- ओलीको सचिवालयका बिचौलियाले मेटाको आधिकारिक एजेन्सी प्राप्त गर्न असफल भएपछि ओली र उनका सञ्चारमन्त्रीलाई अघि सारेर सबै सोसल साइट नै बन्द गराउने प्रपञ्च रचिएको थियो।
आश्विन १०, २०८२

शुभशंकर कँडेल
नेपाल मिडिया सोसाइटीका अध्यक्ष समेत रहेका पत्रकार शुभशंकर कँडेल समसामयिक बिषयमा लेख्छन् ।

समकालीन राजनीतिक जीवनको मूल चुनौती भनेको निश्चित तरिकाले मतदान गर्नका लागि निश्चित प्रकारको काम गर्ने मानिसलाई कसरी प्रेरित गर्ने भन्ने नै हो । यसबारेमा असल नेताहरूले मानिसलाई उज्ज्वल भावनाहरू– आशा, आकांक्षा, सुन्दर जीवनबारेका प्रेरणादायी दृष्टिकोणमार्फत प्रेरित गर्छन् । तर अचेल र सम्भवतः सधैं, राजनीतिक स्पेक्ट्रमभरका नेताहरूले अन्धकारपूर्ण आक्रोशित भावनालाई उत्तेजित गर्न धेरै सजिलो बाटो समात्दै आएको वैश्विक आयाम देख्न सकिन्छ ।
यसलाई मनोवैज्ञानिकहरूले नकारात्मकतापूर्ण पूर्वाग्रह भन्छन् । यही उपक्रममा सन् २०११ मा विश्व पुँजीवादको नाभी न्युयोर्कबाट सुरु भएको अकुपाइ आन्दोलन वैश्विक लहरसँगै र्याडिकल रूपमा विकेन्द्रित ‘नेतृत्वहीन’ सामाजिक आन्दोलनबारे राजनीतिक चासो आकर्षित गरेको थियो ।
सन् २०११ को विरोधलाई डिजिटल युगका लागि पूर्ण रूपमा नयाँ प्रकारको राजनीतिक अभियानसमेत भनियो । यसलाई कम प्रतिनिधित्व भएका मानिसलाई ‘आवाज दिने’ माध्यमका रूपमा वा ‘हाइब्रिड आन्दोलन’ देखि अझै अघि बढेर ‘पूर्ण सेवाकेन्द्रित आन्दोलन’ सम्मका नामले पुकारिएको छ । क्रान्तिकारी सम्भावना अझै अपूर्ण रहेको ‘फ्ल्यास आन्दोलन’ का रूपमा धेरै विद्वान्ले विश्वभरका अकुपाइ आन्दोलनको संश्लेषण गर्ने उद्यम जारी राखेका छन् ।
सन् २०११ पछिका वर्षमा अकुपाइ आन्दोलनहरूको राजनीतिक वा ऐतिहासिक महत्त्वका बारेमा निरन्तर बहस भएको छ । नेतृत्वविहीन आन्दोलनसँग संगठित रूपमा प्रभावकारी ढंगले सञ्चालन गर्ने संरचनात्मक गुणहरूको अभाव स्वाभाविक छ । अकुपाइ शैलीका आन्दोलनले कथित नेतृत्वहीनता र सहभागी लोकतन्त्रको निर्णय प्रक्रियाको कारणले महत्त्व प्राप्त गरेको तथ्यलाई बेवास्ता गर्न नसकिने वास्तविकता बन्दै छ ।
बारम्बार आह्वानहरूका बाबजुद, सामाजिक आन्दोलनहरूभित्र नेतृत्वको समस्याग्रस्त आयाम नसुल्झिएको नयाँ क्षेत्र बढ्दो रूपमा प्रकट हुने क्रममा नेपालमा जेन–जी विस्फोट उद्घाटित भएको छ । यो आन्दोलनमा कोही पनि नेता थिएन, सबै नेता थिए । सन् २००० को दशकको सुरुमा इन्टरनेट फोरमहरूमा प्रयोग हुने एउटा साझा ‘ट्रोल’ समूहबाट विकसित हुँदै सन् २००८ पछि एउटा संगठित ‘ह्याक्टिभिस्ट’ (ह्याकिङ र एक्टिभिजम) समूहका रूपमा देखिन थालेको थियो ।
यो समूहले ज्ञानका लागि ज्ञान, अभिव्यक्ति स्वतन्त्रता र सूचनाको खुला प्रवाहजस्ता लोकप्रिय बनेका मानवीय आवश्यकताका अनिवार्य जीवनशैलीलाई पछ्याउँछ । ‘ह्याक्टिभिजम’ लाई वेबसाइट डिफेसमेन्ट, सूचना चोरी, वेबसाइट प्यारोडी, डिनायल–अफ–सर्भिस आक्रमण, भर्चुअल सिट–इन र भर्चुअल तोडफोडजस्ता ‘गैरकानुनी वा कानुनी रूपमा अस्पष्ट डिजिटल उपकरण’ को राजनीतिक उद्देश्यका लागि अहिंसात्मक प्रयोगका रूपमा परिभाषित गरिएको छ (बार युसेफ एन, साइबर क्राइम, २०१०) ।
अहिले एक्स, टेलिग्राम, डिस्कर्ड, टिकटक र रेडिटजस्ता प्लाटफर्महरू मुख्य रूपले विश्वव्यापी र भूराजनीति स्वार्थ साध्ने अस्त्रका रूपमा प्रयोग भइरहेका छन् । यस्ता प्लाटफर्महरूले मोडरेसन र सरकारी निगरानीको जोखिमलाई बढाउँदै जाँदा वैयक्तिक स्वतन्त्रतासमेत अकल्पनीय रूपले जोखिममा पर्दछ । नेपालको पछिल्लो घटनाले झन्डै यही त्रासलाई व्यावहारिक रूप दिनै लाग्दा राष्ट्रपति रामचन्द्र पौडेलको शब्दमा ‘अनेक जुक्ति’ जोगिन पुगेको छ ।
सामाजिक सञ्जालले जेन–जी आन्दोलनका लागि स्नायु प्रणालीका रूपमा काम गर्ने शैलीलाई विशेषगरी डिस्कर्ड, एक्स र रेडिटजस्ता प्लाटफर्महरूले ह्यासट्यागहरू (जस्तैः अपयुक्रेन, फ्रि–प्लोस्टाइन र नेपालमा एगेन्स्ट करप्सन) मार्फत आफ्नो अभियानमा ऊर्जा भरेका थिए । गुमनाम प्रयोगकर्ताहरूले मेनिफेस्टो–एजेन्डा पोस्ट गर्नेदेखि लक्षित व्यक्तिहरूको डेटा चोर्न (डक्सिङ) स्वयंसेवकलाई आकर्षित गरेका थिए ।
प्लाटफर्महरूले विरोध प्रदर्शनलाई ‘भाइरल मेनिफेस्टो’ (विरोधका लागि घोषणापत्र) भनेको छोटो, प्रभावकारी भिडियो वा थ्रेडहरूमार्फत भ्रष्टाचारका प्रमाणहरूको चर्को अपिलद्वारा युवाहरूलाई सडकमा उतार्न उत्प्रेरित गर्न सफल भएका छन् । सामाजिक सञ्जालमा क्रस–पोस्टिङ भाइरल बनाएर त्यस्ता अभियानलाई उत्तेजित बनाउनु त सामान्य नै भइहाल्यो ।
नेपालमा कथित भ्रष्टाचारविरोधी भनिएको अभियानमा यही शैली अपनाइएको थियो । सन् २०२४ देखियता विश्वव्यापी ‘ह्याक्टिभिस्ट’ हरूले टिकटकको एल्गोरिदमिक ‘फ्ल्यासमब’ को प्रयोगद्वारा जेन–जीलाई विरोध प्रदर्शनका लागि सहभागी गराउँदै अनलाइन समन्वयलाई अफलाइन विस्फोटसँग मिश्रण गर्न सफल भएको देखिन्छ । काठमाडौंमा विद्यार्थीहरूले ‘भ्रष्टाचारको अन्त्य गर’ भन्दै ह्यासट्याग करप्सन फ्री नेपाल वा जेन–जी रिभोलुसनलगायतका रिल बनाएका थिए ।
यिनले सरकारी भ्रष्टाचारका मीमहरू, एनिमेसनहरू र प्रत्यक्ष सडक प्रदर्शनका आक्रोशित दृश्यलाई थप आकर्षक तरिकाले फैलाइएका थिए । त्यसको प्रतीकात्मक आगोको कहिल्यै समन नहुने झिल्को जसरी ‘नेपोकिड्स’ बारेको एक रिलले २४ घण्टामा १८.५ मिलियन भ्युज पाएबाट हजारौंलाई सडकमा उतार्न प्रेरित गर्नु स्वाभाविक थियो ।
एक जेन–जी कार्यकर्ताले ‘ह्यासट्याग ओलीडाउन’ थ्रेडमा सरकारी भ्रष्टाचारका १० वटा प्रमाण पोस्ट गर्दा ५० हजारभन्दा बढी रि–ट्वीट देखिनुले यसको डढेलोसरी प्रभाव अनुमान गर्न सकिन्छ । थ्रेडहरूले लिंकहरू साझा गर्दै टिकटक भिडियोहरूमा डाइरेक्ट गरेर क्रस–प्लाटफर्म प्रवर्धन गरिरहे । प्लाटफर्महरूले विरोधलाई ‘भाइरल’ बनाउँदा उनीहरूको एल्गोरिदमले भावनात्मक रूपले आक्रोशपूर्ण चर्का सामग्रीलाई प्राथमिकता दिन्छ, जसले दैनिक १० लाखभन्दा बढी भ्युज उत्पन्न गरेको थियो (दि हिन्दु, १३ सेप्टेम्बर) ।
सामाजिक सञ्जालले ‘बर्नर’ प्रोफाइलहरूलाई इन्क्रिप्टेड लिंकहरू साझा गर्ने सुविधा दिएर थप सहज बनाइदिएका छन् । अज्ञात उत्तेजित समूहहरूले ‘हामी लिजन हौं’ भन्ने कुरालाई मात्र चर्को गरी उठाउँछन् । यस्ता अभियानमा कुनै एकल अनुहारले समूहलाई प्रतिनिधित्व नगर्ने हुँदा गिरफ्तारीको जोखिम पनि कम हुन्छ ।
यसले जेन–जी पुस्ताको निर्भयताको आक्रोशलाई अरू बढी उद्वेलित गर्दछ । हालैका एक्स पोस्टहरूले ‘अफटिकटक’ (टिकटकको गुमनाम पहुँचका लागि) वा सिग्नलजस्ता सुरक्षित सन्देश उपकरण सिफारिस गर्दै आएका छन् । प्रदर्शनकारीहरूले सरकारी भवन, निजी निवासमाथि आक्रमण गरिरहँदा लाइभ–ट्वीटिङ वा डिस्कर्ड स्ट्रिमहरूले अपडेट गरेर ‘डीडीओएसको वृद्धिलाई—एलओआईसी फोर्कमार्फत ‘सहभागी होऊ’ भन्ने आह्वान गरिरहेका थिए ।
२०२५ जुनमा इजरायल–इरान तनावका बीच ह्याक्टिभिस्ट गतिविधि ४६ प्रतिशतले बढेको थियो । एनोनिमस–सुडानजस्ता प्रो–प्यालेस्टिनियन समूहहरूले मेनिफेस्टोका लागि एक्स र इजरायली साइटहरूमा डीडीओएस समन्वयका लागि डिस्कर्ड प्रयोग गरेका थिए । ‘जोम्बी बट्नेटहरू’ (ह्याक गरिएका उपकरणहरू) सामाजिक सञ्जाल अपिलमार्फत भर्ती गरिएको थियो ।
सन् २०२४ मा इरानसम्बद्ध ह्याक्टिभिस्टहरूले अमेरिकी रक्षा डेटा टेलिग्राममा चुहाइदिएपछि विश्वव्यापी आक्रोश व्यक्त गर्न एक्समा क्रसपोस्ट गर्ने शैली अपनाएका थिए । ह्याकफर गाजाजस्ता ह्यासट्यागहरूले ५ लाखभन्दा बढीको संलग्नता र स्वयंसेवक आकर्षित गरेको देखिन्छ । अमेरिकामा सिग्डसेक (एलजीबीटीक्युप्लस एनोनिमस) जस्ता समूहले सन् २०२४ मा ट्रम्पनिकट हेरिटेज फाउन्डेसनलाई विच्छेद गरिदिएका थिए । उनीहरूले चोरेका डेटा एक्स र टिकटक भिडियोमार्फत बाहिर ल्याइएको थियो ।
विश्वव्यापी रूपमा सन् २०२४ मा नोनेम–०५७ (१६) जस्ता केही समूहले नेटो सहयोगीलाई लक्षित गरेका थिए भने ‘आइन क्यानन’ डीडीओएस आमन्त्रणका लागि सामाजिक सञ्जालबाट एलओआईसीको प्रयोग गरेका थिए । नेपालको २०२५ जेन–जी आन्दोलनमा भ्रष्टाचारविरोधी कार्यकर्ताले ज्याक डर्सीको ब्लुस्काई (विकेन्द्रीकृत, गुमनाम–अनुकूल) प्रयोग गरी मेस नेटवर्कमार्फत अफलाइन समन्वय गरेका थिए ।
ह्यासट्याग ‘अपडेथइटरर्स’ (पेडोफाइल–हन्टिङ, एनोनिमससँग आबद्ध) जस्ता अधिनायकवादविरोधी अभियान डार्क वेब फोरमहरूमा एक्सबाट प्रवर्धित गरेर चलाइएको थियो । आन्दोलन समन्वय गर्नका लागि प्लाटफर्महरू टेलिग्राम/डिस्कर्ड च्यानलहरू, एक्स स्पेसहरू सञ्चालन योजनाका लागि गुमनाम समूह च्याटहरू एआईमार्फत एजेन्डा ड्राफ्टिङका लागि च्याटजीपीटीहरू प्रयोग भएको उनीहरूकै डिस्कर्ड च्यानलमा प्रयोग भएको शैलीबाट पुष्टि हुन्छ ।
‘रिटेन्सन ह्याक्स’ (टिकटकजस्ता प्लाटफर्महरूको एल्गोरिदमलाई ‘गेम’ गर्ने प्रविधिहरू) ले भिडियोहरूको दर्शक कायम राख्ने समय बढाएर थप दर्शकसम्म पुर्याउँछ । टिकटकको एल्गोरिदमले भिडियोको ३ सेकेन्डभित्रै आकर्षक सुरुवात (हुक) र सम्पूर्ण अवधिसम्म हेर्ने (रिटेन्सन दर) ७० प्रतिशतभन्दा बढी छ भने यो ‘फर यू’ पेजमा पुगेर लाखौं दर्शक आकर्षित गर्दछ ।
