गुण्डुमा सचिवालय बैठक भइरहँदा बिन्दा पाण्डेबाट ओलीलाई मार्गप्रशसत गर्न सुझाव

काठमाडौं १२ असोज । नेकपा एमालेकी नेता बिन्दा पाण्डेले जेनजीको आक्रोश समीक्षा गर्दै ठूला दलका शीर्ष नेताले बाटो प्रशस्त गर्नु पहिलो कदम हुने बताएकी छन् ।

जेनजी आन्दोलनले उठान गरेका विषय र उनीहरुको भावना बुझ्न हरेकले आफ्नो परिवार, आफन्त र छिमेकका त्यही समूहका युवाहरुको कुरा धैर्यतापूर्वक सुने मात्र पनि पुग्छ’ भक्तपुरको गुण्डुमा एमाले सचिवालय बैठक चलिरहेका बेला पाण्डेले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘यस सन्दर्भमा राजनीतिक नेतृत्व सबैभन्दा बढी विवेकी बन्नु आजको आवश्यकता हो ।’

यस अन्तर्गतको पहिलो कदम ठूला दलका शीर्ष नेताले बाटो प्रशस्त गर्नुपर्ने उनको धारणा छ । ‘उनीहरुको भावनाको सम्वोधनः ठूला दलका शीर्ष नेताप्रति उनीहरुको आक्रोशको समीक्षा गरी बाटो प्रशस्त पहिलो कदम हुनेछ,’ पाण्डेले लेखेकी छन् ।

बाँकी नेतृत्वले पनि आफू, आफू संलग्न पद र संस्थाको गहन समीक्षा गरेर नीति, विधि, नेतृत्वको रुपान्तरणसहित आमनागरिक बिच सहज स्वीकार्य बन्ने काममा ढिलाइ गर्न नहुने उनको सुझाव छ ।

सुशासनका वाधकहरुको पहिचान गर्दै आवश्यक कारबाहीको निरन्तर प्रक्रिया नै आमरुपमा लिनुपर्ने बाटो भएको उनको बुझाइ छ । उनी लेख्छिन्, ‘यसका लागि पहिलो पुस्ताको बिदाइ, अनि जेन–वाई र जेडलाई अग्रस्थानमा राखेर जेन–एक्सको मेन्टरिङको भूमिका स्थापित गर्दै अगाडि बढ्ने विषय अबको कामको केन्द्रबिन्दु बन्नु जरुरी छ ।’

युवाहरुको बुझाइ परिपक्व छ भन्ने कुरा देखिसकिएको उल्लेख गर्दै उनी थप्छिन्, ‘जिम्मेवारीमा सक्षम र कुशल बनाउने काम हाम्रो पुस्ताको पनि हो ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति