धनुषामा बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

काठमाडौं, १६ कात्तिक । धनुषामा यात्रुबाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा एकै परिवारका तीन सदस्यसहित चार जनाको मृत्यु भएको छ । अन्य दुईजना बालबालिका गम्भीर घाइते भएका छन् ।

विराटनगरबाट धनगढी जाँदै गरेको सु।प्र ०१–००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ह १२३० नम्बरको अटोलाई शनिबार साँझ ठक्कर दिएको थियो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं १ वीरेन्द्र बजारमा भएको सो दुर्घटनामा गणेशमान चारनाथ नगरपालिका १ भरतपुरका अन्दाजी ४० वर्षीय धनबहादुर पुर्वछाने मगर, ३५ वर्षीय शम्भु पुर्वछाने मगर, ३५ वर्षीया निशा मगर र अन्दाजी ४० वर्षीय अटोरिक्सा चालक डम्बर राईको मृत्यु भएको हो ।

उनीहरु एउटै परिवारका सदस्य रहेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार दुर्घटनामा १४ वर्षका शीतल मगर र ९ वर्षका रोशन मगर गम्भीर घाइते छन् ।

उनीहरूको जनकपुरधामस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति