प्रचण्ड–माधवको सट्टा भट्टराई र जनार्दनले किन रास्वपाको छहारी खोजे ?

काठमाडौं २१ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी को विस्तारित बैठकको पूर्व सन्ध्यामा पूर्व माओवादी नेताहरु डा.बाबुराम भट्टराई र जनार्दन शर्माले रास्वपाको छहारी सुरक्षित देखेका छन् । आजबाट चितवनको सौराहामा रास्वापाले विस्तारित बैठक गर्दैछ । त्यो बैठकमा पार्टीको केन्द्रीय समिति, केन्द्रीय विभागका पदाधिकारी, प्रदेश सचिवालय, जिल्ला तथा पालिका अध्यक्ष गरि ५ सय १२ जना प्रतिनिधि सहभागी हुँदैछन् ।

‘यो राजनीतिक संक्रमण पछिको सबैभन्दा ठूलो बैठक हो । यसको राजनीतिक सांगठनिक हिसाबले महत्व रहेको छ’, प्रवक्ता मनिषभ झा ले भने, – ‘हामी निर्वाचन केन्द्रित आचरण, रणनीतिका बारेमा पनि छलफल छौँ ।’
उनले यसअघि फागुनको ७, ८ र ९ गते तयारी गरेको पार्टीको महाधिवेशनको मिति सार्ने निर्णय पनि विस्तारित बैठकबाट निर्धारण गर्ने पनि जानकारी दिए । प्रवक्ता झाले पत्रकारहरुको छलफलमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माओवादी नेता जनार्दन शर्माले रास्वपाको नेतृत्व लिने इच्छा जाहेर गरेको पनि बताएका थिए ।

प्रवक्ता झाले एजेण्डाकै रुपमा पार्टीको नेतृत्व परिवर्तन विषय नरहेपनि बैठकमा सहभागी प्रतिनिधिले स्वतन्त्र रुपमा संगठनको नेतृत्व परिवर्तन, राजनीतिक संरचना, निर्वाचन, वाचापत्र लगायतका विषयमा विचार राख्ने स्वतन्त्रता रहने स्पष्ट पारे ।

विहीबार विहान काठमाडौँमा भट्टराई र शर्मासँग रास्वपा कार्यवाहक सभापतिसहितका नेताले भेटघाट गरेका थिए । उक्त विषयमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै झाले भने, ‘राजनीतिक व्यक्तिले नेतृत्व लिन इच्छुक हुनु स्वभावित हो । तर, अरुलाई नेता मान्न तयार हुनुहुन्न त्यस्ता व्यक्ति नेता हुन सक्दैनन् ।’

उनले डा.भट्टराई र शर्माले छलफलका लागि बोलाएर निर्वाचनमा एक भएर जाने विभिन्न प्रस्तावसहित छलफल अघि बढाएकोले उनीहरुको सम्मानमा आफ्नो पार्टी छलफलमा सहभागी भएको बताए ।

उनीहरुसँग नेतृत्वको परिषद बनाउने, राजनीतिक एलायन्स गर्ने कि सँगै निर्वाचनमा जाने, वा एक अर्कालाई सघाउने हो कि, डिस्टर्व नगर्ने हो भनेर सबै मोडालिटीमा छलफल भएको तर, निष्कर्षमा नपुगेको बताए ।

प्रवक्ता झाका अनुसार अहिले प्रस्ताव राख्ने र छलफल गर्ने चरणमा पुगेको छ । तर, निष्षर्कमा भने नपुगेको उनको भनाइ छ । तीन दिन विस्तारित बैठकमा यस विषयमा पनि छलफल गरिने र विस्तारित बैठकको सन्देश पनि लिएर पुनः छलफलमा बस्ने उनले बताए ।

देशभरबाट विस्तारित बैठकमा आउने ५ सय बढी प्रतिनिधिको मनोभावना बुझेर, उनीहरुको म्याण्डेड समेत लिएर अनसिन एजेण्डाका रुपमा छलफल चलाउने उनले बताए । ‘बैठकका केही अनसिन एजेण्डा हुन्छ त्यसमा छलफल गरिन्छ, उनले थपे, – ‘विस्तारित बैठकमा छलफल गरिने एजेण्डा चाहिँ त्यो पनि हो । अबको निर्वाचनको लागि कस्तो एलाइन्स हुनुपर्छ भन्ने छलफल गछौँ ।’

झाले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेतृत्व लिन चाहेको विषयमा भने, रास्वपाले राजनीतिक लचकता राख्ने तर भाँच्चिने गरि लचकता राख्न नसक्ने स्पष्ट पारे ।
डा.भट्टराईले धेरै पहिलेदेखि आफूलाई गैरकम्युनिष्ट बनेको बताउँदै आएका छन् भने शर्माले माओवादी पार्टी नै पुनर्गठन गर्ने भन्दै अन्य दश समूहसँगको एकतामा सामेल भएका थिएन । तर उनले छुट्टै माओवादी पार्टी बनाउने भने पनि आफ्नो अभियानको नाम भने प्रगतिशील रुपान्तरण अभियान राखेका थिए ।
त्यसको भोलिपल्ट एकाएक उनी सुदन किरांतीलाई लिएर बाबुरामसँगै रास्वपाका नेताहरुसँग आफूहरुलाई पनि छहारी दिनु पर्यो भन्दै गएको घटना रहस्यमय रहेको कर्णालीमा क्रियाशील उनकै परिवारका एकजना नेताले नाम नवताउने शर्तमा बताएका छन् । ती नेताका अनुसार शर्माले पहिले माओवादी नै बनाउने भने पनि कसैले साथ नदिएपछि कताबाट सत्तामा पुग्न सकिन्छ भन्ने छट्पटीमा रहेका छन् ।

सामाजिक सन्जालमा समेत शर्मा र भट्टराईको छटपटी र रास्वपासँगको बैठकका बारेमा व्यापक विरोध र टिप्पणी भइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति