लमजुङमा समानुपातिकतर्फ एमाले पहिलो दल, दोस्रोमा कांग्रेस

लमजुङ २१ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको परिणमअनुसार लमजुङ जिल्लामा नेकपा (एमाले) पहिलो दल बन्न सफल भएको छ । समानुपातिकमा एमालेले प्रतिनिधिसभा तथा प्रदेशसभातर्फ सबैभन्दा बढी मत प्राप्त गरेको छ ।

निर्वाचन आयोगका अनुसार लमजुङमा प्रतिनिधिसभातर्फ एमालेले ३१ हजार १७८ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २७ हजार ७९६ मत प्राप्त गरेको छ । निर्वाचनमा भाग लिएका कुल ४७ वटा राजनीतिक दलमध्ये ४ महिना अघि स्थापना भएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले नेकपा (माओवादी केन्द्र)लाई समेत उछिन्दै तेस्रो स्थान बनाएको छ । स्वतन्त्र पार्टीले ८ हजार २१७ मत प्राप्त गर्दा माओवादी केन्द्रले ६ हजार ४८३ मत मात्र पाएको छ ।

निर्वाचन परिणाम अनुसार चौथोस्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थान बनाएको छ । उसले २ हजार ३०८ मत पाएको छ । पाँचौँ स्थानमा आएको नेकपा (एकीकृत समाजवादी)ले ५८२ मत प्राप्त गरेको छ ।

लमजुङका दुवै प्रदेश सभातर्फ प्रत्यक्षमा पराजय ब्यहोरे पनि समानुपातिकतर्फ नेकपा एमाले पहिलो दल बनेको छ । निर्वाचन आयोगको तथ्यांकअनुसार एमालेले प्रदेशतर्फ प्रतिनिधिसभाभन्दा पनि बढी मत अर्थात् ३२ हजार ८०६ मत पाएको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ भन्दा कम अर्थात २६ हजार ७८३ मत पाएको छ । तेस्रो स्थान बनाएको माओवादी केन्द्रले ८ हजार ४१४ मत पाएको छ । प्रदेशमा माओवादीले पनि मत बढाएको छ । चौथो स्थान प्राप्त गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले २ हजार ८३२ मत पाएको छ भने पाँचौँ स्थान बनाएको एकीकृत समाजवादीले १ हजार १५३ मत पाएको छ ।

निर्वाचनमा प्रदेशतर्फ समानुपातिकमा ३१ दल सहभागी भएका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board