यसमा हुक र टिजरहरू पनि विशेष हुन्छन् । भिडियोको सुरुमा प्रश्न वा आकर्षक लाग्ने तथ्य राख्ने, जस्तै ‘के तपाईंलाई थाहा छ ओलीले १० करोड कमिसन हान्दिए ?’ एउटा टिकटक भिडियोमा प्रयोग हुँदा यसले ९० प्रतिशत बढी रिटेन्सन दर पाएपछि २ लाख पटक सेयर भएको छ । एनोनिमसले ‘गीकहरूको हतियार’ को बढ्दो आकर्षण जहाँ एक विशेषाधिकार प्राप्त र दृश्य अभिनेताहरूको वर्गद्वारा प्रयोग गरिने राजनीतिको एक रूप बन्दैछ । यस्तो शैली प्रायः आर्थिक जीवनको केन्द्रमा खडा हुन्छन् । एनोनिमसले हरेक सफल कारबाही अघि र पछि प्रचार खोज्ने प्रवृत्ति देखाउँछ ।
ट्रेन्डिङ साउन्ड र ड्युएट पनि भरमार प्रयोग भयो । लोकप्रिय नेपाली गीतहरू– रेशम फिरिरी आदि शैलीअन्तर्गत भ्रष्टाचारका मीमहरू ओभरप्ले गराएर ड्युएट फिचर प्रयोग गरी अर्काको भिडियोमा आफ्नो सन्देश हालियो । यसो गर्दा चेन रिएक्सन भएर काठमाडौंको एउटा साइबर समूहले ह्यासट्याग ‘ब्यान–हटाओ’ ट्रेन्डमा पाँच सयभन्दा बढी ड्युएटहरू उत्पन्न गरेको थियो, जसले गर्दा एल्गोरिदमलाई ‘ट्रेन्डिङ’ बनाउन पुग्यो ।
लुपिङ र इन्ड्लेस एन्डिङ (भिडियोको अन्त्यमा ‘अर्को भाग हेर्नुहोस्’) भन्दै लुप बनाउँदा दर्शकलाई बारम्बार हेर्न बाध्य बनाउँछ । नेपालका मुकुण्डो क्रान्तिका युवाहरूले यही ह्याक प्रयोग गरी सोसल सञ्जाल प्रतिबन्ध विरोधी मेनिफेस्टोहरूलाई ४८ घण्टामा १० लाख भ्युजसम्म पुर्याएका थिए ।
एनोनिमसले प्रायः अवस्थित घटनाहरू वा कारणहरूको लहरलाई समात्छ र विस्तार गर्छ । कहिलेकाहीँ यो लहर यति विस्मयकारी हुन्छ कि यसले घटनाको प्रकृति वा दिशालाई नै परिवर्तन गर्छ तर अभियान अन्ततः समाप्त हुन्छ । नेपालमा जेन–जी नामक आन्दोनमा तेल खन्याउने काम अरू कसैले नभएर केपी शर्मा ओली सरकारले नै गरेको थियो ।
कतिसम्म निकृष्टताको हद थियो भने ओलीको सचिवालयका बिचौलियाले मेटाको आधिकारिक एजेन्सी प्राप्त गर्न असफल भएपछि ओली र उनका सञ्चारमन्त्रीलाई अघि सारेर सबै सोसल साइट नै बन्द गराउने प्रपञ्च रचिएको थियो । ओलीको हुकुमी रवाफ र अपमानबाट वाक्कदिक्क भएका नोकरशाहीतन्त्रका मुख्य, मझौला र ओलीकै विश्वासपात्र बिचौलिया ठालुहरूले समेत नोकरशाहीतन्त्र, सुरक्षा संयन्त्र र समाजमा के भइरहेको छ भन्ने कुरा बताउनै छाडेका थिए । ओली र उनका आसपासेहरू सर्वत्र रामराज्य कायम भएको नाङ्गो बादशाहका अनुचरका रूपमा खुम्चिँदै थिए । तिनैले गर्दा देशले पनि मूल्य चुकाउनुपरेको छ ।
कान्तिपुर दैनिकबाट
प्रतिक्रिया