काठमाडौं २४ कात्तिक । मधेसको मुख्यमन्त्री नियुक्त भएलगत्तै सरोजकुमार यादवले अन्य तीन मन्त्री नियुक्त गरेका छन्। एमाले, संघीय समाजवादी र राप्रपाबाट यादवले एक–एकजना मन्त्री नियुक्त गरेका हुन्।
नवनियुक्त मन्त्रीलाई पनि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बर्दिवासको पानस होटलमै शपथ गराएकी छन्।
मधेस प्रदेश सभामा संघीय समाजवादी र राप्रपाको एक–एक जना सांसद छन्। नवयिनुक्त मन्त्रीहरूलाई मन्त्रालय भने नतोकिएको एमाले सांसद शारदा थापाले जानकारी दिइन्।
एमालेबाट लखन दास, संघीय समाजवादीबाट बिमला अन्सारी र राप्रपाबाट कन्चन बिच्छा मन्त्री नियुक्त भएका हुन्।
कांग्रेस, जसपा, जनमत, माओवादी केन्द्रसहितका दलको बिरोधका बाबजुध प्रमुख सुमित्रा भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतमा आज बिहान हतारहतार एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।
प्रदेश सभामा बहुमत सिद्ध गर्न नसकेपछि मुख्यमन्त्री जितेन्द्र सोनलले गएको शनिबार पदबाट राजीनामा दिएका थिए।
हिजो साँझ मात्रै प्रदेश प्रमुखसमक्ष नेपाली कांग्रेससहित सात दलले नयाँ सरकार गठनका लागि प्रक्रिया अघि बढाउन माग गर्दै ज्ञापनपत्र पत्र बुझाएका हुन्।
मुख्यमन्त्रीले राजीनामा दिएको अवस्थामा संविधानको धारा १६८ (२) अनुसार नै प्रदेश प्रमुखले नयाँ सरकार गठनको प्रकृया अगाडी बढाउनु पर्ने जिकिर उनीहरूको थियो।
तर, कांग्रेस, जसपा, जनमत, माओवादी केन्द्रसहितका दलको बिरोधका बाबजुध प्रमुख संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतमा आज बिहान हतारहतार एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्।
भण्डारीले मुख्मन्त्री यादवकाे सिफारिसमा संविधानको धारा १६८ (९) अनुसार मन्त्रिपरिषद् गठन गरेकी हुन्।

मुख्यमन्त्री नियुक्तिको विरोधमा तोडफोड र नाराबाजी

धनुषा । मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर मुख्यमन्त्री कार्यालयमा तोडफोड भएको छ । मधेसका सात दलका नेता र कार्यकर्ताले मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका हुन् ।
अहिले नवनियुक्त मुख्यमन्त्री सरोज यादवविरुद्ध मधेसका सात दलका नेता कार्यकर्ताहरुले नाराबाजी गरिरहेका छन् ।
नवनियुक्त मुख्यमन्त्री यादव आउने जानकारी पाएपछि उनलाई अवरोध गर्न नेता र कार्यकर्ताहरु मुख्यमन्त्री कार्यालय अगाडी जम्मा भएका छन् ।
त्यस्तै दलका कार्यकर्ताहरुले प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्रालयमा पनि तालाबान्दी गरेका छन् । उनीहरुले प्रदेशका अन्य मन्त्रालयहरूमा पनि तालाबन्दी गरिरहेका छन् ।
प्रदेश प्रमुख सुमित्रा भण्डारीले सोमबार एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
प्रतिक्रिया