निर्वाचनले उच्च राजनीतिक संस्कार स्थापित गर्‍यो : प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ, १६ मंसिर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनले मुलुकमा उच्च राजनीतिक संस्कार स्थापित गर्न सफल भएको बताएका छन् ।

निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकायमा जिल्ला प्रमुखलगायतलाई धन्यवाद दिन जिल्ला निर्वाचन कार्यालय काठमाडौँले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले आयोगले निर्वाचनको निष्ठा कायम राख्न गरेका अधिकांश अपेक्षा पूरा भएको बताएका हुन् ।

“हामीले नेपालमा २०४८ सालदेखिको निर्वाचन देख्दै आएका छौँ । पछिल्लो पटक सबैले निर्वाचन खर्चिलो र भड्किलो भयो भन्ने सुनियो,” आयोगले राखेका अपेक्षाको विश्लेषण गर्दै उनले भने, “यसकारण हामीले निर्वाचनमा यसपटक कुनै पनि पदमा पैसा, पहुँच र पाखुराको भरमा नभइ नीति, सिद्धान्त, विचार, निष्ठा र प्रतिबद्धताले जित्नुपर्छ भन्ने स्थापित गर्‍यौँ ।”

उनले विभिन्न कारणले निर्वाचनलाई दूषित पार्ने मनसाय बोकेका व्यक्तिले मिथ्या सूचना, दुष्प्रचार र द्वेशपूर्ण अभिव्यक्तिको माध्यमबाट निर्वाचनलाई अप्ठ्यारो पार्ने कार्यलाई नजिकबाट नियमन गर्न यसपटक सफल भइरहेको पनि बताए ।

उनले अब भौतिकरूपमा वा सडकबाट मात्रै नभइ सामाजिक सञ्जालमार्फत् पनि निर्वाचन प्रभावित गर्न नपाइने मान्यता स्थापित भएको बताए । निर्वाचनमा पराजितले विजेतलाई सहर्ष आत्मैदेखि बधाई दिनसक्ने वातावरण बनाउनुपर्छ भन्ने मान्यता पनि यसपटकदेखि स्थापित भएको उनको भनाइ छ ।

उनले निर्वाचन अधिकृतहरूले उत्कृष्ट ढंगले काम गरेको भन्दै धन्यवाद दिँदै काम गर्दा केही अप्ठ्यारा आएका भए सुधारका लागि सुझाव दिन आग्रह गरे ।

उनले आयोग वर्तमान निर्वाचन कानुनसँग सन्तुष्ट नभएको बताउँदै भने, “हामीले वर्तमान निर्वाचन कानुनसँग सन्तुष्ट छैनौँ । हामी अब छिट्टै कानुन संशोधनको प्रक्रिया अघि बढाइने छ ।” उनले नयाँ संसद्को नयाँ अधिवेशनमा कानुन संशोधनले प्रवेश पाउने बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति