कमरेड प्रचण्डको विश्वासमा एकतामै जोडिने अठोट गरेंः झलनाथ खनाल

काठमाडौं १९ कात्तिक । विभिन्न दश कम्युनिष्ट घटकका बीचको एकतामा अन्तिम समयमा एकीकृत समाजवादीका नेता झलनाथ खनाल जोडिएका छन् । एकीकृत समाजवादीको बैठकमा चर्को मतभिन्नता राखेका खनालले आज विहान नेकपाका संयोजक प्रचण्डसँगको छलफल पछि उनी एकतालाई बल पुर्याउने निर्णयमा पुगेको बताएका छन् ।


खनाले एकता घोषणा सभामा बोल्दै भने ‘मेरा केही रिजर्भेसन छन्, कमरेड प्रचण्डले मिलाउने विश्वास दिलाउनु भएको छ, म त्यही विश्वासमा यहाँ आएको छु’उनले स्पष्ट गरे ।


नेपालको कम्युनिष्ट आन्दोलनका नेताहरुले आफूलाई नै परिमार्जन गर्नु पर्ने आवश्यकता रहेको बताउँदै खनालले भने ‘देशमाथि गम्भीर खतरा उत्पन्न भएको छ’ ।
आजैमात्र एकीकृत समाजवादीका नेता घनश्याम भुसालले छुट्टै समुह गठन गर्ने बताएका छन् भने रामकुमार झांक्री एमालेमा फर्कने भएकी छ्न ।

नेपाली कम्युनिस्ट पार्टीमा झलनाथ खनाललाई तेस्रो वरियता

बुधबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित शीर्ष नेताहरूबीच खनाललाई तेस्रो वरियता दिनेगरी सहमति भएको हो ।

स्रोतका अनुसार, यसअघि बामदेव गौतमलाई तेस्रो वरियतामा राखिएको थियो । विभिन्न घटकबीच हुन लागेको एकताप्रति खनालले असन्तुष्टि जनाएका थिए ।

अन्तत: उनी भृकुटीमण्डपमा आयोजित घोषणा सभामा सहभागी हुन पुगेका छन् ।

एकता वार्तामा सहभागी एक नेताका अनुसार, बुधबार बिहानमात्रै भएको छलफलमा खनाल तेस्रो वरियतामा बसेर नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन सहमत भएका हुन् ।

नेपाली कम्युनिस्ट पार्टीमा प्रचण्ड पहिलो, माधव कुमार नेपाल दोस्रो, झलनाथ खनाल तेस्रो, बामदेव गौतम चौथो र नारायणकाजी श्रेष्ठ पाँचौं वरियतामा रहने भएका छन्  ।

खनालले हिजोमात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरेका थिए । पार्टी निर्णयमा आपत्ति जनाएका खनालले सुरुमा पार्टी पुनर्गठनको प्रक्रियामा लाग्ने बताएका थिए ।

यद्यपि अन्तिम समयमा उनी प्रचण्ड–माधव समूहतिरै लागेका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति