पूर्वसभामुखद्वय घर्ती र महराले फिर्ता गरे संसद्को गाडी

काठमाडौं १३ असोज । पूर्वसभामुखद्धय ओनसरी घर्तीमगर र कृष्णबहादुर महराले संसद् सचिवालयबाट लिएको गाडी सुविधा फिर्ता गरेका छन् ।

पूर्व सभामुखलाई मन्त्रिपरिषद्को निर्णयको आधारमा संसद् सचिवालयले गाडी सुविधा दिँदै आएको छ । गाडीका साथै आवश्यक इन्धर र सवारी चलाक सुविधा समेत प्राप्त गर्दै आएका छन् ।

तर, सरकारले हालै सेवानिवृत्त राजनीतिक तथा प्रशासनिक पदाधिकारीको सुविधा फिर्ता गर्न लगाउने निर्णय गरेको छ ।

प्रचलित कानुन बमोजिमबाहेक लिइरहेको सवारी साधन, जिन्सी सामान, सहयोगी र सुरक्षाकर्मी फिर्ता गर्न र अन्य सेवा सुविधा रोक्न अर्थ मन्त्रालयले गृह मन्त्रालय र रक्षा मन्त्रालयलाई पत्राचार नै गरेको छ ।

यही असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले अनुत्पादक खर्च कटौती तथा मितव्ययीता कायम गर्ने भनेर विभिन्न निर्णय गरेको थियो । सोही निर्णयमा टेकेर अर्थ मन्त्रालयले सेवानिवृत्त राजनीतिक तथा प्रशासनिक पदाधिकारीको सुविधा फिर्ता गर्न लगाउने निर्णय गरेको हो ।

त्यसपछि संघीय संसद् सचिवालयले पनि सेवानिवृत्त राजनीतिक पदाधिकारीसँग सम्पर्क गरेको थियो । त्यसपछि पूर्व सभामुख घर्ती र महराले गाडी सुविधा फिर्ता गरेका हुन् ।

संसद् सचिवालयका अनुसार उनीहरूले आइतबार गाडी फिर्ता गरेका हुन् ।

पूर्व सभामुख अग्निप्रसाद सापकोटा र तारानाथ रानाभाटले पनि गाडी फिर्ता गर्ने प्रतिबद्धता जनाइसकेका छन् । ‘दशैं बिदा सुरु भइसकेकाले बिदा सकिने वित्तिकै गाडी फिर्ता गरिदिने प्रतिबद्धता आएको छ,’ संसद् सचिवालयको सवारी शाखाले भनेको छ ।

राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसा तिमिल्सिनाले पनि गाडी फिर्ता गरिसकेका छन् ।

संसद् सचिवालयको गाडी नियम विपरीत चढ्नेहरू अझै बाँकी रहेको सम्बन्धित अधिकारीहरू बताउँछन् ।

प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको नेतृत्वको सचिवालयमा रहेका सहसचिवस्तरका व्यक्तिले समेत गाडी सुविधा लिइरहेका छन् । कानुन विपरीत लिएका ती गाडी पनि फिर्ता गराउनेबारे छलफल चलिरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति