काठमाडौं ३ मंसिर। बाराको सिमरा चोकमा मङ्गलबार जेनजी बारा समितिको कार्यक्रममा नेकपा एमाले निकट समूहले आक्रमण गरेर माहोल अशान्त बनाएको जेनजी मधेश प्रदेश संयोजकले बताएका छन् ।
उनका अनुसार जेनजी बारा संयोजक सम्राट उपाध्यायसहितका जेनजी युवाले कुटपिट हुँदा दर्जनौं घाइते भएका मधेश प्रदेश संयोजक शिव यादवले बताएका छन् ।
जेनजी मधेश प्रदेश संयोजक यादवले फेसबुकमा लेख्दै यो घटना एमालेको सुनियोजित षड्यन्त्र रहेको बताएका छन् ।
यादवका अनुसार, सिमरा चोकमा जेनजीको पूर्वनिर्धारित कार्यक्रम सञ्चालन हुँदै गर्दा परवानीपुरस्थित एमालेको कार्यक्रमबाट परिचालितले कार्यक्रम भाँडेका हुन् ।
जेनजीले एमालेको कार्यक्रममा कुनै अवरोध नगरेको दाबी गर्दै यसलाई आन्दोलनलाई बदनाम गर्ने दुष्प्रयास भनी यादवले बताएका छन् ।
घटनाको मुख्य योजनाकार पूर्वमन्त्री महेश बस्नेत रहेको आरोप लगाउँदै यादवले उनलाई मधेश निषेध गर्न र संलग्न गुण्डाहरूलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
‘मधेशमा एमालेले पछिल्लो समय लगातार उक्साहटपूर्ण र तनाव सिर्जना गर्ने गतिविधि गर्दै आएको छ । यसले मधेशको शान्ति सुरक्षामै खलल पुर्याएको छ । यस विषयमा संवेदनशीलता अपनाउँदै कडा कदम चाल्न राज्य र राज्यका संयन्त्रलाई म अनुरोध गर्न चाहन्छु,’ उनले लेखेका छन् ।
सिमरा झडप एमालेको सुनियोजित षडयन्त्र भएको जेनजी मधेश संयोजकको वक्तव्य
‘जेनजी बारा समितिले नेकपा एमालेको कार्यक्रममा कुनै प्रकारको अवरोध गरेको होइन । खासमा सिमरा चोकमै आज जेनजीको कार्यक्रम थियो । यो कार्यक्रममा एमालेद्वारा नै परिचालित गुन्डा समूहहरू पसेर बारा संयोजक सम्राट उपाध्यायलगायतका जेनजी साथीहरूलाई कुटपिट गरेका हुन् ।
एमालेको कार्यक्रम परवानीपुरमा थियो । तर, एमालेका गुन्डाहरू सिमरामा आएर जेनजी साथीहरूको अपमान गर्ने, दुर्ववहार गर्ने र कुटपिट गर्ने काम गरेको तथ्य स्पष्ट हुँदाहुँदै पनि कतिपयले गलत सूचना प्रवाह गर्ने प्रयास गरेका छन्, जुन अत्यन्त भ्रामक, पूर्वाग्रही र आन्दोलनलाई बदनाम गर्न गरिएको दुष्प्रयास हो ।
म सबै मिडियाकर्मीसहित सम्बद्ध पक्षहरूलाई यस्ता गलत सूचना सम्प्रेषण नगर्न अनुरोध गर्दछु ।
यो घटना घटाउने कार्यमा संलग्न एमालेका गुन्डाहरुलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्नुपर्छ । आजको घटनाका मुख्य योजनाकार महेश बस्नेतलाई मधेश निषेधको व्यवस्था मिलाउन सरकारसँग माग गर्दछु ।
मधेशमा एमालेले पछिल्लो समय लगातार उक्साहटपूर्ण र तनाव सिर्जना गर्ने गतिविधि गर्दै आएको छ । यसले मधेशको शान्ति सुरक्षामै खलल पुर्याएको छ । यस विषयमा संवेदनशीलता अपनाउँदै कडा कदम चाल्न राज्य र राज्यका संयन्त्रलाई म अनुरोध गर्न चाहन्छु ।
शिव यादव
(जेन्जि मधेश प्रदेश संयोजक)
प्रतिक्रिया