओली नछोड्ने, पोखरेलन नमान्ने घोषणा

काठमाडौं। ५ मंसिर । नेकपा एमालेको आसन्न एघारौँ महाधिवेशनमा अध्यक्षपदमा केपी शर्मा ओलीलाई बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले चुनौति दिने घोषणा गरेका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा पोखरेलले आफू अध्यक्षमा उठ्ने तयर िगरेको औपचारिक घोषणा गरेका हुन् ।

यसअघि सञ्चारमाध्यममार्फत अध्यक्ष पदमा उठ्न सक्ने संकेत गर्र्दै आएका पोखरेलले पहिलो पटक पार्टी बैठकमा मुख खोलेका हुन्। जबाफमा ओलीले आफू पुनः अध्यक्षमा दोहिन चाहेको समेत औपचारिक रुपले नै बैठकमा राख्दै पोखरेललाई सहयोग गर्न आग्रह गरेका थिए ।

बैठकमा वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टी आन्दोलन संकटापन्न अवस्थामा पुगेको, नेतृत्वको अभिव्यक्ति, कार्यशैलीका कारण संकट गहिरिँदै गएकाले यसको निकास दिने गरी आफूले प्रतिस्पर्धा गर्न चाहेको बताए।

‘यो जटिल परिस्थिती, यो गम्भीर परिस्थिती, यो संकटमा नयाँ ढंगले पार्टीलाई पुनर्गठन गरेर जानुपर्छ भनेर राख्दै आएका हौँ हामीले’ ती पदाधिकारीले नेपालखबरसँग भने, ‘खाली नेतृत्वको सवालमा त्यति छलफल भएको थिएन। आज अध्यक्ष (ओलीले पनि म छोड्दिन, म उठ्छु भन्नुभयो। ईश्वर कमरेडले पनि म पनि उठ्ने तयारीमा छु भन्नुभयो।’

पोखरेलले अध्यक्षमा उठ्ने चाहना व्यक्त गरेपछि ओलीले भने सकभर मिलेर र एकमना एकताका साथ जान आग्रह गरेका थिए। तर, पोखरेल पछि नहट्ने अडान राखेपछि ओलीले भने स्वस्थ प्रतिस्पर्धा हुने बताएर चुनवाको नतिजा ध्यान दिन चेतावनी दिएको बताइएको छ ।

‘अध्यक्षले भरसक मिलेर जाउँ न। एकमना एकताका साथ जाउँ भन्नुभयो। मलाई साथ दिनुस् भन्ने ढंगले कुरा गर्नुभयो’ ती पदाधिकारी भन्छन्, ‘पोखरेलले होईन म उठ्ने मनस्थितिमा छु। मैले तयारी गरेको छु, म उठ्छु भन्नुभयो। त्यसो भए स्वस्थ प्रतिस्पर्धा गरेर जाउँ न त भन्ने कुरा भए।’

बैठकमा पोखरेलले मुख खोलेपछि अन्य केही पदाधिकारीले समेत समर्थन गरेका थिए। पार्टीका पूर्वउपाध्यक्ष एवम् पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा पोखरेल प्यानलै लिएर ओलीसँग प्रतिस्पर्धा गर्ने तयारीमा छन्।

ती पदाधिकारी भन्छन्, ‘अब औपचारिक रुपमा ईश्वर कमरेडको बैठकमै प्रवेश भएपछि त सजिलो भयो नि त। अस्तिसम्म बाहिर बाहिर अलि अलि के हो के हो भन्ने कुरा। आज चाहिँ प्रष्टाप्रष्टी भयो। हामी बस्दैछौँ। छलफल गरेपछि प्यानलको कुरा पनि आइहाल्छ। सबै मूल्यांकन गर्छौं, राम्रै हुन्छ होला।’

बैठकमा आठ घण्टा लामो बैठक सकिएपछि निर्णयहरू सुनाउने क्रममा उपमहासचिव प्रदीप ज्ञवालीले पनि स्वस्थ प्रतिस्पर्धालाई स्वीकारेर जानेबारे छलफल भएको बताए । ‘एकताको महाधिवशनका रुपमा लैजाऔं भन्नुभएको छ ९ओलीले० । एकताबद्ध भएर अगाडि बढ्ने कुरामा नै सबैको कल्याण छ । आम पार्टीपंक्तिले चाहेको, कार्यकर्ताले चाहेको, देशले पनि चाहेको त्यही हो,’ ज्ञवालीले भने, ‘त्यति हुँदाहुँदै पनि कसैले प्रतिस्पर्धा गर्नुहुन्छ भने त्यसलाई स्वस्थ प्रतिस्पधा गर्न सकिन्छ भन्ने कुरा बैठकमा छलफल भएको छ ।’

‘परिस्थितिलाई काबुमा ल्याउन मिलिटेन्सी चाहिन्छ, पार्टीपंक्तिलाई जुझारु बनाएर लैजानुपर्छ,’ ओलीको अडान थियो, ‘अब मैले अध्यक्ष छोडेर त्यो सम्भावना छैन, छोड्ने कुरा पनि हुन्नँ ।’

प्रतिस्पर्धामा आउने परिणाम स्वीकार्छः ईश्वर पोखरेल


तर ओलीको अडान र आग्रहमा वरिष्ठ उपाध्यक्ष पोखरेल सहमत भएनन् । आन्तरिक प्रतिस्पर्धाबाट नेतृत्व निर्माण गर्दा पार्टी कमजोर नहुने तर्क गरेका थिए । ‘प्रतिस्पर्धाले पार्टी कमजोर हुन्छ भन्ने ठान्नु बेठीक हो,’ पोखरेलले तर्क गरे, ‘प्रतिस्पर्धाले पार्टी कमजोर हुँदैन । संगठन गतिशील हुन्छ, नेता–कार्यकर्ता सक्रिय हुन्छन् ।’

आन्तरिक प्रतिस्पर्धाले पार्टी एकता कमजोर नहुने विश्लेषण गर्दै पोखरेलले अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने जानकारी पनि दिए । ‘मैले प्रतिस्पर्धा गर्ने कुराले पार्टी बलियो हुन्छ,’ पोखरेलले भने, ‘म अध्यक्षका निम्ति डिजर्ब गर्छु, प्रतिस्पर्धामा आउने परिणाम स्वीकार्छ ।’

एघारौं महाधिवेशनपछि आफूले नेतृत्व लिने दावी प्रस्तुत गर्दा उनले ओलीका कमजोरीहरू पनि औल्याए । ‘तपाईंका सार्वजनिक अभिव्यक्ति, तपाईंका कतिपय तौरतरिकाले पनि पार्टीभित्र समस्या पैदा भएको छ,’ पोखरेलले ओलीलाई नेतृत्वबाट विश्राम लिन संकेत गरेका थिए ।

विशेषगरी कमजोरी सच्याउन नचाहने ओलीको शैलीप्रति पोखरेलको टिप्पणी थियो । ‘आफ्ना कमजोरीहरूको समीक्षा गर्न नचाहने कुराले अगाडि बढ्न सकिँदैन । कमजोरीलाई देख्न सक्नुपर्छ,’ पोखरेलले भनेका छन्, ‘अनि मात्र सच्याएर जान सकिन्छ ।’

‘नेतृत्वलाई संकट परेका बेला सहयोग गरेर जानुपर्छ भन्ने निष्कर्ष पुष्टि गर्नेगरी शंकर पोखरेलले आफ्नो धारणा राखेका थिए । बैठक स्रोत भन्छ, ‘प्रदीप ज्ञवालीले पार्टीभित्रको अन्तरसंघर्ष छरपष्ट पार्नुहुँदैन, फरक कोण आउनेगरी नेताहरू सार्वजनिक रुपमा बोल्नुहुन्न भन्ने कुरा राखेका थिए ।

अर्का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भने जेनजी आन्दोलनबाट सत्ता गुम्दाका अनुभव र निष्कर्षहरू सुनाएका थिए । गुरुङले सुरक्षा निकायहरूको लोकतान्त्रिकरण कसरी गर्ने जस्ता कुरामा जोड दिँदै ओलीलाई बल पुग्ने तर्क गरेका थिए । विष्णु पौडेलले खुलेर कुनै पक्ष नलिए पनि समसामयिक अवस्थाको बारेमा मात्रै धारणा राखेका थिए ।

उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलष्मी शाक्य, सुरेन्द्र पाण्डे, सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराई, रघुवीर महासेठले भने ईश्वर पोखरेललाई साथ दिनेगरी बोलेका थिए ।

‘बैठकमा राजनीतिक परिस्थिति, मधेश सरकारमा देखिएको समस्या, पार्टीले बनाउन लागेको राष्ट्रिय स्वयंसेवक फोर्स जस्ता विषयमा धेरै छलफल भयो,’ स्रोत भन्छ, ‘धेरैजसो पदाधिकारीले अहिलेकै तौरतरिकाले हुन्नँ, सच्चिनुपर्छ भन्ने धारणा राखेका थिए ।

नेताहरूको कुरा सुनेपछि ओलीले पनि अब आफ्नो प्रतिस्पर्धा ईश्वर पोखरेलसँग हुनसक्ने प्रष्ट संकेत दिए । ‘सहमति हुँदैन भने प्रतिस्पर्धालाई कसले रोक्न सक्छ र ?,’ ओलीले नेतृत्वमा प्रतिस्पर्धा हुने सन्देश दिए ।

बैठकपछि ओली निकट नेता प्रदीप ज्ञवालीले पनि अब प्रतिस्पर्धाबाटै नेतृत्व चयन हुने संकेत दिएका छन् । ‘त्यहाँ कसैले त्यस्तो उम्मेद्वारीको घोषणा अथवा आफू बन्ने ढंगले त कुरा गर्नुभएन । तर यदि भएछ भने पनि हामीले स्वभाविक रुपमा लिन्छौं,’ ज्ञवालीले भनेका छन् ।

उपमहासचिव ज्ञवालीले चुनावी प्रतिस्पर्धामा ओलीले नै जित्ने आत्मविश्वास समेत दिलाउने प्रयास गरे । ‘अध्यक्ष कमरेडले थप एउटा कुरा पनि भन्नुभयो– अहिलेसम्म निरन्तर विभिन्न समयमा प्रतिस्पर्धा भयो । म आफू एक जना मात्र त्यस्तो पात्र रहे, जसले प्रतिस्पर्धामा पराजित भएपनि पार्टी एकताका निम्ति निरन्तर लागरहेँ,’ ओलीको भनाइ उद्धृत गर्दै ज्ञवालीले भने, ‘तर विगतमा प्रतिस्पर्धा गर्ने कतिपय साथीहरू पार्टीको एकतामा रहनु भएन । उदाहरणका निम्ति माधवकुमार नेपाल या भीम रावल । त्यो स्थिति नबनोस् ।’

अर्थात् उनको भनाइ प्रष्ट थियो, स्वस्थ प्रतिस्पर्धा गर्न तयार छौं, तर हारेपछि कसैले पार्टी छोड्ने परिस्थिति नबनोस् ।

पोखरेलले ओलीलाई विदा लिन गरेको आग्रहको जबाफमा पराजित भएर पार्टी छोड्ने परिस्थिति नबनोस् भन्ने चेतावनी दिइएको छ ।

‘सर्वसम्मतिबाटै नेतृत्व परिवर्तनको प्रस्ताव हामीले राख्यौं । केपी कमरेड तयार हुनु भएन, अब हामी अगाडि बढ्छौं,’ पोखरेल निकट स्रोत भन्छ । यो समूहका नेताहरूले आगामी ८ मंसिरमा सार्वजनिक सभा राखेरै पोखरेलको उम्मेद्वारी घोषणा गर्ने तयारी गरिरहेको छ ।

तेस्रोपटक आफैं अध्यक्ष भएर राजीतिक परिस्थिति सम्हाल्ने, पार्टी बनाउने र देश अगाडि बढाउने ओलीको प्रस्तावमा पोखरेलतर्फ उभिएका पदाधिकारीहरूले भने असहमति जनाएका थिए ।

उनीहरूले ओलीले भनेका र सुनाएका निष्कर्षहरूमा समस्या देखाएका थिए । पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने ओलीको तर्कप्रति उपाध्यक्ष युवराज ज्ञवालीले व्यवहारमा देखिनुपर्ने चुनौती दिएका थिए । ‘व्यवहारमा प्रतिबिम्बित हुनुपर्छ, एकता गर्ने भनेर मात्र हुँदैन,’ ज्ञवालीले भनेका थिए ।

उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीमा देखिएको समस्याको हल आवेग र उत्तेजनाबाट नहुने बताएकी थिइन् । ‘पार्टीभित्र जे देखिएको छ, हामीले उत्तेजना र आवेग देखाएर समाधान हुँदैन । हाम्रा तौरतरिका सुधार्नुपर्छ,’ शाक्यले भनेकी थिइन् ।

अर्का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले देशको परिस्थिति बिग्रनेगरी नेताहरूको अभिव्यक्ति आइरहेको चिन्ता गरेका थिए । ‘हामीले जे निर्णय गर्न सक्छौं । त्यही हिसाबले मात्र बोल्नुपर्छ,’ उनले भनेका थिए ।

उपाध्यक्ष सुरेन्द्र पाण्डेले मुलुकको परिस्थिति सोचेजस्तो नरहेको तथ्यबोध हुनुपर्ने बताएका थिए । ‘परिस्थिति अहिले जोखिमपूर्ण छ । सोचे जस्तो सजिलो छैन,’ पाण्डेको भनाइको सार थियो ।

सचिव गोकर्ण विष्टले अरु राजनीतिक दलहरूसँग एक्लिने बाटोमा एमाले हिँड्न नहुने बताएका थिए । ‘वर्तमान संकटबाट पार पाउन मुद्दा मिल्ने शक्तिहरूसँग मिलेर जानुपर्छ, यसले लोकतन्त्र बलियो हुन्छ,’ उनको तर्क थियो, ‘पञ्चायतविरुद्ध लड्दा होस्, या गणतन्त्र प्राप्तिमा वाम–लोकतान्त्रिक सहकार्यबाट सफल भएका छौं ।’

योगेश भट्टराई र रघुवीर महासेठले मधेश प्रदेश सरकारमा देखिएको संकटबारे चिन्ता गरेका थिए । ‘नेतृत्वले जसरी निर्णय लियो, त्यसले मधेशमा एमाले एक्लियो भन्ने चिन्ता गर्नुभएको थियो,’ स्रोत भन्छ ।

एमाले महाधिवेशनका लागि विभिन्न उपसमिति गठन

काठमाडौं । नेकपा एमालेले महाधिवेशनका लागि विभिन्न उपसमिति गठन गरेको छ । आज बसेको पार्टीको सचिवालय बैठकले ११ औं महाधिवेशनका लागि प्रतिनिधि व्यवस्थापन समितिमा काशीनाथ अधिकारीलाई संयोजक र माधव ढुंगेल सचिव तय गरेको छ ।

जनपरिचालनका लागि प्रदीप ज्ञवाली संयोजक र राजन भट्टराई सचिव, आवास व्यवस्थापनका लागि छविलाल विश्वकर्मा संयोजक र लालबाबु पण्डित सचिव तोकिएको छ ।

यस्तै लेखाराज भट्ट संयोजक र भीष्म अधिकारी रहेको खाद्य व्यवस्थापन समिति, गोकर्ण विष्ट संयोजक र रचना खड्का सचिव रहेको यातायात व्यवस्थापन समिति, रघुवीर महासेठ संयोजक र महेश बर्तौला सचिव रहेको अतिथि सत्कार समिति गठन भएको उनले बताए ।

यस्तै भानुभक्त ढकाल संयोजक र विनोद पाण्डे सचिव रहेका स्वयम सेवक परिचालन समिति, पद्मा अर्याल संयोजक र राजेन्द्र गौतम सचिव रहेको प्रचार समिति, विनोद श्रेष्ठ संयोजक र लोकबहादुर भण्डारी सचिव रहेको मञ्च व्यवस्थापन समिति गठन भएको छ ।

यस्तै, कृष्ण गोपाल श्रेष्ठ संयोजक र राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष सचिव रहेको स्वास्थ्य समिति, विष्णु रिमाल संयोजक र विना श्रेष्ठ सचिव आर्थिक समिति बनाइएको उनले बताए ।

यस्तो छ पूर्ण सूची

१) प्रतिनिधि व्यवस्थापन समिति

 • संयोजक: काशीनाथ अधिकारी

 • सचिव: माधव ढुंगेल

२) जनपरिचालन समिति

 • संयोजक: प्रदीप ज्ञवाली

 • सचिव: राजन भट्टराई

३) आवास व्यवस्थापन समिति

 • संयोजक: छविलाल विश्वकर्मा

 • सचिव: लालबाबु पण्डित

४) खाद्य व्यवस्थापन समिति

 • संयोजक: लेखाराज भट्ट

 • सचिव: भीष्म अधिकारी

५) यातायात व्यवस्थापन समिति

 • संयोजक: गोकर्ण विष्ट

 • सचिव: रचना खड्का

६) अतिथि सत्कार समिति

 • संयोजक: रघुवीर महासेठ

 • सचिव: महेश बर्तौला

७) स्वयम्सेवक परिचालन समिति

 • संयोजक: भानुभक्त ढकाल

 • सचिव: विनोद पाण्डे

८) प्रचार समिति

 • संयोजक: पद्मा अर्याल

 • सचिव: राजेन्द्र गौतम

९) मञ्च व्यवस्थापन समिति

 • संयोजक: विनोद श्रेष्ठ

 • सचिव: लोकबहादुर भण्डारी

१०) स्वास्थ्य समिति

 • संयोजक: कृष्ण गोपाल श्रेष्ठ

 • सचिव: राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष

११) आर्थिक समिति

 • संयोजक: विष्णु रिमाल

 • सचिव: विना श्रेष्ठ

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति