प्रहरीले दुर्गा प्रसाईंलाई भेट्न दिएन, कानुन व्यवसायीले भने– संविधानको उल्लंघ

काठमाडौं, २ कत्तिक। जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका दुर्गा प्रसाईंलाई भेट्न गएका कानुन व्यवसायीलाई प्रहरीले भेट्न नदिई फर्काएको छ ।गएराति भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई काठमाडौं प्रहरी परिसर भद्रकालीमा राखिएको छ । आज बिहान उनका कानुन व्यवसायीहरु प्रसाईंलाई भेट्न प्रहरी परिसर पुगेका थिए ।तर प्रहरीले ‘माथिको आदेश’ भन्दै भेट्न नदिएको अधिवक्ता विनोदमणि भट्टराईले जानकारी दिए ।‘प्रहरीले हामी कानुन व्यवसायीलाई माथिको आदेश भन्दै भेट्न दिएन,’ अधिवक्ता भट्टराईले भने, ‘यो संवैधानिक अधिकार विपरीत छ । र, यससम्बन्धमा नेपाल बार एसोसिएसनको गम्भीर ध्यानाकर्षण हुन जरुरी छ ।’ संविधानको धारा २० को उपधारा २ मा ‘पक्राउ परेका व्यक्तिलाई पक्राउ परेको समयदेखि नै आफूले रोजेको कानुन व्यवसायीसँग सल्लाह लिन पाउने तथा कानुन व्यवसायीद्वारा पुर्पक्ष गर्ने हक हुने’ उल्लेख छ । त्यस्तो व्यक्तिले आफ्नो कानुन व्यवसायीसँग गरेको परामर्श र निजले दिएको सल्लाह गोप्य रहनेछ व्यवस्था समेत छ । तर शत्रु देशको नागरिकको हकमा भने यो उपधारा लागू नहुने संविधानमा उल्लेख छ । दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको विरोधमा नागरिक बचाउ दलले आजैबाट संघर्षका कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ । मंसिर ७ गते प्रदर्शन गर्ने घोषणा गरिए पनि प्रसाईंको गिरफ्तारीको विरोधमा आजैबाट प्रदर्शनमा उत्रिने सो पार्टीका नेताहरुले बताएका छन् । प्रसाईंलाई २४ घण्टाभित्र रिहाइको माग गर्दै उनीहरुले आज दिउँसो १ः३० बजे सिडिओ कार्यालयमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको नागरिक बचाउ दलका अध्यक्ष माधव प्रसाद खतिवडाले (माधव कल्पित) ले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति