माओवादीसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय, को कता उभिए ?

काठमाडौं १४ कात्तिक । नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठकले नेकपा माओवादीसँग पार्टी एकता गर्ने निर्णय गरेको छ । तीन दिनदेखि जारी बैठकमा पार्टी एकताको पक्ष र विपक्षमा चर्को बहस भएपनि दुई तिहाईभन्दा बढी केन्द्रीय सदस्यहरु एकताको पक्षमा उभिएको नेता विरोध खतिवडाले बताए ।


बैठकमा अध्यक्ष माधव नेपालले नीति विचार र संगठनमा सहमति भएका कारण माओवादीसँग एकता गर्नु पर्ने विचार सहितको राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।
बैठममा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र नेतृ रामकुमारी झाँक्री सहितका केही नेताहरु माओवदीसँगको पार्टी एकताको विपक्षमा उभिएका छन् ।

एकताको पक्षमा वामदेव गौतम


नेता वामदेव गौतम माओवादी केन्द्रसँग एकताको पक्षमा उभिएका छन्। तर, उनले यो एकतालाई नेकपा एमालेसम्म पुर्‍याउनुपर्नेमा जोड दिए।
शुक्रबार केन्द्रीय समिति बैठकमा आफ्ना धारणा राख्दै गौतमले भने, ‘बुझेर जानुपर्छ। सबै पार्टीहरूसित, यहाँसम्म कि एमालेसँग पनि जानुपर्छ। अब हामी यहाँबाट अगाडि बढ्छौँ, त्यहाँभित्र विद्रोह हुन्छ।’

‘हामी एक दिन सबै एउटै कम्युनिस्ट पार्टी निर्माण गरेर छोड्ने छौँ,’ उनले थपे।

गौतमले आफू पार्टी नेतृत्वबाट जुनसुकै बेला हट्न तयार रहेको भन्दै प्रचण्ड, माधव नेपाल र झलनाथ खनालले पनि छोड्नुपर्ने उल्लेख गरे।

‘म जुनसुकै बेला हट्न तयार छु,’ उनले भने, ‘मैले त भने अब कमरेड झलनाथ खनालको पनि यस्तै रिटायरमेन्ट हुनुपर्छ। माधव पनि रिटायरमेन्ट हुनुपर्छ। प्रचण्ड पनि हुनुपर्छ। केपी ओली पनि रिटायरमेन्ट हुनुपर्छ नयाँ नेतृत्व आउनुपर्छ।’

माओवादीसँगको एकता पार्टी एक बनाउने प्रस्थान बिन्दु : मेटमणि चौधरी

नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले नेकपा माओवादी केन्द्रसँगको एकता कम्युनिष्ट पार्टीलाई सशक्त र शक्तिशाली बनाउने प्रस्थान बिन्दुको रुपमा लिनुपर्ने बताएका छन् ।

शुक्रबार पार्टीको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘माओवादी र हाम्रो एकतालाई प्रस्थान बिन्दुको रुपमा लिएका छौं । यो बिन्दुबाट सुरु गरेर नेपालका सबै कम्युनिष्ट पार्टीलाई एक ठाउँमा ल्याउने र सशक्त र शक्तिशाली बनाउने । कम्युनिष्ट पार्टीकै नेतृत्वमा मुलुक निर्माण गर्ने,’ उनले भने ।

वृहत कम्युनिस्ट पार्टी निर्माण गर्ने, कम्युनिस्ट पार्टीकै नेतृत्वमा मुलुकलाई समृद्धको बाटोमा लाग्ने विषय पार्टीको दशौं महाधिवेशनले टुंग्याएको विषय भएको भन्दै त्यसमै टेकेर अहिले एकताको विषय अघि बढाइएको बताए ।

उनले केन्द्रीय कमिटीमा बोल्ने ९९ प्रतिशत सदस्यले माओवादीसँग एकता हुने जिकिर गरे । ‘यहाँ बोल्ने ९९ प्रतिशत केन्द्रीय कमिटीका सदस्यहरूले आफ्नो धारणा राख्नुभएको छ,’ उनले भने ।

सम्मानित झलनाथ खनालको काम नै सधैँ निहुँ खोज्ने भएको उनको आरोप छ । माधव नेपालले दिउँसो १२ बज्यो भनेर भन्यो भने पनि रातको १२ बज्यो भनेर भन्ने खनालको बानी रहेको उनको भनाइ छ ।

घनश्याम कमरेड महाभारतको अभिमन्यु जस्तो नबन्नुस् :

एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य सुदेश पराजुलीले महासचिव घनश्याम भुसालले माओवादीसँगको एकताको विपक्षमा नउभिन आग्रह गरेका छन्। जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै अहिले वामपन्थीहरू बिचको एकता नै आवश्यक भएको बताए।

महासचिव भुसाललाई आग्रह गर्दै भने, ‘मेरो अनुरोध छ तपाई महाभारतको श्रीकृष्ण बन्ने कि चक्रव्युहमा अलमल परेको अभिमन्यु हुने रु तपाईँले बैठकमा राखेको विचार अलमल चक्रव्यूहमा फसेको अभिमन्यु जस्तो देख्छु । तपाई एकताको यात्री हुनुहोस् ।’

उनले पार्टी नेतृत्वले दुई अतिवादलाई लोकतान्त्रिक प्रणालीमा डोराएर ल्याउने काम गरेको स्मरण गरे।

उनले थपे, ‘एकातिर माओवादी अर्को तिर राजतन्त्रमा टाँसिएको गिरिजावाद लाई बुद्धिमत्तापूर्वक लोकतान्त्रिक प्रक्रिया डोराएको ल्याउनु भएको नेता हो वामपन्थभित्र भित्र्याएको एनजिओवाद पार्टीमा पनि भित्र पस्यो यो सबभन्दा खतराजनक छ ।’

अहिलेको अवस्थालाई सही र तथ्यगत आधारमा विश्लेषण गरेर १० औँ महाधिवेशन को फैसलालाई कार्यान्वयन गर्न आजको आवश्यकता रहेको बताए।

उनले भने, ‘हिजो केपी ओलीले प्रधानमन्त्रीको कुर्सी देखेर एकता गरे भयो, आजको एकता लागि राम्रो आधार तयार भएको छ अहिले गर्ने भनिएको एकता सुझबुझ पूर्ण दुर्दशी एकता हो अहिलेको यो पद एकता होइन यो नेकपाकालीन कम्युनिस्ट निर्माण हो। खोट देखाएर होइन, खोट मोटाएर अघि बढ्नुपर्छ ।’

माओवादीसँगको एकता प्रक्रियामा सामेल हुँदैनौँः रामकुमारी

एकीकृत समाजवादीका एकदर्जनभन्दा बढी नेताहरू एकतामा समाहित नहुने समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले बताइन्। पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले माओवादीसँग वाम एकता नभई पार्टी मर्जर हुन गइरहेकोले आफूसहितका केही नेताहरू एकतामा समाहित नहुने बताइन्।

पार्टी मर्जरको प्रक्रियाले वामपन्थी आन्दोलनलाई सुदृढ गर्नुको सट्टा र्पाीभित्र तानाशाही प्रवृत्तिलाई बढावा दिने उनको बुझाई छ। उनले वाम एकताका लागि एमाले लगायत अन्य राजनीतिक दलहरूसँग संवाद समेत नगरेका कारण दुई पार्टीबीचको मर्जरले मात्र विद्यमान समस्या हल गर्न नसकिने बताइन्।

वाम आन्दोलनलाई बलियो बनाउने कुरा भन्दा पनि केही नेताहरूको व्यक्तिगत एजेन्डा हाबी भएको कारण आफूहरु पार्टी एकतामा सामेल नहुने उनको भनाइ छ।

उनले भनिन्, ‘अहिले वाम एकताको कुरा चलिरहेको छ। यसमा पनि मुख्यतः नेकपा ९माओवादी केन्द्र० र नेकपा ९एकीकृत समाजवादी०बीच एकताको कुरा छ। एमाले र कमरेड विप्लवलगायतसँग संवाद समेत गरिएको छैन। यी दुई पार्टीबीच एकताको प्रक्रिया टुंगिएको बैठकहरुमा नै ब्रिफिङ गरिसकिएको छ। त्यसो भएको हुनाले यो दुईबीचको मर्जर हो यो। वाम एकता होइन। हामी वाम एकताको पक्षमा छौं। दुई पार्टी मर्ज हुँदा खासै राम्रो परिणाम चाहिँ दिएन। यस्तो खालको मर्जरले समस्याको समाधान दिँदैन भन्ने मेरो धारणा हो।’

उनले थपिन्, ‘पार्टीले बहुमतको निर्णय गरेर माओवादीसँग गएपनि एउटा ठुलो पँक्तीले आजदेखि पार्टीका थप अगाडिका कार्यक्रममा सहभागि नहुने निर्णय नै गरेका छौ। किनभने यसले समाधान दिँदैन। झन् पार्टीभित्रको आन्तरिक लोकतन्त्र कमजोर भएर नेतृत्वमा झन तानाशाही प्रवृत्ति हावी हुने सम्भावना छ।’

पार्टीले बहुमतको निर्णय गरेर माओवादीसँग जाने निर्णय गरे पनि ठूलो संख्यामा नेता कार्यकर्ताहरू त्यसप्रति असन्तुष्ट रहेको उनको भनाइ छ।

एकताको विपक्षमा उभिएका लक्ष्मण लम्सालले बहुमत पक्ष एकताकै पक्षमा उभिएको बताए। ‘हिजो ८८ जना केन्द्रीय सदस्य थपेको थियो, त्योसहित ४१९ जनाको केन्द्रीय कमिटी भयो,’ उनले नेपालखबरसँग भने, ‘त्यसमा अहिलेसम्म २ सयले बोले होलान। त्यसमध्ये बहुमतजसो एकताको पक्षमा देखिए।’ 

एकताको पक्षमा खुलेका नेता वामदेव गौतमले एमालेसँग पनि एकता गर्ने लक्ष्यसहित जानुपर्नेमा जोड दिएका थिए।  ‘बुझेर जानुपर्छ, सबै पार्टीहरूसित, यहाँसम्म कि एमालेसँग पनि जानुपर्छ,’ उनले बैठकमा भनेका थिए, ‘अब हामी यहाँबाट अगाडि बढ्छौँ, त्यहाँभित्र विद्रोह हुन्छ।’

तत्कालीन नेकपामा मतभेद हुँदा माधव नेपालसहितका नेताहरू अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा उभिएका थिए। सर्वोच्च अदालतबाट नेकपा एकता भंग भएपछि ब्युँतिएको नेकपा एमालेमा पनि त्यो संघर्ष र विवाद कायमै रहेपछि २०७८ भदौ ९ गते नेपालको अध्यक्षतामा नेकपा एकीकृत समाजवादी गठन भएको थियो।

नेपाली कांग्रेस, माओवादीसहित गठबन्धन गरेर जाँदा २०७९ को प्रतिनिधि सभा चुनावमा एकीकृत समाजवादीले प्रत्यक्षतर्फ १० सिट जितेको थियो। तर, समानुपातिकतर्फ ३ प्रतिशत मत ल्याउन नसकेपछि एकीकृत समाजवादी १० सिट हुँदा पनि राष्ट्रिय दल बन्न सकेको थिएन।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति