अध्यक्ष कमरेडलाई केही भइहाल्यो भने के गर्ने ? सबै ‘ह्यान्ड्स अप’ गरेर जाने ? सबैले सम्मान र श्रद्धा गर्दागर्दै,घनिष्ठता हुँदा हुँदै समयमै नेतृत्व छाड्दा सधैं उहाँको गाइडेन्स लिन पाइन्छ
मुख्य कुराहरूमा कतिपय कुरा पुरक छ भनेर मैले भनेको छु । एउटा राष्ट्रिय स्वाधीनता, संविधान र लोकतन्त्रको रक्षाको प्रश्न गम्भीर भएको छ, त्यसमा राष्ट्रिय स्वाधीनताको प्रश्न हामी अत्यन्तै सजग भएर अगाडि बढ्नुपर्ने आवश्यकता छ, त्यसको रक्षाको निम्ति । हन्ड्रेड पर्सेन्ट हामी लिडरशिप एक ठाउँमा छौँ । हामीले जेन्जी मुभमेन्ट मूलभूत रूपमा युवा तरुणहरूको भ्रष्टाचार विरुद्ध, बेथितिविरुद्धको आवाज हो, विध्वंसात्मक चेतको अभिव्यक्ति हो, त्यसको सम्मान गर्नुपर्छ भन्यौं ।
र, त्यसलाई हामीले सम्बोधन जति गर्न सकिन्छ, त्यति गर्नको निम्ति जोड दिनुपर्छ अहिलेको प्रक्रियामा पनि । त्यसमा पनि हाम्रो सहमति छ । अर्को कुरा, हामी इलेक्सनमा चाहिँ जानुपर्छ । घोषित मितिमा निर्वाचन सम्पन्न गर भन्ने कुरालाई मुख्य बनाउनुपर्छ । निर्वाचन के हुन्छ भन्ने कुरामा दुविधा र आशंकाको स्थिति छ । तर, हाम्रो समेत प्रेसरले सकेसम्म निर्वाचन हरहालतमा घोषित मितिमा सम्पन्न गराउने ठाउँमा पुग्नुपर्छ र चुनावमा राम्रो रिजल्ट ल्याउने तयारी पनि गर्नुपर्छ । त्यसमा सहमति ।
चौथो कुरा त्यस निम्ति पार्टीलाई रिफर्म र रिअर्गनाइज गर्नुपर्छ । पुनर्गठनको प्रक्रियामा जानुपर्छ, त्यसको कुरामा हामी सहमति । पाँचौँ कुरा त्यसको निम्ति हामी अहिले छलफल, बहस गरेर केही कदम चाल्दै हामी महाधिवेशनसम्म पुग्नुपर्छ, त्यो महाधिवेशनमा हामीले गर्नैपर्छ भन्ने कुरामा सहमति, यो हाम्रो कन्सेन्ससको हाम्रो प्रपोजल हो । त्यसमा हाम्रो कुनै दुविधा छैन ।
अब दुईटा कुरामा चाहिँ मैले अलिकति फरक कुरा राखेको थिएँ । एउटा चाहिँ लिडरशिपमा अहिले के गर्ने भन्ने बारे साथीहरूले पनि त्यसमा ल है तपाईँले सोच्दिनुपर्यो भनेर राख्नुभएको छ, कतिपयले अलि बढी कडा शब्दमा राख्नुभएको छ, कतिपयले अलि विचार गर्नुस् भन्नुभएको छ, त्यो आफ्नो ठाउँमा सही नै छ ।
मैले लिडरशिपको बारेमा के भन्न चाहन्छु भने हामी मार्क्सिस्टहरूले लिडरशिपलाई जनवादी केन्द्रीयताको अभ्यास, सामूहिक नेतृत्व र केन्द्रीकृत अभिव्यक्तिको रूपमा बुझ्नुपर्छ । जनवादी केन्द्रीयताको अभ्यास त्यतिखेर राम्रो हुन्छ जब वैचारिक सांस्कृतिक स्तर हाम्रो उन्नत हुन्छ, त्यतिखेर सामूहिक नेतृत्वको निर्माण हुन्छ र सामूहिक नेतृत्वको केन्द्रीकृत अभिव्यक्ति मूल नेतामार्फत हुन्छ ।
लिडरशिपको हाम्रो कन्सेप्ट यो हो र त्यस अर्थमा हाम्रो सामूहिक नेतृत्वको केन्द्रीकृत अभिव्यक्ति लामो कालसम्म अहिले सम्म पनि अध्यक्ष कमरेडमार्फत हुँदै आएको कुरा सत्य हो । तर, एकछिन तपाईँ चाहिँ एक्काइसौँ शताब्दीको जनवादको दस्तावेज पढ्नुस् । अहिले यहाँ भनेका पदाधिकारी साथीहरू जसले सामेल भएर एक्काइसौँ शताब्दीको डेमोक्रेसीको प्रस्ताव पारित गर्नुभयो, छुन पनि मिल्दैन ।
हामीले पछि पनि छलफल गरेअनुसार हामीले नयाँ ढंगले फेरि लिडरशिपलाई परिभाषित त गर्नैपर्छ । अध्यक्ष कमरेडकै भाषामा एक्काइसौँ शताब्दीको जनवादको डकुमेन्टमा नमरेसम्म, ओठ चलाउँदासम्म लिडरशिपमा बसिरहने यो अत्यन्तै गलत छ र सम्पूर्ण रूपमा चाहिँ त्यो ढंगले ओरिएन्टेसन गर्ने कुरा गलत छ, त्यसले बर्बाद गर्यो भन्नुभएको छ र त्यहाँ चाहिँ कसरी बाहिर भित्र सरकारमा जाने, कसरी बाहिर बस्ने, कसरी चाहिँ लिडरशिपलाई नयाँ ढंगले परिभाषित गर्ने भन्ने कुराको नि गरिएको छ ।
मैले भनेको के भने- अध्यक्ष कमरेडको त्यो ऐतिहासिक भूमिका र आजसम्म पनि गर्नुभएको भूमिकालाई निषेध गर्ने प्रवृत्तिको विरुद्ध वा आक्रमण गर्ने प्रवृत्तिको त हामी जानुपर्छ । त्यसलाई रिकग्नाइज गर्नुपर्छ, उच्च मूल्यांकन गर्नुपर्छ, डिफेन्ड गर्नुपर्छ । तर, एउटा कुरो चाहिँ गैरमार्क्सिस्ट पनि हो, यथार्थ पनि होइन । अध्यक्ष कमरेड नभइदिएदेखि यो पार्टी विघटन र विसर्जन हुन्छ भन्ने चिन्तन अधिभूतवादी चिन्तन हो ।
अध्यक्ष कमरेडलाई केही भइहाल्यो भने के गर्ने ? सबै ह्यान्ड्स अफ गरेर जाने ? त्यस्तो कुरा नहुने होइन । त्यो सत्य होइन, अहिले अध्यक्ष कमरेडकै नेतृत्व चाहिन्छ भन्ने सम्म ठीक छ । तर, अध्यक्ष कमरेड नभए यो पार्टी विघटन र विसर्जन हुन्छ भन्ने कुराले गैरमार्क्सिस्ट अवधारणा हो । यो पार्टी चल्छ, चलाउनुपर्छ, हामीले पूरै मेहनत गर्नुपर्छ । एउटा कुरा । दोस्रो कुरा चाहिँ के त भन्नुहोला भने कुनै पनि नेतृत्वलाई अध्यक्ष कमरेडकै भाषामा अमर र देवता ठान्नुहुन्न । हामीले क्रिटिकल्ली नै हेर्नुपर्छ, अध्यक्ष कमरेडको सम्बन्धमा पनि त्यही हो । हैन ? यो दुईटा कुरामा चाहिँ हामी क्लियर हुनुपर्ने आवश्यकता छ ।

अब रह्यो अहिले त्यसको निम्ति त्यसो भए यो लिडरशिप अहिले छोड्नुपर्ने अहिले चाहिँ किन राखेको त भन्ने प्रश्न आयो । त्यसको सन्दर्भमा मैले के भन्न चाहन्छु भने कहिलेकाहीँ टाइमली डिसिजन, श्रद्धा गर्दागर्दै, सम्मान गर्दागर्दै, व्यक्तिगत रूपमा यस्तो घनिष्ठता हुँदाहुँदै, साथै मिलेर काम गरेर अझै पनि गाइडेन्स लिनुपर्ने आवश्यकता, भूमिकाको निरन्तरताको आवश्यकता महसुस गर्दागर्दै पनि आन्दोलनलाई हेरेर, देशलाई हेरेर, संगठनलाई हेरेर गर्नुपर्ने हुन्छ । टाइममा के गरिन्छ भन्ने कुरा धेरै भर पर्छ ।
यहाँ केही कमरेडहरूले अर्काले माग गरेको कुरा हामी पनि भन्ने ? भन्नुभो केपीको रेजिग्नेसन हामीले राति नै हुनुपर्छ भन्यौँ । नत्रभने ठूलो डिस्ट्रक्सन हुन्छ भन्यौँ । राति दिएनन्, ठूलो डिस्ट्रक्सन भयो । अरुले माग गरे सबैले । हामीले चाहिँ अरुले माग गरेको कुरा हामीले माग गर्ने भन्नुहुन्छ र ? अहिलेको परिस्थितिमा मैले के भनेको भने यतिखेरको परिस्थितिमा अध्यक्षको नेतृत्वलाई हिस्टोरिकल रोल र अहिलेको रोललाई रिकग्नाइज गर्दै, सम्मान गर्दै उहाँको भूमिकालाई पनि अहिले चाहिँ ठीक ढंगले फेरि पुनर्भाषित गर्दै यतिखेर चुनावमा आन्दोलनमा जानु उपयुक्त हुन्छ भन्ने यो डिबेट हुन सक्छ ।
बेठीक छ भने साथीहरू यो बेठीक हुन्छ, अहिले त्यसो नगरौँ भन्न चाहिँ ठीक छ । तर, यसलाई विषयान्तर नगरौं । यो यतिखेर ठीक हुन्छ कि हुँदैन भन्ने कुरा एकचोटि हेरौँ भोलि । मलाई के लाग्छ भने साथीहरूले केपीले राति राजीनामा नदिएर भएको दुर्गति जस्तै हाम्रो दुर्गति हुन नपरोस् भन्ने कुरामा सचेत हुनु जरुरी पर्छ । हेरौँ न हामी । अथवा त्यसो गर्दा अध्यक्षलाई निषेध गर्न खोज्ने ? साम्राज्यवादीलाई सेवा गर्न खोज्ने ? भन्ने होइन ।
अहिलेको वस्तुस्थितिको सटिक विश्लेषण गरौँ । त्यसो गर्दा अहिले राम्रो हुन्छ । अध्यक्षज्यूसँग मेरो निरन्तर छलफल भइरहेको छ, अहिले पनि छलफल हुन्छ। त्यसैले मैले त्यो कोणबाट मात्रै भनेको हो । अर्को कुरा चाहिँ तैँले कार्यवाहक अध्यक्ष मागिस्, पदलोलुपताको, पदलोलुप, महत्वाकांक्षाको प्रदर्शन गरिस् भन्ने कुरा । अध्यक्ष कमरेडलाई अनावश्यक आरोप लगाऊँ भनेको हो ? छत्तीस वर्षमा पद लिएर नि पुगेन, अझै चाहिएको छ भन्ने कुरा सत्य हो ? होइन । त्यो कुरा ठीक होइन ।
म के मान्छु भने पदलोलुप भएर होइन, परिस्थितिको विश्लेषणले, पार्टीको अहिलेको यथार्थमा अरुमा सेन्ट्रलाइज हुन्छ कि हुँदैन भन्ने लागेको होला । अहिलेको परिस्थितिमा कसरी यसलाई जित्ने भन्ने पनि लागेको होला । त्यसकारणले अहिले नै छाड्नु हुन्न, यो मिलाएर छोड्छु भनेको होला कि भनेर म यसरी पोजिटिभल्ली पनि हेर्छु । तर पदलोलुप, भाषा एउटा-एउटा कुरा गरे पनि भनेर भन् भनेको हो तपाईंहरुले ? त्यस्तो त हुँदैन नि !
मैले अहिलेको परिस्थितिमा अध्यक्षले अध्यक्ष पद छोडेर जानु उपयुक्त हुन्छ । उहाँलाई नयाँ भूमिकामा, गाइडेन्सको भूमिका राख्ने, प्रतिक्रियावादीको आक्रमणबाट रक्षा गर्ने, उहाँको सम्मान गर्ने सबै गर्ने हो, हामीलाई उहाँको भूमिका चाहिन्छ तर फरक मोडालिटीमा चाहिन्छ भनेर भनेको हो । त्यसकारणले मैले कार्यवाहक अध्यक्ष मागेको होइन नि अहिले । ख्याल गर्नुस् है, मैले मागेको भनेको त अध्यक्षले अहिले छोड्नु राम्रो हुन्छ, छोड्यो भने त पार्टी सेन्ट्रल कमिटीले वा जसले निर्णय गर्छ, त्यही निर्णयअनुसारको अध्यक्ष बन्छ नि ! तर मैले थप के भनेको हो भने होइन, त्यसो नगर्ने ।
सबैलाई सहभागी गराएर एउटा प्रक्रियामा गएर छोड्ने हो भने पनि अहिले कार्यवाहक दिऊँ, सिस्टमअन्तर्गत मात्रै भनेको हो । व्यक्ति कसलाई छान्ने भन्ने प्रक्रियामा नजाऊँ, सिस्टमअन्तर्गत कार्यवाहक अध्यक्ष दिऊँ भनेको मात्रै हो मैले ।
दोस्रो- मैले त अध्यक्ष कमरेडलाई धेरैपटक भनेको थिएँ, मलाई यस्तो पनि लाग्छ कहिलेकाहीँ कि यो सबै पार्टी हेर्दाखेरि तपाईँको लिडरशिपमा तपाईं पनि थाकेर यो पार्टी चाहिँ क्रान्तिकारी पार्टी बनाउन सकिन्छ कि सकिँदैन, रुपान्तरण गर्न सकिन्छ कि सकिँदैन भनेर बेलाबेलामा उहाँले यो पार्टी विसर्जन गर्ने पनि हुन्छ भनेर त भनेकै हो नि त सार्वजनिक रूपमै ।
त्यति सजिलो छैन यो पार्टीलाई अहिले रुपान्तरण र पुनर्गठन गर्न, धेरै भ्रष्टिकरण पनि भइसकेको छ । वैचारिक सांस्कृतिक रुपले धेरै स्खलित भइसकेको छ, त्यो सत्य हो । त्यसकारणले त्यो अभिव्यक्तिहरू आइराखेको छ । तर, साहस गर्नुपर्छ है, गरौँ, अर्को विकल्प छैन भनेर हामीले मेहनत गर्न खोजेकै हो । मैले त अध्यक्ष कमरेडलाई भनेको थिएँ, अध्यक्ष कमरेडको लिडरशिपसँगसँगै त्यस्तो मिल्यो भने यो पार्टी रुपान्तरण र पुनर्गठन अध्यक्ष कमरेडको नेतृत्वमा हुन्छ, यो एकताबद्ध, क्रान्तिकारी र शक्तिशाली पार्टी बन्छ भने सँगसँगै छोड्न पनि स्थिति बन्न सक्छ है पनि भनेको थिएँ ।
तर, शर्त हो यो पार्टी एकताबद्ध, क्रान्तिकारी, शक्तिशाली पार्टीको रूपमा रूपान्तरित र पुनर्गठित नै हुनुपर्छ। मैले त्यति यो भनेको। तर म अहिले आफ्नो तर्फबाट चाहिँ भन्न चाहन्छु, मलाई अध्यक्षले विश्वास गर्नुभयो, पार्टीका साथीहरूले विश्वास गर्नुभयो, एकचोटि अध्यक्ष भएर हेर् त भन्नुभयो भने एक टर्ममात्रै गर्छु म । एउटा महाधिवेशनदेखि अर्को महाधिवेशन । त्यसपछि म कार्यकारी प्रमुखको भूमिकामा संगठनमा रहन्नँ । यो मेरो प्रतिबद्धता हो ।
त्यतिमात्रै होइन, पचहत्तर वर्षको उमेर, सत्तरीदेखि पचहत्तर वर्षको उमेर सम्ममा म कतिखेर सम्पूर्ण राजनीतिक, सक्रिय राजनीतिबाट, पार्टी संगठनको र राज्यको सम्पूर्ण भूमिकाबाट अलग भएर देश र जनतालाई नयाँ ढंगले, नयाँ रुपमा सेवा गर्ने पनि मेरो प्रतिबद्धता छ। त्यसकारणले म त्यसमा क्लियर नै छु । त्यसमा छलफल गर्दै जाऊँ ।
(माओवादी केन्द्रीय कमिटी बैठकमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठको सम्बोधनको सार)
प्रतिक्रिया