काठमाडौँ २८ कात्तिक। नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय कार्य समितिको टुंगो लगाएपछि मात्र सबै तहका समितिमा समायोजन प्रक्रिया अगाडि बढाउने भएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत १२ वाम दल मिलेर नेकपा बनाइएको हो ।
कात्तिक १९ गते एकता घोषणामा पुष्पकमल दाहाल प्रचण्ड केन्द्रीय संयोजक र माधवकुमार नेपाल सहसंयोजक चयन भएका थिए । निर्वाचन आयोगले शुक्रबार नेकपालाई दल दर्ताको प्रमाणपत्र दिइसकेको छ । कात्तिक २३ गते आयोग पुगेर नेताहरूले दल दर्ता प्रक्रियाका लागि पार्टीको विधान, घोषणापत्र र केन्द्रीय समितिको सूची पेस गरेका थिए ।
एकता समायोजनपछि केन्द्रमा नेकपाको चार तहको संरचना बन्ने नेता प्रकाश ज्वालाले जानकारी दिए । उनका अनुसार साविक पार्टीको केन्द्रीय समितिमा रहेका सबै सदस्यलाई मिलाएर केन्द्रीय समिति बन्नेछ । त्यो समिति १७ सयदेखि १९ सयसम्मको हुन सक्नेछ । विधान अनुसार ६०१ सदस्यीय केन्द्रीय कार्यसमिति बन्नेछ । जुन निर्वाचन अयोगमा अध्यावधि हुनेछ ।
‘पहिला हामी केन्द्रीय कार्य समितिको टुंगो लगाउँछौँ । केन्द्रमा चार तहको समिति र एक केन्द्रीय निकाय बन्नेछ । प्रदेश, पालिका र वडा तहमा तीन तहको समिति बन्नेछ’, उनले रातोपाटीसँग भने ।

केन्द्रमा केन्द्रीय कार्य समिति, केन्द्रीय समिति, केन्द्रीय सचिवालय र केन्द्रीय कार्य संयोजन समिति रहने ज्वालाले जानकारी दिए । उनका अनुसार केन्द्रीय कार्य संयोजन समिति आपसी सहमतिका आधारमा कम्तीमा ३५ सदस्यीय बन्नेछ । त्यस्तै केन्द्रीय कार्यसमिति विधानमै ६०१ सदस्यीय रहने व्यवस्था भएकाले सोही अनुसार समायोजन हुने उनले बताए । कार्य समितिबाट १०० जना हाराहारीको सचिवालय बन्न सक्ने ज्वालाको भनाइ छ । केन्द्रीय समिति साविक पार्टीका केन्द्रीय समितिलाई समायोजन गरी बनाइने छ । नेकपामा स्थायी कमिटी र पोलिटब्युरो रहनेछैन ।

नेकपाको अन्तरिम विधान २०८२ को धारा–३८, ३९, ४०, ४१ र ४२ मा क्रमशः केन्द्रीय कार्य समिति, केन्द्रीय समिति, केन्द्रीय सचिवायल, केन्द्रीय संयोजक समिति र केन्द्रीय निकाय रहेन व्यवस्था छ ।
यसैगरी प्रदेश, जिल्ला, पालिका र वडा तहमा आपसी सहमतिमै संयोजन समिति, प्रदेश समिति र सचिवालय रहने ज्वालाले जानकारी दिए ।
सबै पार्टीका वार्ता टोलीसहित एकता प्रक्रिया टुंगो लगाएपनि सबै तहका समिति, प्रदेशसभाका संसदीय दल समायोजनका लागि उच्चस्तरीय समोजन समिति बन्न सक्ने ज्वालाले बताए ।
‘अहिलेसम्म वार्ता कार्यदल बसेर नै एकता प्रक्रिया अगाडि बढाएका थियौँ । पार्टी एकता भएपछि आपसी सहमतिमा समायोजन गर्नका लागि केन्द्रमा उच्चस्तरीय समिति बन्नेछ । त्यो समितिमा एकतामा जोडिएका सबै पार्टीका साथीहरू रहनेछन् । प्रदेश, जिल्ला, पालिका र वडामा छुट्टै समायोजन समिति गठन हुनेछ’, उनले भने ।
अर्का नेता हरिबोल गजुरेलले विधान बमोजिम चार तहको समिति र एक केन्द्रीय निकाय रहने बताए । आवश्यकता अनुसार उच्चस्तरीय समायोजन कार्यदल बनाउनेबारे छलफल भइरहेको उनले जनाए ।
‘भर्खर निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र आएको छ । आयोगमा पठाएको केन्द्रीय समिति वैधानिकताका लागि मात्र पठाइएको हो,’ उनले भने, ‘पार्टीको विधान अनुसार आपसी सहमतिमा समायोजन कार्य अगाडि बढ्छ ।’
समायोजन समितिको मोडालिटी ६०र४० प्रतिशतको आसपासमा हुन सक्ने गजुरेलले जानकारी दिए । एकता प्रक्रियामा जोडिएका दलहरू आयोगमै दर्ता भएका पाँचवटा पार्टी छन् । जसमा माओवादी, एकीकृत समाजवादी, जनसमाजवादी पार्टी नेपाल, नेकपा (समाजवादी) र नेकपा (माओवादी समाजवादी) रहेका छन् । यसबाहेक विप्लव नेतृत्वको नेकपाबाट आएका चिरन पुन समूह, भीम रावल नेतृत्वको मातृभूमि जागरण पार्टी, गोपाल किराती, केशव दाहाल लगायत समूह समायोजनमा जोडिएका छन् ।
नेताहरूलाई जिम्मेवारी दिने विषयमा संयोजक, सहसंयोजक, इन्चार्ज, सहइन्चार्ज साविकका फरक–फरक पार्टीबाट बनाउने तयारी छ ।

यसैबीच शुक्रबार नेपाली कम्युनिष्ट पार्टीले निर्वाचन आयोगबाट दल एकता पछिको दर्ताको प्रमाणपत्र पाएको छ ।

प्रतिक्रिया