काठमाडौं १ मंसिर । विज्ञापन बोर्डको निर्देशन विपरीत नेपाल प्रिमियर लिग (एनपीएल)मा ‘डाफान्यूज’ को विज्ञापन देखिएको छ ।
त्रिविस्थित क्रिकेट रंगशलामा डाफा न्यूजको विज्ञापन देखिएको हो । रंगशालामा ठूलो बोर्डमा डाफा न्यूजको बोर्डसहित विज्ञापन गरिएको छ । जबकी डाफा न्यूजको विज्ञापन नगर्न भन्दै विज्ञापन बोर्ड गत १ भदौमै नेपाल क्रिकेट संघ ९क्यान०लाई निर्देशन दिएको थियो ।
पहिलो संस्करणको एनपीएलमा विदेशी कम्पनी स्टार स्पोर्टस् च्यानलबाट विज्ञापनसहित अनलाइन जुवा साइटको विज्ञापन भएको थियो ।
त्यतिबेला त्रिवि मैदानमा वानएक्सबेट, वुल्फ ७७७, डाफा न्यूजलगायत बेटिङ साइटको विज्ञापन भएको थियो । खेलाडीका जर्सीदेखि मैदानसम्म यस्ता साइटका विज्ञापन थिए ।
गत २६ साउन २०८२ मा मात्रै विज्ञापन बोर्डलाई त्यो कम्पनीले पठाएको जवाफमा भने बोर्डले चित्त बुझाएको थिएन ।
१ भदौमा बोर्डकी प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्रीले एक पत्र लेख्दै क्यानलाई यसबारे सचेत गराइएकी थिइन् ।
यता बेटिङको विज्ञापन गर्ने कम्पनीलाई १० हजार रुपैयाँ जरिवानादेखि तीन महिनाका लागि विज्ञापन गर्न रोक समेत लगाएको थियो ।
जुवा खेलाउने साइटको विज्ञापन गराउने कम्पनी ब्राण्ड डिजिटल लजिक प्रालि ललितपुर र टिसिएस स्पोस्टर्स एण्ड मार्केटिङ प्रालि टंगाललाई जनही १०र–१० हजार जरिवाना गराइएको थियो ।
तीन महिनासम्म विज्ञापन तथा सूचना दिन र लिन रोक लगाएको थियो । अहिले फेरि त्यही डाफा न्यूजको विज्ञापन एनपीएलमा देखिएको छ । यसबारे बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं त्यस्तो भेटिए कारबाही प्रक्रिया अघि बढाउने बताउँछन् ।
‘बेटिङ साइटको विज्ञापन भएको रहेछ भने तुरुन्तै पत्र काटेर कारबाही प्रक्रिया अघि बढाउँछौं’ अध्यक्ष हुमागाईंले भने ।

प्रतिक्रिया