काठमाडौँ, १२ मंसिर । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा इलाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका नेता झलनाथ खनालले निर्वाचनमा धाँधली भएको निष्कर्ष निकाल्दै कानुनी उपचार खोज्ने बताएका छन् ।
सोमबार एक वक्तव्य जारी गर्दै नेता खनालले आफ्नो निर्वाचन क्षेत्रका दुवै सिटमा निर्वाचन आयोगले मत गणना गरेर नतिजा घोषणा गरे पनि त्यसमा गम्भीर विवाद रहेकाले कानुनी उपचार खोज्ने बताएका हुन् ।
“त्यस निर्वाचनको प्रक्रियामा म नेकपा (एकीकृत समाजवादी), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को तर्फबाट साझा उम्मेदवारको रूपमा रहेको थिएँ । तर, हाम्रो गठबन्धनको टिमलाई हराउन र इलामेली जनताको भावनामाथि कुठाराघात गर्न केही तत्वहरू सुरूदेखि नै लागिरहेका थिए,” उनले भनेका छन् ।
उनले यस समस्याको समाधानका निम्ति कानुनी समाधान खोजिने जनाएका छन् । “यस समस्याको समाधानका निम्ति कानुनी समाधान खोजिने नै छ,” खनालको भनाइ छ ।
प्रतिक्रिया