काठमाडौं २ मंसिर । राजसंस्था र हिन्दू राष्ट्र बनाउनु पर्ने भन्दै जथाभावी बोलिरहका अभियन्ता दुर्गा प्रसाईं उनको भक्तपुरस्थित निजी निवासबाट पक्राउ परेका छन् ।
सोमबार अबेर राति प्रहरीले प्रसाईलाई पक्राउ गरेको स्रोतले बतायो। उनलाई हाल जिल्ला प्रहरी परिसर काठमाडौंमा लगिएको छ।
उनीमाथि सार्वजनिक शान्ति खलल पार्न नहुने कसुरमा प्रहरीले पक्राउ गरेको हो।
प्रसाईंले पछिल्लो समय आन्दोलन भड्काउने अभिव्यक्तिहरू दिँदै आएका थिए।
प्रसाईं पटकपटक पक्राउ परिसकेका छन्। यसअघि उनलाई चैत १५ गतेको भएको तीनकुनेको आन्दोलनपछि भारतबाट पक्राउ गरी ल्याएको थियो। त्यसअघि उनलाई साइबर ब्युरोले विद्युतीय कारोबार ऐन अनुसार पटकपटक पक्राउ गरेको थियो।
प्रसाईं राजद्रोह र व्यक्ति हत्या सम्वन्धी मुद्धामा उनी तारेखमा रहेका थिए । उनले मंसिर ७ गतेबाट देशै ठप्प पार्नेगरी आन्दोलन गर्ने खुलेआम चेतावनी दिनुका साथै त्यो आन्दोलनलाई थप उत्तेजनात्मक बनाउने कार्यमा समेत क्रियाशील रहेका थिए ।
खासगरी उनले पछिल्लो समय ‘दूतावासमा बम पड्काएर आफूतिर आरोप लगाइदिनसक्छन्’ र देशै ठप्प हुन्छ भन्दै दिएको अभिव्यक्तिलाई सुरक्षा संयन्त्रले गम्भीर रुपमा लिएको थियो । बैठकमा नेपाल प्रहरीका प्रमुख आईजीपी दानबहादुर कार्की, सशस्त्र प्रहरी प्रहरी राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीले उनले दिइरहेको अभिव्यक्तिले समाजमा त्रासको वातावरण सिर्जना भइरहेको विश्लेषण सुनाएका थिए ।

पछि बैठकले प्रसाईंको नाम उल्लेख नगरी हिंसा भड्काउने, जनता आतंकित पार्ने गतिविधि गर्नेलाई निस्तेज गर्न कडाइका साथ कानुनी कारबाही अघि बढाउने निर्णय पनि गरेको थियो । ‘बैठकको निर्णयमा नाम किटान नगरिए पनि त्यो दुर्गा प्रसाईंकै अभिव्यक्तिलाई लक्षित गरेर गरिएको निर्णय थियो,’ मन्त्रालयका एक अधिकारी भन्छन् ।
केही दिनअघि पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले पनि प्रसाईंसहितका व्यक्तिहरुको अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिएको बताएका थिए । आफूलाई राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियानका संयोजकका रुपमा चिनाउने दुर्गा प्रसाईंले ७ मंसिरदेखि आन्दोलन चर्काउने सार्वजनिक घोषणा गरेका थिए । उनले आन्दोलन घोषणा गरेपछि गृह प्रशासनले छलफलका लागिसमेत बोलाएको थियो ।
उनले सोमबार दिउँसोसम्म उनले आफैं गिरफ्तारी दिनेसमेत दाबी गर्दै आएका थिए । अहिले उनलाई जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा राखिएको छ । उनलाई कुन कसुरमा कारबाही प्रक्रिया अघि बढाउने भन्ने टुंगो लागिसकेको छैन । मंगलबार सरकारी वकिलसँग समेत सल्लाह गरेर उनलाई म्याद थपका लागि अदालत हाजिर गराइने एक प्रहरी अधिकृतले बताए ।
प्रतिक्रिया